क्रिकेटको क्रेज बढ्दै : अन्तर विद्यालय क्रिकेटमा कालिका मा.वि. पिली बिजेता

हस्त चाैलागाई
कालिकोट ,२६ बैशाख ।
कालिकाेटमा पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । गाउँ–गाउँमा क्रिकेटको क्रेज बढिरहेका बेला अन्तर विद्यालय स्तरीय छनोट क्रिकेट प्रतियोगिताले विद्यार्थीहरूमा थप उत्साह र ऊर्जा थपेको छ ।
बैशाख २३ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको हो ।

विद्यालयस्तरमै उत्कृष्ट खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरूले अनुशासित, प्रतिस्पर्धात्मक र उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । हरेक खेलमा विद्यार्थीहरूको जोश, दर्शकहरूको उत्साह र क्रिकेटप्रतिको मोह स्पष्ट रूपमा देखिएको थियो । प्रतियोगिताको उपाधि कालिका मा.वि., खाँडाचक्र नगरपालिका–७, पिलीले जित्न सफल भएको छ । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कालिका मा.वि. विजेता बनेको हो । यस्तै, चुलिमालिका मा.वि., खाँडाचक्र नगरपालिका–५, घोडेना उपविजेतामा सीमित बनेको छ ।

व्यक्तिगततर्फ पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगिताभर सबैभन्दा धेरै विकेट लिन सफल हुँदै कालिका मा.वि. पिलीका लोकेश सिम्खाडा “बेष्ट बलर” घोषित भएका छन् । त्यसैगरी सबैभन्दा धेरै रन बनाएर चुलिमालिका मा.वि. घोडेनाका प्रकाश खत्री “बेष्ट ब्याट्सम्यान” बन्न सफल भएका छन् । उनीहरूको प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो ।
स्थानीय स्तरमा क्रिकेटको लोकप्रियता बढ्दै जाँदा यस्ता प्रतियोगिताले खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विद्यालय तहदेखि नै क्रिकेटप्रति बढ्दो माहाेलका कारण अब कालीकोटमा पनि क्रिकेटको राम्रो सम्भावना रहेको देखिएको छ ।

प्रमुख एम्पायर पवन बम ले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, सहयोगी, दर्शक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।







