जुम्लामा चट्याङले : एकको मृत्यु, पशुधनमा क्षति

गाेल्डेन बुढा
जुम्ला,१७ असार।
बुधबार परेको चट्याङले जुम्लामा मानवीय तथा पशुधन दुवैतर्फ गम्भीर क्षति पुर्याएको छ। हिमा गाउँपालिका–२ मा पर्ने छोटाखर्सु भन्ने लेखमा एनसेल टावरमा नजिकै झण्डै साँझ साढे ५ बजे अचानक परेको चट्याङले एक युवाको ज्यान लिएको छ, भने दुई जना सामान्य घाइते भएका छन्। सोही घटनामा १२–१५ वटा भेडा मरेको स्थानीयले बताएका छन्। उता चन्दननाथ नगरपालिका–१० को सिद्धि गणेश सामुदायिक वनमा परेको अर्को चट्याङले पाँच किसानका १२ वटा खसीबाख्राको मृत्यु भएपछि पशुधनमा आश्रित परिवारमाथि थप आर्थिक संकट थपिएको छ।हिमा गाउँपालिका–२ ओदी गाउँका १८ वर्षीय रबिन्द्र रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए।उनका अनुसार प्रारम्भिक विवरणअनुसार चट्याङ लागेर रावतको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जना सामान्य घाइते भएका छन्। स्थानीय युवा धिरेन्द्र बहादुर रोकायाका अनुसार घाइते हुनेमा २३ वर्षका बल राेकाया र ४० वर्षका जगत राेकाया रहेका छन्।उक्त घटनामा १२–१५ वटा भेडा पनि मरेका छन्।तत्काल घटनाको जाचँबुज गरि पिडित राहत दिन स्थानीय प्रशासन र हिमा गाउँपालिकालाई अपिल गरिएको राेकायाले बताए।चट्याङका कारण कति पशुचौपाया मरे भन्ने यकिन विवरण आउन बाँकी रहेको र घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको डीएसपी दाहालले बताए।यसैबीच, जुम्लाको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा बुधबार अपराह्न करिब साढे ३ बजे परेको चट्याङले चरिरहेका खसीबाख्रामा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दलबहादुर कामीको एक, धनराज विकको तीन, ज्योति नेपालीको एक, गोबी सार्कीको एक र सिंह नेपालीको छ वटा गरी १२ वटा खसीबाख्राको मृत्यु भएको हो।






