मल वितरण ढिलाइपछि दबाबमा सरकार: नेपालगञ्जबाट सुरु भयो थन्किएको युरिया मल वितरण

बाँके,२१ साउन।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, प्रदेश कार्यालय नेपालगञ्जमा लामो समयदेखि थन्किएको ६,९७१ बोरा युरिया मल आजदेखि औपचारिक रूपमा वितरण सुरु गरिएको छ।
प्रदेश कृषि मन्त्रालयबाट कोटा निर्धारणको पत्र आउन ढिलो भएपछि मल वितरण प्रक्रियामा ढिलाइ भएको कर्पोरेसनका प्रदेश प्रमुख वासुदेव उपाध्यायले जानकारी दिनुभयो। किसानहरू लामो समयदेखि मलको अभावमा समस्यामा परिरहेका बेला नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको समेत सक्रियतामा आन्दोलन चर्किएपछि मन्त्रालयले कोटा निर्धारणको पत्र पठाएको हो।
कोटा निर्धारणलगत्तै मल वितरण सुरु गरिएको र हालसम्म बैजनाथ गाउँपालिकाबाट दुई डिलरले २३१ बोरा मल लगेको उपाध्यायले बताउनुभयो। बाँकी कोटा यसप्रकार निर्धारण गरिएको छ:
नेपालगञ्ज उपमहानगरपालिका: १,०५५ बोरा
राप्तीसोनारी गाउँपालिका: १,१०८ बोरा
खजुरा गाउँपालिका: १,०४६ बोरा
बैजनाथ गाउँपालिका: ९१८ बोरा
डुडुवा गाउँपालिका: ८१५ बोरा
कोहलपुर नगरपालिका: ७३१ बोरा
जानकी गाउँपालिका: ७२० बोरा
हाल बाँके जिल्लामा १२० वटा सहकारी डिलरमार्फत मल वितरण भइ रहेको छ। तर किसानहरूले सहकारीहरूले मल व्यापारीलाई बेचेको, मूल्य मनपरी लिएको र वास्तविक किसानहरू मलबाट बञ्चित भएको गुनासो बढाएका छन्।
यसप्रति गम्भीर हुँदै नेपालगञ्ज उपमहानगरपालिकाले मल वितरण प्रक्रियाको अनुगमन सुरु गरेको जनाएको छ। अनुगमनपछि मल वितरण अझ पारदर्शी र किसानमैत्री हुने अपेक्षा गरिएको छ।






