कर्णालीमा नाैँ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु
गाेल्डेन बुढा
जुम्ला ,२४ चैत ।
जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपाली सुत्केरी सेवाका लागि गत फागुन २५ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगिन् । बेथा लागेको लामो समयपछि अस्पताल पुर्याउँदा उनको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो। अस्मिता शिशुलाई जन्म त दिइन् तर आफ्नो ज्यान गुमाउन बाध्य भइन् । स्वास्थ्य थप जटिल बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई प्रदेश अस्पताल सुर्खेतसम्म पुर्याए पनि प्रदेश अस्पतालले उनलाई मृत घोषणा गर्यो ।जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डाक्टर कमल थानीले धेरै प्रयास गरे पनि अस्मितालाई बचाउन नसकिएको बताए । ‘मृगौला र फोक्सोमा समस्या थियो,’ उनले भने, ‘तीन दिनसम्म आइसीयूमा राखेर उपचार गरिएको थियो ।’यस्तै, एक वर्षअघि जुम्लाको तातोपानी–१ राकागाउँकी ३० वर्षीया मुगा शाहीको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भयो । नवजात शिशु समेत बचेन । उनलाई बेथा लागेपछि घरमै सुत्केरी गराउन खोजिएको थियो । एक्कासी बेहोस भएपछि अस्पताल पुर्याएर आइसीयूमा राखेर उपचार गरिए पनि ज्यान बचेन । चिकित्सकका अनुसार भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि केही चलेन । शिशुको त बाटोमै मृत्यु भइसकेको थियो ।जिल्लामा सुत्केरी बेथा लाग्ने बित्तिकै प्रसूतिका लागि अस्पताल लैजाने चलन छैन । झन् धामीझाँक्रीको भर पर्दा स्वास्थ्य अवस्था जटिल बन्ने गरेको छ। ‘गर्भवतीलाई ढिलो गरी अस्पताल पुर्याउँदा आमा र बच्चा जोखिममा पर्ने गरेका छन्,’ चिकित्सकहरू भन्छन्।आमा र बच्चालाई सेक्न बालिएको आगोका कारण धुँवामा निस्सासिएर गत वर्ष साउनमा जुम्लाको पातारासी–६ बाता गाउँकी २२ वर्षीया मायालक्ष्मी महाताराले ज्यान गुमाइन् । उनी ११ औं दिनकी सुत्केरी थिइन् । कोइलाको धुँवामा निस्सासिएकी उनको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।भौगोलिक विकटता, परम्परागत सोच र प्रभावकारी प्रसूति सेवा नहुँदा वर्षेनि जिल्लाका गर्भवती र सुत्केरीले ज्यान गुमाइरहेका छन् । अहिले पनि धेरैजसो घरमै सुत्केरी हुने गरेका छन् । बर्थिङ सेन्टरनजिकै रहेका बस्तीमा पनि सेवा प्रभावकारी छैन । केही बर्थिङ सेन्टर टाढा भएकाले भूतप्रेत लाग्ने भन्दै सुत्केरी गराउन स्वास्थ्य संस्थामा नलैजाने चलन छ।जुम्लाका दुर्गम क्षेत्रमा गर्भवती महिलाहरू भगवान् भरोसामा बाँचिरहेको स्थानीय बताउँछन् । ‘दुर्गममा न स्वास्थ्य संस्था नजिक छन्, न स्वास्थ्यकर्मी नै बेलैमा भेटिन्छन्,’ एक स्थानीय भन्छन्, ‘बेलैमा स्वास्थ्यकर्मी भेटिएनन् भने औषधि अभावले समस्या हुन्छ ।’ गाउँका आधा दर्जनभन्दा बढी गर्भवतीलाई बर्थिङ सेन्टर लैजाने क्रममा बाटोमै सुत्केरी भएको उदाहरणहरू छन्। यता कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो ९ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु भइसकेको छ ।

आर्थिक वर्ष २०७०/७१ मा ३३ सुत्केरीको मृत्यु भएको थियो भने तीन वर्षअघि १७ जनाले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षमा १४ र चालु आर्थिक वर्षमा ९ जनाको मृत्यु भएको तथ्यांक छ।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अध्ययनअनुसार २३ दशमलव ६ प्रतिशत परिवार मात्र आधा घन्टामा स्वास्थ्य संस्था पुग्न सक्छन्। अर्थात् झन्डै तीन चौथाइ परिवारका लागि स्वास्थ्य सेवा अझै पहुँचबाहिर छ।कर्णालीमा ३ लाख ७१ हजार १ सय २५ घरपरिवार छन् भने १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्याका लागि १ सय ८४ चिकित्सकको दरबन्दी छ। प्रदेशभर ३ सय ५९ बर्थिङ सेन्टर छन्, तर दक्ष जनशक्ति, उपकरण र नियमित सेवा अभाव छ।आर्थिक वर्ष २०७४/७५ अघिसम्म संघीय स्वास्थ्य मन्त्रालयमार्फत जोखिममा परेका गर्भवतीका लागि ‘एयर लिफ्टिङ’ सेवा सञ्चालनमा थियो। पछिल्ला तीन वर्षमा १ सय ५८ जनाको उद्धार गरिएको तथ्यांक छ।
नवजात शिशु मृत्युदर पनि चिन्ताजनक छ। पछिल्ला ४ वर्षमा ७ सय ७७ नवजात शिशुको मृत्यु भएको छ। गत आर्थिक वर्षमा मात्र १ सय ९९ शिशुको मृत्यु भयो। कर्णाली प्रदेश योजना आयोगको प्रथम पञ्चवर्षीय योजनाअनुसार नवजात शिशु मृत्युदर प्रतिहजार २९ छ, जुन राष्ट्रिय औसतभन्दा उच्च हो।स्वास्थ्य बीमामा २९ प्रतिशत नागरिक मात्र सहभागी छन्। स्वास्थ्य सेवातर्फ ९ सय ८ दरबन्दीमध्ये ४ सय ६३ जना मात्र कार्यरत छन्। १ सय ८४ चिकित्सकको दरबन्दी भए पनि करारबाहेक ३२ दरबन्दी मात्र पूर्ति भएका छन्। चिकित्सक टिकाउन ७५ देखि १ सय ५ प्रतिशतसम्म भत्ता व्यवस्था गरिएको छ।प्रदेशमा १२ सरकारी अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्र छन्। प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक अन्य अस्पतालमा नियमित चिकित्सक पाउन कठिन छ। ७९ स्थानीय तहमध्ये ३१ तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्।२५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडा रहेको प्रदेशका १ सय १७ वडामा स्वास्थ्यचौकी छैन। जुम्लामा नयाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना भए पनि दरबन्दी पूर्ति हुन सकेको छैन।





