हिमशिखर मा.बि परीक्षा केन्द्रका निरीक्षक राजकुमार रावतलाई दुई वर्षका निष्कासन
काली बहादुर परियार
जुम्ला,२४ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत मंगलबार सञ्चालन भएको सामाजिक विषयको परीक्षामा गम्भीर लापरबाही पुष्टि भएपछि हिमशिखर माध्यमिक विद्यालय परीक्षा केन्द्रका निरीक्षक राजकुमार रावतलाई केन्द्रबाट निष्कासन गरिएको छ।
घटनाले परीक्षा व्यवस्थापनमै ठूलो प्रश्न उठाएको छ भने सम्बन्धित निकायले तत्काल कडा कदम चालेको छ। परीक्षा सुरु भएको जम्मा १२ मिनेटमै प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएसँगै शिक्षा क्षेत्र तरंगित बनेको थियो ।
सञ्चार माध्यममा समाचार आए पछि शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाले तुरुन्तै छानबिन टोली खटाएको थियो । प्रारम्भिक अनुसन्धानमै निरीक्षक रावतको लापरबाही पुष्टि भएपछि उनलाई परीक्षा केन्द्रबाटै हटाउने निर्णय गरिएको हो ।
इकाइ प्रमुख रमेश लुवारका अनुसार रावतलाई तत्काल परीक्षा केन्द्र बाट निष्कासन गर्नुका साथै आगामी दुई वर्षसम्म कुनै पनि परीक्षा केन्द्रमा निरीक्षकको जिम्मेवारी नदिने निर्णय गरिएको छ।
परीक्षा जस्तो संवेदनशील विषयमा यस्तो गम्भीर कमजोरी असह्य हुने उनकाे भनाइ छ । दोषीलाई कारबाही नगरे प्रणाली नै कमजोर हुने हुदा हामीले छाड्न नहुने बताए ।
घटनापछि केन्द्राध्यक्षलाई नयाँ निरीक्षक व्यवस्था गर्न निर्देशन दिइएको छ। हाल केन्द्रमा वैकल्पिक व्यवस्था गरी परीक्षा सञ्चालनलाई निरन्तरता दिइएको जनाइएको छ ।
प्रश्नपत्र चुहावट जस्तो घटनाले परीक्षा प्रणालीको विश्वसनीयता माथि गम्भीर आघात पुगेको भन्दै अभिभावक र विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका छन् ।
जुम्लामा पछिल्लो समय परीक्षा व्यवस्थापनसँग सम्बन्धित विवादहरू बारम्बार बाहिरिन थालेका छन् । यस अघि पनि जुम्लाको दुर्गा माध्यमिक बिद्यालयमा पनि केन्द्राध्यक्ष र निरीक्षकलाई पदमुक्त गरिएको छ ।





