-रारा अल्ट्रा म्याराथन सुरु: कर्णाली चिनाउँदै जुम्ला–रारा दौड

गोल्डेन बुढा
जुम्ला ,२६ बैशाख ।
जुम्लाको चिसो बिहानसँगै शनिबार खलंगाको आकाश पञ्चेबाजाको धुनले गुञ्जियो।चन्दननाथ तथा भैरवनाथको गेटअगाडि सयौँ मानिसको भीड थियो। कोही हात हल्लाउँदै खेलाडीलाई शुभकामना दिइरहेका थिए, कोही मोबाइलमा दृश्य कैद गर्दै थिए। त्यही भीडको बीचबाट सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु भयो। जुम्लाको दुर्गम भूगोल, कठोर जीवन र अथाह सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्य बोकेको यो दौड खेल प्रतियोगितामा मात्रै होइन, कर्णालीको पहिचान र संघर्ष पनि बनेको छ।सदरमुकाम खलंगास्थित बालमन्दिर नजिकैबाट सुरु भएको म्याराथनको उद्घाटन पूर्व वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलगाईले सिठी फुकेर गरेका थिए।
बिहान ६ बजे सुरु भएको ५४ किलोमिटर लामो दौड जुम्लाबाट मुगुको रारा तालसम्म पुगेर टुंगिनेछ।आयोजक कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीका अनुसार मुख्य अल्ट्रा म्याराथनमा १ सय ३५ जना धावक सहभागी छन्। यसबाहेक १० किलोमिटर दौडमा २ सय र पाँच किलोमिटर दौडमा ६ सय खेलाडी सहभागी भएका छन्। तीन विधा गरी एक हजारभन्दा बढी खेलाडी यस वर्ष मैदानमा उत्रिएका छन्।प्रतियोगितामा नेपाली सेना नम्बर २४ बाहिनीका बाहिनीपति अर्जुन बस्नेत देखि लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकसम्मको उपस्थिति देखिएको छ। भारत र फ्रान्सका धावकहरूको सहभागिताले यस प्रतियोगिताको अन्तर्राष्ट्रिय पहुँच विस्तार हुँदै गएको छ।

मन्जुश्री ट्रेल रेसका विजेता खेलाडीहरू पनि यसपटक जुम्ला पुगेका छन्।कर्णालीमा खेलकुद अझै पनि पूर्वाधार अभाव, सीमित अवसर र आर्थिक कठिनाइबीच संघर्ष गरिरहेको क्षेत्र हो। तर, जुम्ला–रारा अल्ट्रा म्याराथनले यही कठिन भूगोललाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिरहेको छ। दुर्गम हिमाली बाटो, उकालो–ओरालो र कठोर मौसमलाई चुनौती दिँदै धावकहरू अगाडि बढिरहेका दृश्यले कर्णालीको जीवनशैलीकै प्रतिबिम्ब झल्काउँछ।विश्वकिर्तिमानी धावक हरीबहादुर रोकायाले जुम्ला–रारा म्याराथन एउटा इभेन्ट नभई खेलाडी उत्पादन गर्ने विद्यालय बनेको बताए। “कर्णालीमा प्रतिभा अभाव छैन, अवसर अभाव हो,” उनले भने, “यस्ता प्रतियोगिताले गाउँका युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने आत्मविश्वास दिन्छन्।”म्याराथन सुरु हुनुअघि खलंगामा उत्सवजस्तै माहोल देखिन्थ्यो। स्थानीय महिलाहरू परम्परागत पोसाकमा पञ्चेबाजा बजाउँदै खेलाडीलाई बिदाइ गरिरहेका थिए। गाउँबस्तीबाट आएका सर्वसाधारण बिहानैदेखि सडक किनारमा उभिएर धावकलाई हौसला दिइरहेका थिए। कर्णालीका दुर्गम बस्तीमा सामान्यतया नदेखिने यस्तो चहलपहलले सदरमुकामलाई एक दिनका लागि खेल उत्सवमा रूपान्तरण गरेको थियो।प्रतियोगिता खेलसँगै पर्यटन प्रवर्द्धनको अभियान पनि बनेको छ। जुम्लाको चन्दननाथ, भैरवनाथ मन्दिर क्षेत्र, खलंगा बजार हुँदै रारासम्म फैलिएको प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने उद्देश्य आयोजकको छ। हिमाल, जंगल, उकालो पहाड र रारा तालको दृश्यले धावक मात्र होइन, साहसिक पर्यटनप्रेमीलाई समेत आकर्षित गरिरहेको छ।पूर्व मन्त्री चौलगाईले जुम्ला–रारा अल्ट्रा म्याराथन कर्णालीको साहसिक पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बनेको बताए। उनका अनुसार प्रतियोगिताले कर्णालीको सांस्कृतिक पहिचान र खेल पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान पुर्याएको छ।यस वर्ष प्रतियोगिताको दूरी ५१ किलोमिटरबाट बढाएर ५४ किलोमिटर बनाइएको छ। आयोजकका अनुसार प्रतियोगितालाई थप चुनौतीपूर्ण र अन्तर्राष्ट्रिय स्तरको बनाउन दूरी थप गरिएको हो।पुरस्कार राशिसमेत आकर्षक बनाइएको छ। प्रथम हुनेले एक लाख रुपैयाँ, द्वितीय हुनेले ७५ हजार रुपैयाँ र तृतीय हुनेले ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसपटकदेखि जुम्लाकी स्वर्गीय अमृता कठायत को सम्झनामा महिला खेलाडीमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई जनही २५ हजार रुपैयाँ अतिरिक्त पुरस्कार प्रदान गरिने भएको छ।सान्त्वना तथा पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई जनही २०/२० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
उत्कृष्ट तथा सम्भावनाशील खेलाडीलाई बालोदय बोर्डिङ सेकेन्डरी स्कुल ले छात्रवृत्ति कार्यक्रममा समेट्ने जनाएको छ। छनोट प्रक्रिया कर्णाली स्पोर्ट्स क्लबले गर्नेछ।आयोजकले प्रतियोगितालाई वातावरण संरक्षणसँग पनि जोडेको छ। जुम्लादेखि रारासम्म पुग्ने खेलाडीहरूको सम्झनामा सहभागी संख्याका आधारमा वृक्षरोपण गरिने जनाइएको छ। साथै, दौडमा सहभागी खेलाडी र व्यवस्थापनमा खटिने व्यक्तिहरूको पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको छ।कर्णाली खेलकुद क्लबको आयोजना तथा स्थानीय तहहरूको समन्वयमा सञ्चालन भइरहेको यो प्रतियोगिता अहिले कर्णालीकै सबैभन्दा ठूलो खेलकुद पहिचानमध्ये एक बनेको छ। दुर्गम भूगोल, सीमित साधन र कठिन जीवनबीच पनि कर्णालीले खेलकुदमार्फत सम्भावनाको नयाँ बाटो खोजिरहेको सन्देश जुम्ला–रारा अल्ट्रा म्याराथनले दिएको छ। १० किलोमिटर (१८ वर्षमुनि) तर्फ प्रथम,द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ मेडल प्रमाणपत्र वितरण गरिएको छ। भने ५ किलोमिटरतर्फका विजेताले ५ हजार, ३ हजार र २ हजार रुपैयाँ मेडल सहित प्रमाणपत्र दिइएको थियोे। उनिहरु सबैलाई पुर्व मन्त्री चाैलगाईद्वारा वितरण गरिएको थियोे।







