दशैं नजिकिँदै गर्दा जुम्लाका विभिन्न बैंक शाखामा खुद्रा नोट सटहीमा मनपरि

काली बहादुर परियार
जुम्ला,९ असोज।
दशैं नजिकिँदै गर्दा जुम्लाका विभिन्न बैंक शाखामा खुद्रा नोट सटहीमा अनियमितता भएको आरोप सार्वजनिक भएको छ ।
दुबो खबरलाई प्राप्त गुनासो अनुसार बैंकका कर्मचारीहरूले आफन्त र चिनजानका व्यक्तिलाई मात्र नयाँ र सुकिला नोट साटिदिने गरेका छन् भने सामान्य सर्वसाधारणलाई “नोट छैन” भन्दै फर्काउने गरेको पाइन्छ ।
विशेषगरी जुम्ला बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखाविरुद्ध यस्तो गुनासो बढी आएको छ । दशैंमा पूजा–पाठ र खर्चका लागि आवश्यक सुकिला नोट सहजै उपलब्ध हुनुपर्ने भए पनि बैंक भित्रै कर्मचारीले मनपरी गर्दै परिचितलाई प्राथमिकता दिएको नागरिकको आरोप छ ।
हामी सर्वसाधारणलाई पटक–पटक लाइनमा उभ्याउँछन् तर अन्ततः नोट सकियो भनेर पठाइदिन्छन् । तर, कर्मचारीका आफन्तहरू भने सजिलै सटही गरेर जान्छन् ,एक पीडितले गुनासो गर्दै भने ।
यसरी दशैंलाई नजिक्याउँदै गर्दा नोट सटहीमा पारदर्शिता नभएकाले सर्वसाधारणमा असन्तोष बढ्दै गएको छ । स्थानीयहरूले तत्कालै बैंकले समान पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
मुख्य प्रश्न दशैंको रौनकमा सबै नागरिकलाई समान रूपमा खुद्रा नोट उपलब्ध गराउने कि आफन्तलाई मात्र विशेषाधिकार दिने? सर्वसाधारणकाे गुनासाे रहेकाे छ ।
जुम्लाको राष्ट्रिय वाणिज्य बैँक लिमिटेड मात्र नभए जुम्लामा रहेका हरेक बैंकले यस्ताे प्रवृत्ती देखाउने गरेका छन् । समयमा सजक नभए जे पनि हुने नागरिककाे गुनासाे रहेकाे छ ।






