सम्पादकीय : क्षतिग्रस्त १३२ केभीको मर्मतमा बिलम्ब नगर 

केही दिनअघि आएको भीषण हावाहुरीका कारण ढलेको रुखले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको विद्युत सेवा अनियमित बनेको छ । लामो समय रुख कटान, जग्गा भोगाधिकार तथा विभिन्न कानुनी अल्झन पार गर्दै निर्माण सम्पन्न गरिएको १३२ केभी प्रशारण आयोजना तीन महिनाअघि मात्रै सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको छोटो अवधिमै प्राकृतिक विपद्का कारण संरचनामा गम्भीर क्षति पुगेपछि आयोजनाको दिगोपन र गुणस्तरमाथी प्रश्न उठ्न थालेको छ । क्षति गम्भीर प्रकृतिको भएकाले मर्मत कार्य सम्पन्न गर्न लामो समय लाग्ने देखिएको छ । पोल मात्रै नभई संरचनाको आधार भाग अर्थात् फाउन्डेसनदेखि नै पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेकाले तत्काल लाइन सञ्चालनमा ल्याउन नसकिने अवस्था सिर्जना भएको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजना कर्णाली प्रदेशको दीर्घकालीन विद्युत आपूर्तिका लागि महत्वपूर्ण पूर्वाधार हो । 

लामो समयदेखि कमजोर विद्युत संरचना र पटक–पटकको विद्युत अवरोध झेल्दै आएको कर्णालीका लागि यो आयोजना लाइफलाइनका रूपमा प्रस्तुत गरिएको थियो । तर, सञ्चालनमा आएको तीन महिनामै हावाहुरीले ढालेको रुखका कारण दुई वटा पोल भाँचिएपछि आयोजनाको प्राविधिक तयारी र संरचनागत सुरक्षामाथि प्रश्न उठेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले निर्माण सामग्रीको गुणस्तर तथा प्रसारणलाइन निर्माणका क्रममा अपनाउनुपर्ने ‘ग्राउण्ड क्लियरेन्स’ लगायतका प्राविधिक मापदण्ड पर्याप्त रूपमा पालना नभएको दाबी गरेका छन् । उनीहरुले हावाका कारण ढलेको रुखले सहजै लाइन छोएकाले प्रसारणलाइनको सुरक्षात्मक दूरी र वन क्षेत्र व्यवस्थापनमा लापरवाही भएको आशंका व्यक्त गरेका छन् । यद्यपि, आयोजनाले भने क्षतिको मुख्य कारण असामान्य प्राकृतिक विपद् भएको जनाएको छ । अहिले घटनाको प्राविधिक मूल्यांकन भइरहेको र त्यसपछि मात्रै क्षतिको वास्तविक कारण तथा पुनःनिर्माणको विस्तृत योजना सार्वजनिक गरिने आयोजनाको भनाइ छ । 

१३२ केभी लाइनका लागि सामान्यतया करिब ३० मिटर आसपासको करिडोर सुरक्षित राखिन्छ । यस क्षेत्रमा अग्ला रुख, घर वा अन्य संरचना बनाउन पाइँदैन । हावाहुरी, वर्षा वा प्राकृतिक विपद्का बेला रुख ढलेर लाइनमा नपरोस् भनेर ‘भेजिटेसन म्यानेजमेन्ट’ अत्यन्त महत्वपूर्ण मानिन्छ । धेरै दुर्घटना यही पक्ष कमजोर हुँदा हुने गर्छन् । १३२ केभी लाइनका पोल वा टावर हावाहुरी, भूकम्प र भार सहन सक्ने गरी डिजाइन गरिन्छ । फाउन्डेसन मजबुत हुनुपर्छ । माटोको प्रकृति, भूगोल र मौसमको जोखिम अध्ययन गरेर मात्रै संरचना निर्माण गरिने आयोजनाका तारमा रुख ढलेर भाँचिनुलाई प्राविधिक पाटोमा सामान्यरुपमा लिन हुँदैन । यसमा अर्को महत्वपूर्ण विषय प्रसारण आयोजनाको दायाँ, बायाँमा पर्ने जोखिमयूक्त रुखहरु जुनसुकै बेला पनि हटाउन सकिने गरी नीतिगत व्यवस्था हुन आवश्यक छ । यो आयोजना बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जोखिमयूक्त रुखहरु काट्न नदिइएका कारण समस्यामा परेको हो । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्दछ । क्षतिग्रस्त प्रशारण आयोजनालाई पहिलेकै अवस्थामा सञ्चालन गर्न मर्मत कार्यलाई युद्धस्तरमा अघि बढाउन जरुरी छ । 

सम्पादकीय : क्षतिग्रस्त १३२ केभीको मर्मतमा बिलम्ब नगर 

चौकुनेलाई जिल्ल्याउँदै  अघि बढ्यो सूर्यतारा सिमेन्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *