अघि बढ्यो २३ अर्ब लागतको जगदुल्ला जलविद्युत् आयोजना 

सुर्खेत, २१ असार । 

डोल्पामा २३ अर्ब लागतमा बन्न लागेको जगदुल्ला जलविद्युत आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ । मुडकेचुला गाउँपालिका–४ इलमा आयोजनाको मुुख्य सुरुङमार्ग (टनेल) निर्माणको काम सुभारम्भ भएको हो । 

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रस्तावित यो आयोजना अर्धजलाशयमा आधारित छ भने यसको जडित क्षमता एक सय ६ मेगावाट छ । कर्णालीको ऊर्जा उत्पादनमा गेमचेन्जर मानिएको आयोजनाको टनेल निर्माण सुरु भएसँगै लामो समयदेखि बन्छ वा बन्दैन भन्ने अन्यौलता हटेको छ । 

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ  सुरुङमार्ग निर्माणका लागि पहिलो ब्लास्टिङ कार्यको शुभारम्भ गरेका छन् । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड विद्युत्‌‌ उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी हो । यो कम्पनी सन् २०१७ मा स्थापना भएको थियो । 

यस कम्पनीले जगदुल्ला जलविद्युत्‌‌ आयोजना एक सय ६ मेगावाट र यसैको सिलसिलेवार (क्यास्केड) आयोजनाको रूपमा जगदुल्ला–ए निर्माण तथा सञ्चालन गर्न लागेको हो । आयोजनाले अबको साढे चार वर्षभित्र पूर्णता पाउने छ । 

कम्पनीका आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन तथा आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको छ । 

मुख्य निर्माण कम्पनीसँग २६ साउन २०८२ मा ठेक्का सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण कार्य अघि बढेको हो ।  परियोजनाको कुल ऋण लगानी करिब १६ अर्ब ६६ करोड रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइ सकेको छ । 

नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहलगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । 

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजना ऊर्जा उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको आधार बन्ने बताए । उनका अनुसार जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको यो आयोजना मुलुककै नमूना परियोजनामध्ये एक हो । 

कम्पनीका अनुसार आयोजनाको पहिलो चरण (लट–१) को काम सम्पन्न भइसकेको छ । हाल डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा एक सय ६ मेगावाटको जगदुल्ला तथा एक सय २४ मेगावाटको जगदुल्ला–ए गरी कुल दुई सय ३० मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त आयोजना विकास भइरहेका छन् ।

आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको भौतिक पूर्वाधार विकासमा पनि योगदान पुर्‍याएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि एक सय मिटर लामो पक्की पुल, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डमा पहुँचमार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकेको छ । 

यी संरचनाले आयोजना निर्माणलाई सहज बनाउनुका साथै स्थानीयको आवागमन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको कम्पनीको दाबी छ । सडक पहुँच विस्तारसँगै डोल्पाको यातायातमा उल्लेखनीय सुधार आएको जनाइएको छ । विगतमा नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी लाग्ने अवस्थाको अन्त्य हुँदै अहिले एकै दिनमा यात्रा सम्भव भएको कम्पनीले जनाएको छ । 

साथै दुनै–काठमाडौं रात्रिबस सञ्चालनको वातावरणसमेत बनेको उल्लेख गरिएको छ । कम्पनीका अनुसार आयोजनाबाट निर्माण भएका पूर्वाधारले रारा, शे–फोक्सुण्डो, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुतर्फको पर्यटन प्रवद्र्धनमा समेत दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ । 

कर्णाली सरकारको पाँच प्रतिशत लगानी

यस आयोजनामा कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत शेयर लगानी रहेको छ । हिमाली जिल्ला डोल्पामा विद्युत् विकास विभागले निर्माण गर्न लागेको अर्धजलाशययुक्त आयोजनाका लागि प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरिसकेको छ । 

प्रदेश सरकारले प्रतिशेयर एक सयका दरले ११ करोड ७१ लाख ५० हजार रुपैयाँ शेयरवापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई दिइसकेको जनाइएको छ । आयोजनाबाट दैनिक एक करोड २० लाख आम्दानीसहित राज्यलाई वार्षिक झण्डै २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ । 

२०८६ असारभित्र सम्पन्न गर्नेगरी अगाडि बढाइएको आयोजनाको २०७८ मै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको थियो । डोल्पाको मुड्केचुला गाउँपालिका–७, इलमा विद्युत् उत्पादनगृह रहने आयोजनाको जगदुल्ला गाउँपालिका–१, को हुरीकोटमा २३ मिटर अग्लो जलाशययुक्त बाँध निर्माण हुनेछ ।

प्रस्तावित जलविद्युत् आयोजना तथा जलाशयमा हुने डुबान क्षेत्र तथा विभिन्न संरचनाहरूको निर्माणका लागि जम्मा ५२ दशमलव ७६ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी स्वामित्वको १३ दशमलव ५७ हेक्टर र सरकारी स्वामित्वको ३९ दशमलव २१ हेक्टर (शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र १४ दशमलव ९३ हेक्टर र २४ दशमलव २६ हेक्टर डिभिजन वन कार्यालय मातहतको वन क्षेत्र) प्रयोग गरिनेछ । 

आयोजनाको इन्टेक साइटसम्मको जलाधार क्षेत्र ६ सय ३३ दशमलव ८३ वर्गकिलोमिटर रहनेछ । जलाशयको भण्डारण क्षमता चार लाख ६५ हजार नौ सय ७० घनमिटर र जलाशयको लम्बाई पाँच सय मिटर रहनेछ भने, आयोजना कार्यान्वयन हुँदा जगदुल्ला (भेरी) नदीको २७ किमि क्षेत्र समेटिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 

आयोजनाको मुख्य संरचनाहरूमा आकस्मिक स्पिल्वे भएको तीनवटा द्वारसहितको २३ मिटर उचाइको बाँध, साइड इन्टेक, भुमिगत प्रकृतिको दुइवटा अप्रोच कल्भर्ट, ०.१० मिमिसम्मको कण थिग्रयाउने इन्टरमिटेन्ट फ्लसिङसहितको डुफर सेटलिक बेसिन, सर्ज साफ्ट, प्रेसर साफ्ट, भूमिगत प्रकारको विद्युत् गृह र घोप्टो डी आकारको ६ हजार एक सय ३५ मिटर लामो हेडरेस सुरुङ निर्माण गरिनेछ ।

जगदुल्ला नदीको विभिन्न खण्ड र सो नदीका सहायक नदीमा १२ वटा बेलिब्रिज र आन्तरिक पहुँच सडकको निर्माण हुनेछन् । आयोजनाबाट जगदुल्ला गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६, मुड्केचुला गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ८ प्रभावित हुने ईआईए प्रतिवेदनमा उल्लेख छ । 

आयोजना निर्माणका लागि विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत शेयर लगानी छ । यस्तै, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत शेयर रहेको आयोजनाले जनाएको छ । बाँकी ४९ प्रतिशत शेयर सर्वसाधारणका लागि खुला गरिने आयोजनाले जनाएको छ ।

अघि बढ्यो २३ अर्ब लागतको जगदुल्ला जलविद्युत् आयोजना 

सम्पादकीय : भेरी लिफ्टलाई सफल बनाऔं

Leave a comment

Your email address will not be published. Required fields are marked *