राप्ती पार गर्न ज्यान जोखिममा स्थानीय: दशौं वर्षदेखि पिप्रहवाघाटमा पुलको प्रतीक्षा

बाँके,७ कार्तिक ।

बाँकेका तीन गाउँपालिका राप्तीसोनारी, डुडुवा र नरैनापुरका स्थानीय बासिन्दा वर्षौंदेखि ज्यान जोखिममा राखेर डुङ्गाबाट राप्ती नदी पार गर्न बाध्य छन्। खेतीपाती, व्यापार र आवतजावतका लागि नदी पार गर्नुपर्ने भएकाले उनीहरूको दैनिक जीवन जोखिमपूर्ण बनेको छ।

राप्तीसोनारी गाउँपालिका–७ का ७० वर्षीय दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि दशकौंअघिदेखि माग गर्दै आएको बताउनुभयो। “वर्षा लागेपछि बाढीका कारण पटक–पटक डुङ्गा दुर्घटना भई स्थानीयले ज्यान गुमाए पनि सरकारको ध्यान कहिल्यै गएको छैन,” उहाँको गुनासो छ।

पाण्डेका अनुसार करिब चार दशकअघि सो घाटमा ठूलो डुङ्गा दुर्घटना हुँदा करिब सयजना सवारमध्ये धेरैजनाको मृत्यु भएको थियो। त्यसयता नदी पार गर्ने डर कायम भए पनि विकल्प नहुँदा स्थानीय डुङ्गा प्रयोग गर्न बाध्य छन्।

नरैनापुर–५ का सन्जय दिक्षित भन्छन्, “पारि खेतबारी, वारि घर, बीचमा विशाल राप्ती नदी छ। वर्षामा उर्लेर आउने बाढीमा सानो डुङ्गामै नदी पार गर्नुपर्छ, जोखिम त हामीले बोकिरहेकै छौं।”

राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै बासिन्दाको खेती नदी पारिपट्टि रहेकोले दैनिकरूपमा नदी वारपार गर्नुपर्ने बाध्यता छ। खल्ला झगडियाका अरुण यादव भन्छन्, “तटीय बस्तीका जनताको सुरक्षित यात्रामा सरकारले कहिल्यै चासो दिएन, अब पनि पुल बनेन भने यो पीडा कहिलेसम्म सहने?”

नदीमा पिप्रहवा, सतीघाट र बालपूर्वा गरी तीन स्थानमा साना डुङ्गा राखिएका छन्। विगत १० वर्षदेखि डुङ्गा चलाउँदै आएका माझी गुड्डु मल्लाह भन्छन्, “बाढी आएपछि डुङ्गा बग्ने डर हुन्छ, धेरै पटक ज्यान बचाउन मुश्किल परेको छ। अब ढिलो नगरी पुल निर्माण हुनैपर्छ।”

स्थानीयले सरकारसमक्ष फेरि एकपटक पिप्रहवाघाटमा स्थायी पुल निर्माणको माग दोहोर्याएका छन्। उनीहरूको भनाइ छ— “हामीलाई राहत र आश्वासन होइन, अब स्थायी समाधान चाहिन्छ।”

 

राप्ती पार गर्न ज्यान जोखिममा स्थानीय: दशौं वर्षदेखि पिप्रहवाघाटमा पुलको प्रतीक्षा

जुम्लाको डिल्लीचाैरमा आगलागी

राप्ती पार गर्न ज्यान जोखिममा स्थानीय: दशौं वर्षदेखि पिप्रहवाघाटमा पुलको प्रतीक्षा

रुकुम पश्चिममा जिप दुर्घटना : ८ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *