रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते, ३ जना पक्राउ
बुटवल ,२४ चैत ।
रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । उनको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागूऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा उनीहरू भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको थियो ।
नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा प्रहारसमेत गरेका थिए । त्यसक्रममा प्रहरीले एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार पक्राउ पर्नेमा यादवसहित भारतको महाराजगञ्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरेको छ ।





