सम्पादकीय: महिनावारी हुँदा विभेद कहिलेसम्म ?

मानवजिवनका लागि अत्यावश्यक बस्तु मध्येको एक हो पानी । एक्काईसौं शताव्दीमा विश्वलाई आफ्नो मुठीमा राखेर रिमोटबाटै चलाएका छन् केही व्यक्तिहरुले । हामी कहाँ भने दैनिक आवश्यक पानी नपाएर मान्छेहरु छट्पटाउनु पर्ने अवस्था छ । स्थानीय सरकार छ जो आफ्नै नीति, विधि र कानून बनाएर सरकार चलाउने अवसर पाएको छ ।
तिनै स्थानीय तहका नागरिक पानी लिन घण्टौ समय लगाएर जिन्दगी चलाउनु परेको छ । सुर्खेत चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका किशोरी तथा आमाहरुले कुरितीका कारण व्यहोर्दै आएको समस्या हो । यो पानी समस्या सामान्य अवस्थामा भन्दा पनि महिनावारी भएको बेलामा सामान्य अवस्थामा प्रयोग गर्ने पानीका श्रोतहरु छुन नदिँदा झन समस्या परेको हुन्छ । उसै पनि यस्तो बेलामा सामान्य अवस्थामा भन्दा बढी सरसफाई गर्नुपर्ने हुँदा पानी बढी चाहिन्छ ।
महिनावारीको अवस्थामा समेत सामाजिक रुपमा अछुत व्यवहार गरेर पानीका श्रोत समेत प्रयोग गर्न नदिनु आफैमा दुखद् त हो नै । सामाजिक अपराध समेत भन्न सकिन्छ यसलाई । जतिबेला माया, केयर, खानपानमा समेत सामान्य अवस्था भन्दा बढी ख्याल गर्नुपर्ने महिनावारीको समयमा सरसफाईको लागि पानी समेत नपाउँनु दुखद् विषय हो । महिनावारी वार्नु भनेको पहिला पहिलाको जमानामा सरसफाई हँुदैनथ्यो रक्तश्राव हुने भएको हुँदा फोहोर हुने कारण भान्सा, पानीका श्रोत लगायतमा जान नदिईएको हो ।
तर अहिले मानविय चेतनाका कारण यो समस्या छैन र पनि महिनावारीका बेला शरिरलाई अन्य समयभन्दा बढी आरामको आवश्यकता पर्छ त्यस कारण पनि यसलाई पहिला देउता रिसाउने भनेर बार्ने गरेपनि बैज्ञानिक हिसावले हेर्ने हो भने पनि महिलाले दैनिक गर्ने पानी टाढावाट बोक्नेदेखी शारिरीक श्रम लगायतका काम गर्नुपर्ने हुँदा त्यसबाट छुट्टी पाएको अर्थमा यो नराम्रो चाँही होईन । किनकि दैनिक महिलाले गर्ने कामहरुबाट छुट्टी अन्य अवस्थामा सिकिस्तै बिरामी हुँदा पनि उठेर बसिबसि यति खाना पकाउने काम त गर है भन्ने समाजका नागरिक हौं हामी ।
यसैलाई अन्य कारण देखाएर छाउ बार्न लगाउनु भन्दा यसलाई यसरी बुझेर बुझाएर आफ्नै घरभित्र आफ्नै कोठामा बसेर स्वास्थ्य र सरसफाईमा ध्यान दिनुचाँही राम्रो हो । तर छाउ बार्नेका नाममा घरभन्दा टाढा अशुरक्षित ठाँउमा एक्लै राख्नु चाहि सिंधै मानवअधिकार हनन हो । पहिलो त चेतनास्तरको कमी पनि हो । हामीले हेर्ने हो भने पनि समाजमा छाउ बार्नपर्ने कुरामा पुरुष भन्दा महिलालाई धेरै चासो हुन्छ प्राय पुरुषहरु मतलब नै राख्दैनन । किनकी महिला कम शिक्षित छन् र पुरुषहरु महिलाका तुलनामा देश दुनिया देखेका र बुझेका हुन्छन त्यसैले पनि तुलनात्मक रुपमा पुरुष भन्दा स्वयम् महिलाले महिनावारी भएको महिलालाई गर्ने व्यावहार अलि फरक हुन्छ । त्यसैले महिनावारी भएका बेलामा गरिएका व्यबहारलाई स्वास्थ्य सुरक्षा र सरसफाईलाई बिषेश ख्याल गर्दै आम जननीहरुका लागि आफ्ना गतिविधिहरु महिलामैत्री बनाउनु पर्छ ।
त्यही प्रकृयाबाटै हाम्रो अस्तित्व सम्भव भएको हो भन्ने कुरा हामिले बिर्सनु हुँदैन । एक मानवबाट अर्को मानव बन्ने प्रकृयाको तयारीको अवस्था हो महिनावारी न कि यो देवदेविसङ्ग सम्बन्धित छ । ल मानसिक रुपमा पहिलादेखी नै हामीलाई देवि, देवता रिसाउँछन भनेपनि ल मान्नुस् त्यही आमा, दिदिबहिनी अमेरिका हुँदा नरिसाएका देउता घरमा हुँदा रिसाउँछन् ? मन शान्तिका लागि ठिक छ नाम जे सुकै देउ तर उनीहरुलाई महिनावारीका बेलामा गर्नुपर्ने, आराम, आहारबिहार र स्वास्थ्यमा अरुबेला भन्दा अलि ख्याल गरेर हेरचाह चाहि गर्नु आवश्यक छ । निर्विकल्पक मानव बन्ने प्रकृया न रोक्छु भनेर रोकिन्छ न छेक्छु भनेर नै छेकिन्छ । त्यसैले सोच र व्यवहार परिवर्तन गर्नु जरुरी छ ।






