मंसिर मसान्तसम्म लुम्बिनी प्रदेशको खर्च १५.३९ प्रतिशतमै सीमित, पुँजीगत खर्च कमजोर

बाँके, ५ पुस । 

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्म कुल बजेटको १५ दशमलव ३९ प्रतिशत मात्रै खर्च गरेको छ । ३८ अर्ब ९१ करोड रुपैयाँको वार्षिक बजेटमध्ये हालसम्म करिब ५ अर्ब ९८ करोड ९० लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो अवधिमा पुँजीगत खर्च १२ दशमलव ३५ प्रतिशतमा सीमित छ । २३ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत बजेटमध्ये हालसम्म करिब २ अर्ब ८९ करोड रुपैयाँ मात्रै खर्च भएको हो । यस्तै चालु खर्चतर्फ २० दशमलव ०२ प्रतिशत खर्च भएको छ । १५ अर्ब ४३ करोड रुपैयाँको चालु बजेटमध्ये करिब ३ अर्ब ९ करोड रुपैयाँ खर्च भएको देखिन्छ ।

चालु खर्चको तुलनामा पुँजीगत खर्चको अवस्था कमजोर देखिएको छ । तर स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च भने उल्लेख्य रूपमा बढेको छ । मन्त्रालयले यस अवधिमा ६६ दशमलव ६९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । एक अर्ब ५७ करोड रुपैयाँ पुँजीगत बजेटमध्ये करिब एक अर्ब ४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

युवा तथा खेलकुद मन्त्रालय र प्रदेश सभाले भने हालसम्म एक रुपैयाँ पनि पुँजीगत खर्च गर्न सकेका छैनन् । प्रदेश सभातर्फ कुल १९ दशमलव ५२ प्रतिशत खर्च भएको छ । चालुतर्फ २२ दशमलव ०५ प्रतिशत खर्च भए पनि पुँजीगततर्फ कुनै पनि बजेट खर्च हुन नसकेको हो ।

युवा तथा खेलकुद मन्त्रालयमा २२ करोड ७० लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन भए पनि हालसम्म खर्च शून्य रहेको छ । चालुतर्फ भने १३ दशमलव ३२ प्रतिशत खर्च भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च ११ दशमलव ७२ प्रतिशत रहेको छ । ९ अर्ब ६१ करोड रुपैयाँ पुँजीगत बजेटमध्ये करिब एक अर्ब १२ करोड रुपैयाँ खर्च भएको हो ।

सहरी विकास तथा खानेपानी मन्त्रालयले पुँजीगततर्फ १० दशमलव ०७ प्रतिशत खर्च गरेको छ । ५ अर्ब ३५ करोड रुपैयाँ बजेटमध्ये करिब ५३ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । मुख्यमन्त्री कार्यालयको पुँजीगत खर्च ६ दशमलव ४४ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको ७ दशमलव ४५ प्रतिशत र उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको १ दशमलव ०८ प्रतिशत रहेको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३ दशमलव ८८ प्रतिशत, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको १० दशमलव ६७ प्रतिशत र आन्तरिक मामिला तथा कानून मन्त्रालयको ० दशमलव ०३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । वन तथा वातावरण मन्त्रालयको ४ दशमलव ४० प्रतिशत, सामाजिक विकास मन्त्रालयको १ दशमलव ३० प्रतिशत र प्रदेश योजना आयोगको ० दशमलव ८० प्रतिशत पुँजीगत खर्च भएको छ ।

प्रदेश लोक सेवा आयोगतर्फ कुल १९ दशमलव ८१ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ भने ४ दशमलव ०७ प्रतिशत मात्रै खर्च भएको देखिन्छ । मंसिर मसान्तसम्म पुँजीगत खर्च न्यून रहँदा विकास निर्माणका काम अपेक्षित गतिमा अघि बढ्न नसकेको देखिएको छ ।

मंसिर मसान्तसम्म लुम्बिनी प्रदेशको खर्च १५.३९ प्रतिशतमै सीमित, पुँजीगत खर्च कमजोर

कर्णाली खेलकुद विकास परिषद्को  सदस्य सचिवमा २१

मंसिर मसान्तसम्म लुम्बिनी प्रदेशको खर्च १५.३९ प्रतिशतमै सीमित, पुँजीगत खर्च कमजोर

व्यावसायिक कुखुरा पालनबाट मनग्य आम्दानी 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds