सम्पादकीय : भेरी लिफ्टलाई सफल बनाऔं

खानेपानी कुनै विलासिताको विषय होइन, नागरिकको आधारभूत अधिकार हो । तर, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका बासिन्दाले वर्षौंदेखि यही आधारभूत अधिकारको अभाव झेल्दै आएका छन् । तीव्र शहरीकरण, प्रदेश राजधानी बनेपछि बढेको बसाइँसराइ र पुरानो खानेपानी प्रणालीको सीमित क्षमताका कारण वीरेन्द्रनगरमा पानीको संकट दीर्घकालीन समस्याका रूपमा स्थापित भएको छ । यस्तो अवस्थामा भेरी लिफ्टिङ खानेपानी आयोजना केवल एउटा पूर्वाधार परियोजना मात्र होइन, वीरेन्द्रनगरको भविष्यसँग जोडिएको जीवनरेखा हो । सन् २०५० सम्मको अनुमानित जनसंख्यालाई मध्यनजर गर्दै भेरी नदीबाट प्रतिक्षण पाँच सय ६० लिटर पानी लिफ्ट प्रविधिबाट उपत्यकामा ल्याउने लक्ष्यसहित अघि बढाइएको यो आयोजना संघीयता कार्यान्वयनपछिको तीनै तहका सरकारबीचको सहकार्यको महत्वपूर्ण उदाहरण पनि हो । 

संघीय सरकार, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको लागत साझेदारीमा विश्व बैंकको सहुलियतपूर्ण सहयोगसहित कार्यान्वयन भइरहेको आयोजना निर्धारित समयमै सम्पन्न हुने संकेत देखिएको छ । पहिलो प्याकेजअन्तर्गत प्रशोधन केन्द्र, मुख्य ट्याङ्की तथा पाइपलाइन निर्माणमा उल्लेख्य प्रगति हुनु सकारात्मक पक्ष हो भने दोस्रो प्याकेजको ठेक्का प्रक्रिया पनि अघि बढिरहेको छ । वीरेन्द्रनगरमा अहिले आवश्यक पर्ने पानीको मात्रा र उपलब्ध आपूर्तिबीच ठूलो अन्तर छ । पुरानो झुप्रा बृहत् खानेपानी प्रणाली तत्कालीन जनसंख्याको अनुमानका आधारमा निर्माण गरिएको थियो । तर द्वन्द्वकालीन बसाइँसराइ, प्रदेश राजधानी घोषणा र तीव्र शहरी विस्तारले जनसंख्या अपेक्षाभन्दा धेरै बढायो । परिणामस्वरूप सीमित स्रोतबाट हजारौं घरधुरीलाई पर्याप्त पानी उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भयो । अहिले भूमिगत स्रोतमा आधारित डिप बोरिङमार्फत संकट टार्ने प्रयास भइरहेको भए पनि यो दीर्घकालीन समाधान होइन । भूमिगत जलस्रोतको अत्यधिक दोहनले भविष्यमा थप वातावरणीय जोखिम निम्त्याउन सक्छ । यही कारण भेरी लिफ्टिङ आयोजना समयमै सम्पन्न हुनु अत्यन्त आवश्यक छ । 

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १८ करोड रुपैयाँ म्याचिङ फण्डको व्यवस्था गर्नु र प्रदेश सरकारले पनि आफ्नो साझेदारी बजेट सुनिश्चित गर्नुले आयोजनाप्रतिको प्रतिबद्धता देखाउँछ । अब आवश्यक कुरा भनेको निर्माण प्रक्रियामा कुनै ढिलाइ हुन नदिनु, गुणस्तरमा सम्झौता नगर्नु र राजनीतिक वा प्रशासनिक हस्तक्षेपबाट आयोजना प्रभावित हुन नदिनु हो । विकास आयोजनाको सफलता बजेट खर्चमा होइन, समयमै गुणस्तरीय परिणाम दिन सक्ने क्षमतामा मापन हुन्छ । वीरेन्द्रनगरको समृद्धि, सार्वजनिक स्वास्थ्य र व्यवस्थित शहरी विकासको आधार सुरक्षित खानेपानी नै हो । त्यसैले भेरी लिफ्टिङ आयोजनालाई केवल निर्माणाधीन परियोजनाका रूपमा होइन, आगामी पुस्ताको जीवनस्तर निर्धारण गर्ने रणनीतिक पूर्वाधारका रूपमा हेर्नुपर्छ । निर्धारित समयमै आयोजना सम्पन्न गरी प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउन सके त्यसले वीरेन्द्रनगरको दशकौँ पुरानो समस्या समाधान गर्नुका साथै संघीय सहकार्यबाट ठूला पूर्वाधार सफलतापूर्वक कार्यान्वयन गर्न सकिने सशक्त उदाहरण पनि स्थापित गर्नेछ ।

सम्पादकीय : भेरी लिफ्टलाई सफल बनाऔं

विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

सम्पादकीय : भेरी लिफ्टलाई सफल बनाऔं

अघि बढ्यो २३ अर्ब लागतको जगदुल्ला जलविद्युत्

Leave a comment

Your email address will not be published. Required fields are marked *