जुम्लाको चन्दननाथ नगरपालिका स्वास्थ्य सेवा कार्यसम्पादनमा प्रथम

काली बहादुर परियार
जुम्ला,२८ भदौ।
जुम्ला । जिल्लाका आठ स्थानीय तहमध्ये स्वास्थ्य सेवा प्रवाह, कार्यसम्पादन र व्यवस्थापनमा चन्दननाथ नगरपालिका पहिलो स्थानमा उत्रिएको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार, आर्थिक वर्ष ०८१/८२ मा चन्दननाथ नगरपालिकाले ८३ अंक प्राप्त गरी जिल्लामा उत्कृष्टता हासिल गरेको हो।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले चन्दननाथ नगरपालिकाको यो उपलब्धिलाई ऐतिहासिक भन्दै स्वास्थ्य शाखा प्रमुख क्षेत्र महतलाई प्रशंसा पत्र प्रदान गरिएको जानकारी दिए। सोही सूचकमा सिंजा गाउँपालिकाले ८१.६ अंक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ भने तातोपानी गाउँपालिका ७७ अंकसहित तेस्रो स्थानमा परेको छ।
यस्तै, कनकासुन्दरीले ७६.६, हिमाले ६८.६, तिला गाउँपालिकाले ६३.६ र गुठीचौर गाउँपालिकाले ५८.६ अंक प्राप्त गरेका छन्। जिल्लामा स्वास्थ्य सेवा कार्यसम्पादनमा सबैभन्दा कमजोर पातारासी गाउँपालिका रहेको छ, जसले मात्र ५३.२ अंक प्राप्त गरेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।






