बाँके–बर्दियामा जनता आवास कार्यक्रम : करिब तीन हजार घर हस्तान्तरण

२, भदौ २०८२
बाँके ।बाँके र बर्दियामा जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म करिब तीन हजार घर निर्माण गरी लक्षित परिवारलाई हस्तान्तरण गरिएको छ।
सहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख रामआश्रय साहका अनुसार प्रदेश सरकार स्थापना भई कार्यालय सञ्चालनमा आएपछि दुई जिल्लामा ३ हजार १०० घर निर्माणका लागि जिम्मेवारी आएको थियो। करिब सात वर्षको अवधिमा तीन हजार घर निर्माण सम्पन्न भइसकेको र बाँकी घर पनि चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
कार्यालयका अनुसार बाँकेमा १ हजार ८०० र बर्दियामा १ हजार ३०० घर निर्माणका लागि सङ्घीय सरकारबाट हस्तान्तरण भएको हो। तीमध्ये बाँकेमा ५६ र बर्दियामा ४८ गरी जम्मा १०४ घरमात्र निर्माण गर्न बाँकी रहेको छ।
लक्षित दलित तथा विपन्न समुदायलाई लक्षित गरी घर निर्माण गरिएको यस कार्यक्रममा, लाभान्वित परिवारको छनोट सम्बन्धित प्रदेश सांसदको नेतृत्वमा गठित समितिबाट हुने व्यवस्था गरिएको छ।
२०७५ मङ्सिर १८ गतेदेखि प्रदेश सरकारमार्फत सुरु गरिएको यो कार्यक्रम यसअघि संघीय सरकारको जिम्मेवारीमा थियो। घर निर्माणका लागि लाभान्वित परिवारलाई तीन लाख ५० हजार रुपैयाँसम्म अनुदान प्रदान गरिन्छ, जसमा कन्टिन्जेन्सी समेत समावेश हुन्छ।






