तरकारी खेतीले फेरिएको महिलाको दैनिकी( तस्बिर सहित)

गाेल्डेन बुढा
जुम्ला,२ जेेेष्ठ।
जुम्लाको तातोपानी गाउँपालिका-२ जर्मी गाउँकी गंगा बुढाकाे दैनिकी आफ्नो तरकारी बारीमै बित्छ। बिहानै तरकारीको रेखदेख गर्न उनी बारीमै पुग्छिन् । तरकारीखेतीबाटै आर्थिक बलियो हुने दाउमा देखिन्छन्।उनलेे,´खेतबारीमा काउली, बन्दा,गाेल्भेडा,आलु,गाजर,मुला,र प्याज लगाएकी छिन्।
आफुले फलाएकाे तरकारी बेचेर लाखौं रुपैयाँ आम्दानीको गर्ने साेचमा छन। अघिल्ला वर्षहरुमा जुम्ली काली मार्सी धानखेती भइरहेको उनको बारीमा आजभोलि लटरम्म हरियो तरकारी फलेको छ।गंगाले भनिन्, ‘धानमा रोगकिराको संक्रमण बढ्दा निकै दु:ख कष्ट पाउदै आयाैँ।आजभोलि तरकारी खेतीबाटै आर्थिक पक्ष बलियो हुने पक्षमा छौं।’जलवायु परिवर्तनका कारण जुम्लाको खेती प्रणालीमै हलचल देखिएपछि किसानहरु वैकल्पिक उपाय अपनाउन थालेका हुन्। विषादीरहित अर्गानिक तरकारी रोपिएकोले उनको तरकारीको माग अहिले देखि नै हुन थालेको छ ।

अर्की उक्त गाउँकी जयलक्ष्मी बुढाले पनि तरकारी खेती गर्न थालेको तीन वर्ष बढीभयो।जयलक्ष्मी यो वर्षदेखि व्यवसायिकले लागेको बताउँछिन्।विगतमा आफैंले खाने तरकारी फलाइरहेकी उनले यो पटक ताजा तरकारी बजार सम्म पुर्याउने तयारी गरेकी हुन्।सडक सञ्जालको फहुँच सँगै र स्थानीय तहमै टुक्रेबजार बढेपछि उनी त्यही बजारको मागका आधारमा तरकारी फलाउन थालेकी छिन्। तरकारीबाटै आम्दानी गरेर श्रीमान्सँग माग्नु नपरोस् भन्ने उनको सोच छ। “पहिला किनेर बिहान–साँझ तरकारीको जोहो हुन्थ्यो, अहिले आफैँले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ”, उनले भनिन्।छाेराछाेरी पढ्ने,लेख्ने बचेको रुपैयाँ बचत गर्ने गरेको सुनाइन्।,नजिकैका बजारहरुमा बेच्दै आम्दानीको स्रोतका रुपमा उत्पादन भइरहेको छ ।’ उनको उत्पादन तातोपानी गाउँपालिका केन्द्र लिताकोट बजार, तातोपानी बजारमा बिक्री भइरहेको छ।

यो वर्ष धेरै उत्पादन छ,जुम्लाको सदरमुकाम खलंगासम्म लैजाने तयारी छ। अर्की सत्या बुढा पनि खेतबारीमा बिहानैदेखि व्यस्त हुन्छिन्।बिहानै बजारसम्म धनियाँ, साग र अन्य तरकारी बिक्री गर्न पुग्छन्।घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव सुनाइन् । उनी भन्छिन्, “महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हुँदोरहेछ, श्रीमान्सँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन ।”लगभग एक रोपनी खेतमा तरकारी उत्पादन गरेको बताइन्। सत्याले भनिन्, ‘ तरकारी बिना सुख्खा खाना खाइन्थ्याे। आजभोलि वर्षभरि हरियो तरकारी पाक्न थालेको छ ।’ गंगा, जयलक्ष्मी र सत्या बुढा प्रतिनिधि पात्र मात्र हुन् । उक्त गाउँका २८ जना महिलाले एक हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेका छन् । उनीहरुको खेती सामूहिक जस्तो भए पनि उत्पादन भने व्यक्तिगत रुपमै लिने गरेका छन् । ’उनीहरु अर्गानिक तरकारी मात्र फलाइरहेका छैनन्।

जैविक विषादी बनाएर रोगकिरा नियन्त्रण गर्छन्। बालबालिकाको पोषणमा पनि सहयोग पुग्ने र बलियो आम्दानी लिन सकिने भएकोले प्रमुख आम्दानीको स्रोतका रुपमा तरकारी खेतीलाई लिएकाे महिलाहरु बताउँछन्।घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् ।तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिकजसो बिक्री हुँदा हातमा पैसा परिरहन्छ”, उनिहरुले भनिन्, “घरको काम गर्दै हेरचाह गरे भयो, धेरै समय दिएर दुःख झन्झट गर्नु परेन ।” जुम्लाको चन्दननाथ नगरपालिका -१ मा पर्ने तलिचौर गाउँका किसानहरु पनि व्यवसायिक तरकारी खेतीमा लागेका छन्।

विशेषगरी महिला र दलित समुदायहरु तरकारी खेतीमा अग्रसर छन्।युएनडिपीको आर्थिक सहयोग तथा तातोपानी गाउँपालिका र पेस नेपाल जुम्लाको साझेदारिमा सन्चालित कृषि खाध्य प्रणालिको लागि नवीकरणीय उर्जा परियोजना अन्तर्गत जर्मी र तलिचाैर गाउँमा तरकारी खेति भइरहेको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्याैपाने बताए।न्याैपानेका अनुसार उनिहरुलाई ग्रीन हाउस, बीँउ र तरकारी खेती प्रविधि सम्बन्धि तालिम पाएपछि उनीहरु व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका हुन्।उनलेे भने तरकारी खेतीले महिलाको दैनिकी बदलिएको छ।







