कर्णाली नदीमा वेपत्ता भएका एक जनाको शव फेला

सुर्खेत, २४ असार ।
कर्णाली नदीमा फोर्स गाडी खस्दा वेपत्ता भएका एक जनाको शव भेटिएको छ । बिहीबार (१८ असार) बिहान झण्डै ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो ।
उक्त गाडीमा सवार कालीकोट पचालझरना गाउँपालिका–९ का मेखे (मेगे) तिरुवाको शव पहिचान भएको हो । सोमबार गाडी खसेको स्थानदेखि झण्डै एक सय ५० किलोमिटर तल कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टास्थित कर्णाली नदीको किनारमा एक पुरुषको शव फेला परेको थियो ।
मंगलबार उनका २५ वर्षीय छोरा रविन्द्र तिरुवाले बुवाको शव पहिचान गरेको जिल्ला प्रहरी कार्याल दैलेखले जनाएको छ । रविन्द्रले कालीकोटबाट कैलालीस्थित टिकापुर अस्पताल पुगेर बुुवाको शव पहिचान गरेका हुन् ।
उक्त दुर्घटना परी मृतकका भाई जेखे तिरुवाको पनि मृत्यु भएको छ । उनको शव घटना घटेकै दिन भेटिएको थियो । उक्त दुर्घटनामा कर्णाली नदीमा खसेको गाडी र अन्य ३ जना यात्रुको अवस्था अझै अज्ञात छ ।
घटना घटे लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोली ६ दिन यता निरन्तर खोजीमा खटिएको छ । दुर्घटनाग्रस्त गाडी र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हेलिकोप्टर, ड्रोन, म्याग्नेट, सोनार क्यामेरा तथा गोताखोरको सहायताले खोजीलाई निरन्तरता दिइरहेको छ ।
प्रहरीका अनुसार खोजीमा सुरक्षा निकायका झण्डै दुई सय जनशक्ति खटिएका छन् । तर, कर्णाली नदीको पानी अध्याधिक धमिलो र उच्च बहावका कारण खोजी कार्यमा सकस भइरहेको छ ।






