कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु अपराधिक गतिविधि र सडक दुर्घटनामा विशेष निगरानी

ओम शाही
सुर्खेत,१० असोज।
कर्णाली प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु भएको छ । कर्णाली प्रदेश प्रहरीले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा रणनीति ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना’ तयार गरी लागु गरहेको हो । चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरु नियन्त्रण र सडक दुर्घटना न्यूनिकरण गर्न प्रदेश प्रहरी कार्यालय सुर्खेतले विषेश सुरक्षा रणनीति लागु गरेको हो । ‘कर्णालीमा दसैँ, तिहार र छठ पर्वका समयमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिका साथै सडक दुर्घटना तथा यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन सुरक्षा योजना मुताविक प्रहरी परिचालन भएको छ,’ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले भने । चाडपर्वको समयमा हुन सक्ने कुनै पनि अपराधिक गतिविधि रोकेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै समग्र कर्णालीमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउन प्रहरी प्रतिवद्ध रहेको उनले बताए ।
उनले विगत तीन आर्थिक वर्षको अवधिमा कर्णालीमा दसैँ–तिहार लगायतका चाडपर्वका समयमा देखिएका सुरक्षा चुनौतीलाई सुक्ष्म विश्लेषणमार्फत यसवर्षको सुरक्षा रणनीति तय गरिएको बताए । यस अवसरमा सडक दुर्घटनाको पनि विश्लेषण गरेर प्रहरी निगरानी बढाइएको उनले बताए । ‘हामीले विगतका सुरक्षासँग सम्बन्धित घटनालाई पनि विश्लेषण गरेका छौं,’ उनले भने, ‘भौगोलिक अवस्थाका कारण कर्णालीमा सुरक्षा व्यवस्थापनको पाटो चुनौतीपूर्ण छ । यसो हुनाले पनि सुरक्षा निकाय चनाखो हुनुपर्ने अवस्था छ । विगतका वर्षहरुमा चोरी, लुटपाट, झै–झगडा, जुवातास, हत्या, बलत्कार र सडक दुर्घटनाहरु बढी भएको देखिन्छ ।’ उनले चाडपर्वका समयमा आमनागरिक पनि सचेत रहनुपर्ने बताए । ‘विशेषगरी चाडपर्वका समयमा अपराधिक मानसिकताका व्यक्तिहरु सक्रिय रहने सम्भावना हुन्छ,’ उनले भने, ‘यस्ता व्यक्तिको पहिचान आमनागरिकस्तरमा समयमै हुन सके घट्नै लागेको घटना रोक्न सकिन्छ । अन्य अवान्छित क्रियाकलाप बारेका सूचना दिएर प्रहरीलाई सघाउन अनुरोध छ ।’
गएको २३–२४ भदौको जेनजी समूहको आन्दोलनबाट शान्ति सुरक्षामा प्रतिकूल प्रभाव परेकाले चाडपर्वमा थप सुरक्षा जोखिम बढ्न सक्ने आँकलन प्रहरीको छ । देशका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार, गोलीगठ्ठाको दुरुपयोग तथा विभिन्न कारागारबाट फरार अपराधिक पृष्ठभूमिका कैदीबन्दीहरू चाडपर्वको समयमा घर पुग्न सक्ने भएकाले कर्णालीका १० वटै जिल्लामा प्रहरीको छुट्टै युनिट बनाएर सुरक्षा रणनीति अख्तियार गरिएको प्रहरीको दावी छ । जेन–जी आन्दोलनपछि सिर्जित विषम अवस्थाको सुरक्षा विश्लेषण गरी अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन र नियन्त्रणका आवश्यक सुरक्षा रणनीतिका साथ प्रहरी परिचालन भएको जनाइएको छ ।
तीन हजार प्रहरी परिचालन
चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर एक हजार दुई सय १८ वटा ड्युटीमा तीन हजार नौ सय आठ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरीले सुरक्षालाई बहुआयामिक बनाउन विभिन्न प्रकारका गस्ती र जाँचलाई तीव्रता दिएको छ । जसमा ५३ वटा मोबाइल गस्ती, एक सय १२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्यूआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन र एक सय ७८ वटा पैदल गस्ती र २० वटा लामो तथा छोटो दुरीका प्रहरी गस्तीसमेत परिचालन गरिएको छ । सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन एक सय ३० स्थानमा जाँचस्थल राखिएको छ भने, ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक जाँच भइरको प्रदेश प्रहरीले जनाएको छ।

यस्तै, ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा परिचालन गरिएको छ । जसले सवारी आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुर्याउने प्रहरीको विश्वास छ । यस्तै, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको छ । यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रवक्ता खनालले बताए । सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छ भने, बैंक तथा वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरीले जनाएको छ । बढी भिडभाड हुने क्षेत्रमा २४ सैं घण्टा निगरानीसँगै कर्णाली भित्रने नाकामा तालिम प्राप्त कुकुर खटाइएको छ । प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको छ । यस्तै, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राखेर चल्ने सवारी साधनहरूलाई कारबाहीको दायरामा ल्याउन विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिएको छ । यसवर्ष सम्भावित सडक दुर्घटना हुने क्षेत्रको पहिचान गरी त्यस्ता संवेदनशिल क्षेत्रमा प्रहरीले मोटरसाइकल गस्तीसमेत गर्ने जनाइएको छ ।
कर्णाली राजमार्गलाई अवरुद्ध हुन नदिइने
विशेष गरी चाडपर्वको समयमा पहिरोका कारण अवरुद्ध भइरहने कर्णाली राजमार्गलाई नियमित बनाउन सडक डिभिजन कार्यालय जुम्लाले दक्ष जनशक्तिसहितका उपकरणहरु तयारी अवस्थामा राखेको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर प्रदिपनारायण चौधरीले पहिरोका कारण बढी सडक अवरुद्ध हुने कालीकोटको शुभकालिका–१, स्थित गगने खोला लगायतका स्थानलाई लक्षित गरेर पहिरो पन्छाउने उपकरणसहितको जनशक्ति तयारी अवस्थामा रहेको बताए । ‘दसैँको समयमा कर्णाली राजमार्ग अन्तर्गत पहिरो बढी खस्ने क्षेत्रमा हामीले डोजर, भ्याक्कु लोडर लगायतका पहिरो पन्छाउने उपकरण सम्बन्धित स्थानको नजिक तयारी अवस्थामा राखेको छौं,’ उनले भने, ‘तत्काल पानी नपरेको अवस्थामा सडक अवरुद्ध हुने सम्भावना छैन । तर, पहिरोको जोखिम भने कायमै छ । अहिले खटिएको जनशक्ति र उपकरणका अलवा थप जनशक्ति पनि खटाउने तयारी छ ।’ उनका अनुसार सडक डिभिजन कार्यालय सुर्खेतले पनि कर्णाली राजमार्ग अन्तर्गतको दैलेख र सुर्खेत खण्डमा दसैँलाई लक्षित गरेर पहिरो पन्छाउने उपकरणहरु तयारी अवस्थामा राखेको छ ।






