जुम्लाको डिल्लीचाैरमा आगलागी
गाेल्डेन बुढा
जुम्ला,६ कार्तिक ।
“सबै सपना सँगै जले, अब बाँकी छ केवल खरानी र सम्झना,” पातारासी गाउँपालिका–४ डिल्लीचौरका बिन्दराम विकले आँसु पुछ्दै भने। मंगलबार बिहान सबेरै भएको आगलागीले उनको दुई तले माटाको घर मात्र होइन, जीवनभरको पसिना र मेहनत सँगै सखाप पार्यो।बिहानको करिब ४ बजेर ५० मिनेट, गाउँ अझै निद्रामा थियो। तर बिन्दरामको घरबाट धुवाँको मुस्लो उठ्न थाल्यो। छिमेकीहरू “आगो! आगो!” भन्दै चिच्याउँदै पुगे, तर आगोको लप्काले केही क्षणमै सारा घरलाई निलिसकेको थियो।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार विद्युत् सर्टका कारण आगलागी सुरु भएको हो। सुरुमा कोठाको एउटा कुनाबाट निस्किएको आगाेले केही मिनेटमै सबै तर्फ फैलिँदै घरलाई आगोको भुमरीमा पार्यो।आगो निभाउने कोसिस भइरहँदा घरभित्रका सबै सामान, कपडा, अन्नपात, सुन, नगद, दराज, टेबल र अन्य घरेलु वस्तु जलेर खरानी बने। घरमा रहेका चारवटा बाख्रा र दुईवटा खरायो पनि जीवितै जलेर मरे। बिन्दराम विकको परिवारले करिब १९ लाख ९० हजार रुपैयाँ बराबरको सम्पत्ति गुमाएको अनुमान गरिएको छ।“हामी केही गर्नै नपाई आगोले सारा जिन्दगी लुट्यो,” विकले भावुक हुँदै भने, “आगो नियन्त्रणका लागि देवदत्त गण जुम्लाबाट उप सेनानी सरोज कटवालको कमाण्डमा ३६ जना सेनाको टोली, प्रहरी चौकी डिल्लीचौरबाट प्रहरी हवल्दार दीपायल चौधरीको नेतृत्वमा ५ जना, जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक असीम हमालको कमाण्डमा ९ जना र विपद् व्यवस्थापन गुल्म जुम्लाबाट प्रहरी सहायक निरीक्षक कालीबहादुर महतको नेतृत्वमा ९ जना टोली घटनास्थल पुगेका थिए।स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासपछि आगो बिहान ८ बजेर ४५ मिनेटतिर मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। त्यसबेलासम्म घर पूर्ण रूपमा ध्वस्त भइसकेको थियो।आगलागीको खबर सुनेर गाउँभरका मानिसहरू दौडिए। कसैले बाल्टीमा पानी ल्याए, कसैले माटो, कसैले कम्बलले आगो छोप्ने प्रयास गरे। तर आगोको तातो लप्काले कसैलाई नजिकै जान दिइरहेको थिएन।“हामी सबैले पूरा शक्ति लगायौँ,” छिमेकी रामचन्द्र बहादुर विकले भने, “तर आगोले हाम्रो सबै मिहिनेत हाँस्दै जलाइदियो।”आगलागीपछि गाउँमा स्तब्धता छाएको छ। बिहानदेखि स्थानीयहरू घर परिवारलाई सान्त्वना दिइरहेका छन्।घर खरानी बनेपछि बिन्दराम विक र उनका परिवार अहिले छिमेकीको घरमा अस्थायी रूपमा बसिरहेका छन्।

लत्ताकपडा र अन्नपात जलेका कारण उनीहरूलाई दैनिक जीवनसमेत कठिन भएको छ।“हामीसँग न त कपडा बाँकी छ, न अन्न, न बास। भगवानले किन यस्तो परीक्षामा राखे?” विककी श्रीमतीले रुँदै भनिन्।जिल्ला प्रहरी कार्यालय जुम्लाले यस्ता घटनाबाट बच्न विद्युत् सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। निरीक्षक असीम हमालले भने, “राति सुत्दा मुख्य स्विच बन्द गर्ने, पुराना तार बदल्ने, र विद्युत् उपकरण चलाएर बेवास्ता नगर्ने बानी अपनाउन जरुरी छ।”





