चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिन सार्वजनिक बिदा दिने निर्णय
गाेल्डेन बुढा
जुम्ला,२४ चैत ।
कर्णाली प्रदेश सरकारले अब जुम्लास्थित चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज २२ गतेलाई जुम्लामा मात्र लागू हुने सार्वजनिक बिदाको रूपमा घोषणा गरेको हो।यो निर्णय प्रशासनिक देखिए पनि यसको सांस्कृतिक र धार्मिक गहिराइ धेरै फरक छ। जुम्लाको चन्दननाथ मन्दिरको परम्परागत ‘लिंगो तान्ने’ अभ्यास केवल धार्मिक क्रिया होइन। यो जुम्लाबासीको सामूहिक चेतना, श्रम, भौगोलिक चुनौती र आस्थाको प्रतिक मानिन्छ। जुम्लाको चन्दननाथ नगरपालिका–३ लामासिम र डिखेल्ला जंगलबाट उठाइने ५२ हातका चन्दननाथ र ४८ हातका भैरवनाथका लिंगा यी ढिक्का मात्र होइनन्; वर्षौंदेखि सङ्कलित ज्ञान, कौशल र विश्वासको प्रतिक हुन्।

ऋषि पञ्चमीमा जंगलमा पूजा, आश्विन कृष्ण त्रयोदशीमा खलंगामा ल्याउने र घटास्थापनाको दिन मन्दिर प्रांगणमा स्थापन गर्ने सम्पूर्ण प्रक्रिया कर्णालीको सामाजिक,सांस्कृतिक जीवनको आधार बनिसकेको छ।पूर्वीयानुसार, पहिले लिंगा हातहातमा, त्यसपछि काँधमा, केही वर्ष ट्र्याक्टरमा र अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकको संयुक्त सहभागितामा सडकमा घिसारिँदै ल्याइन्छ। यस परम्परामा देखिने परिवर्तन आधुनिकता र परम्पराबीचको द्वन्द्वको स्पष्ट उदाहरण हो।काठ र सामग्रीहरूको आपूर्ति प्रणाली मुगु, हुम्ला र कालिकोटले कर्णालीभित्रैको अन्तरनिर्भरता देखाउँथ्यो। यस्ता परम्परागत आपूर्तिको क्रमिक कमीले सांस्कृतिक अभ्याससँगै स्थानीय अर्थतन्त्रलाई पनि असर गरिरहेको छ।यता चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापाले भने, “जंगलबाट लिंगो ल्याउने दिनमा सार्वजनिक बिदा हुनु धार्मिक आस्थाको मात्र सम्मान होइन, सहभागी समुदायलाई राहत र उत्साह दिने कदम हो।”स्थानीय नवराज अधिकारीले थपे, “प्रदेश सरकारले यो बिदा दिने निर्णयले मन्दिरको महत्व मात्र बढाएको छैन; धार्मिक पर्यटन र समुदायको जुडावमा पनि नयाँ ऊर्जा थपेको छ।”सांस्कृतिक अभ्यासलाई संरक्षण र सम्मान दिने राज्यको यो प्रयास केवल प्रतीकात्मक छैन। यसले देखाउँछ कि कर्णालीको विकास सडक, बजेट वा प्रशासनिक कार्यसँग सीमित छैन; यो यहाँका मानिस, उनीहरूको आस्था, परम्परा र सामूहिक पहिचानसँग जोडिएको छ।तर चुनौती अझै बाँकी छ, कस्तो पूर्वाधार, पर्यटन व्यवस्थापन र संरक्षण नीति बनाइन्छ भन्ने कुराले मात्र परम्परालाई दिगो बनाउन सक्छ।

लिंगो बोक्ने दिनमा सार्वजनिक बिदाले राज्य र समुदाय बीचको संवाद बलियो बनाएको छ, तर यसको वास्तविक प्रभाव त्यति मात्रमा सीमित हुँदैन। भविष्यमा कर्णालीको सांस्कृतिक र धार्मिक धरोहरको संरक्षण र प्रवर्द्धनमा समग्र दृष्टिकोण आवश्यक छ।जुम्ला, जहाँ जंगल र पर्वतका बीच मानव–प्रकृति सम्बन्धले परम्परा बुन्दै आएको छ, अब राज्यको निर्णयले परम्परालाई अझ सम्मानसहित अघि बढाउने अवसर दिएको छ। ‘लिंगो बोक्ने दिन’ केवल मन्दिरको दिन मात्र होइन; यो कर्णालीको पहिचान, समुदायको सहकार्य र आस्थाको जीवन्तता देखाउने ऐतिहासिक अवसर पनि हो।लिंगोलाई रातो, सेतो, रङ्गी विरङ्गी कपडाले ढाकिन्छ। ठड्याउने क्रममा लिंगो भाँचियो वा खण्डित भयो भने पुरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ। तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएको र सन् १४९८ सालदेखि यो मन्दिरमा लिंगो गाड्ने परम्परा छ।अध्यक्ष थापाका अनुसार, देवताको जयघोष र पूजा–आरती, भजन–कीर्तनका साथ लिंगो फेर्ने चलन रहेको छ। मार्सीधान पनि त्यो दिनदेखि काट्न सुरु गरिन्छ। बिंस ६७० सालमा चन्दननाथ बाबालाई मुर्ति चढाएको दिनलाई विशेष महत्वका साथ हेरीन्छ।जुम्ला राज्यको स्थापना संगै १४४८ मा राजा वलिराजले चन्दननाथ मन्दिरको निर्माण गरेका थिए। पटक पटक यो मन्दिरले विभिन्न समस्या झेल्दै आएको थियो। १८४६ मा जुम्ला राज्य कव्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो।

त्यसपछि सिद्ध चन्दननाथ बाबाले मन्दिर निर्माण गरी चरणपादुका बनाएका थिए र दत्तात्रयको मुर्ति राखेका थिए।चन्दननाथ–भैरवनाथ मन्दिरका नयाँ लिंगा फेरिएसँगै जुम्लामा विधिवत रुपमा दसैं सुरु भएको मानिन्छ। उक्त दिन जुम्लाका घर–घरमा जौँका जमरा राख्ने चलन छ। साँझ नयाँ फलेको काली जुम्ली मार्सी धानको चिउरा कुटेर दही, महसँग मिसाएर न्वागी बनाई घर परिवार तथा बिहे गरेकी छोरी–चेलीलाई बोलाएर खुवाउने चलन छ।





