जुम्लामा आज धान दिवस मनाइँदै, के छ मार्सीको महत्त्व ?


हरेक वर्ष असारको १५ गते देशभर धान दिवस मनाइन्छ । तर,जुम्लामा सोमवार राष्ट्रिय धान दिवस मनाइँदै छ । जुम्लामा प्रत्येक वर्ष चैत्र १२ गतेदेखि २० गतेसम्म धान दिवस मनाउने प्रचलन छ । सोहीअनुसार जिल्लामा सोमवारबाट ९ दिनसम्म राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।
कर्णाली प्रदेश सरकारले सोमवार जुम्लामा सार्वजनिक बिदा दिइएको छ । दुर्लभ जुम्ली मार्सी धान संसारमै सबैभन्दा बढी उचाइ अर्थात् समुद्र सतहबाट करिब २ हजार ७ सय ९० मिटर उचाइमा उत्पादन हुने धानको चिनारी बोकेको छ ।

वि.स.१०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछु ज्युलोमा जुम्ली मार्सी धानको बीउ राखेका थिए । बीउको परीक्षणपछि १११२ सालदेखि जुम्लामा काली मार्सी धान खेती गर्न सुरु गरेको जुम्लाको चन्दननाथ नगरपालिका–१ आचार्यबाडामा सस्कृतविद् रमानन्द आचार्यले बताउँछन् । त्यो बेला जुम्लाको सबैभन्दा उच्च स्थान लाछु, छुमचौर र हाकुमा मार्सी धान उत्पादन गर्न थालिएको थियो ।

कसरी गरिन्छ मार्सी धानको खेती ?
जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धान हो, मार्सी । नेपाली र तेस्रो मुलुकको ठुलो बजारमा लोकप्रिय बन्दै गएको काली मार्सी धान खेती यो वर्षको चैत १२ गतेदेखि सुभारम्भ भएको छ । किसानहरूले सोमबारदेखि मार्सी धानको बीउ राखेका छन् ।

धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको सुरुआतीको रूपमा लिने गरिन्छ।स्थानीय चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका देवतालाई र आ–आफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ ।
जुम्लाका ८ वटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरे पनि पातारासी गाउँपालिकास्थित छुम, चौर, ज्युलोमा सबैभन्दा बढी मार्सी धान खेती हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिने चन्दननाथ – भण्डारीबाडा गाउँकि ५८ वर्षकी गोरीकला कुमाईले बताइन् ।

अनि, २० गते छरिन्छ । चैत १२ गतेलाई जुम्लाको परम्परागत चलनअनुसार ‘बारुवा’ गरिन्छ । जिल्लावासी जुनसुकै कामले जाल्लाबाहिर गए पनि कालीमार्सी खेती गर्नका लागि चैत महिनाको १२ गते घर पुग्नैपर्ने हुन्छ। ‘चैताबारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु’ भन्ने जनविश्वास रहेको चन्दननाथ–८ कोटिला गाउँकि ६० वर्षकै रुपसिला बोहोरा बताउँछिन्।उनी भन्छिन् दुई दशकअघिसम्म चैतको १२ गतेसम्म घर नपुग्दा जुम्लीको मृत्यु सुनिश्चित गरिन्थ्यो। यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो। चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ ।

मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ। मार्सीको रातो भातको खिर निकै स्वादिलो हुन्छ । घरका सबै दिदीबहिनी एकापसमा चिउरा कुट्ने चलन छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुन्छ । १२ चैतमा बीउ भिजाएर, १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोपिन्छ । १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ।वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ । त्यसपछि बीउ हरियो हुन्छ ।

स्थानीय भेँडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ । एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ । भदौमा झारपात उखेल्नुपर्छ । कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो, तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । सो धान पाक्न सात महिना लाग्छ ।

जुम्लामा आज धान दिवस मनाइँदै, के छ मार्सीको महत्त्व ?

कर्णालीका ६ गेमचेन्जर आयोजना समावेश हुँदै

जुम्लामा आज धान दिवस मनाइँदै, के छ मार्सीको महत्त्व ?

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित