हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमा लामाको शव

जुम्ला ,२६ बैशाख ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ। वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन भएकी उनी शुक्रबार रिउस बगरस्थित कर्णाली नदीको बीच भागमा मृत अवस्थामा भेटिएकी हुन्।स्थानीयवासी ठिल्ले लामाले नदीमा शव तैरिरहेको देखेपछि प्रहरी चौकी पुलुलाई खबर गरेका थिए। त्यसपछि प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो। दुर्गम भूगोल, तीव्र बहाव र जोखिमपूर्ण नदी किनारका बीच प्रहरीले शव निकालेर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाका अनुसार टोमा लामा मंगलबार राति करिब ८ बजेतिर घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। परिवार र स्थानीयले खोजी गरे पनि कुनै अत्तोपत्तो लागेको थिएन। चार दिनपछि उनको शव नदीको बीच भागमा तैरिएको अवस्थामा भेटिएको हो।घटनाले मुगुम कार्मारोङ क्षेत्रमा शोक र त्रास फैलिएको छ। आफन्तजन घटनापछि स्तब्ध बनेका छन्, भने स्थानीयले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। प्रहरीले मृत्युको कारण खुलिनसकेको बताउँदै घटनाका सबै पक्षमाथि अनुसन्धान भइरहेको जनाएको छ।






