कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु, स्थानियलाई सहज


सरला सुवेदी ।
अब कोहलपुरका स्थानियलाई स्वास्थ्य बीमा सेवाको लाभ लिनका लागि दूरदराजका अस्पतालमा सिफारिसका लागि जानुपर्ने बाध्यता हटेको छ । कोहलपुर नगर अस्पतालले स्वास्थ्य बीमा सेवा बिहीबारदेखि सुरु गरेको छ, जसले नगरका नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
गएको भदौ महिनामा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको उद्घाटन गरे । यद्यपि, केही प्राविधिक कठिनाइका कारण सेवा समयमै सुरु हुन सकिएको थिएन । अब स्वास्थ्य बीमा सेवा सुरु भएपछि, कोहलपुर नगरपालिका तथा आसपासका स्थानिय नागरिकलाई राहत मिलेको छ ।
कोहलपुर नगरपालिका वडा नं. १२ का नागरिक भगवती सुवेदीले भने, “पहिला स्वास्थ्य बीमाको लाभ लिनको लागि बैजनाथ जानु पर्थ्यो, जसले हामीलाई ठूलो असुविधा पु¥याउँथ्यो । अब हामी घर नजिकैको नगर अस्पतालबाटै यो सेवा लिन सक्छौं, जुन धेरै सहज भएको छ ।”
कोहलपुर नगरपालिका स्वास्थ्य बीमा संयोजन समितिका सदस्य र वडा नं. १२ का प्रतिनिधि कृष्ण ढकालले पनि यसलाई महत्त्वपूर्ण कदम भन्दै, “अब कोहलपुर नगरपालिका मात्र नभइ, अन्य नजिकका पालिकाका नागरिकलाई पनि नगर अस्पतालबाट सेवा प्राप्त गर्न सक्नेछन्, ” भने ।
कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले लामो समयदेखि प्रयास गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम सफलतापूर्वक सञ्चालनमा आएकोमा खुशी व्यक्त गरे । “स्वास्थ्य बीमा एक सामाजिक सुरक्षा कार्यक्रम हो, जसले नागरिकलाई अनियोजित स्वास्थ्य खर्चको जोखिमबाट बचाउने काम गर्छ, ” उने ।
कोहलपुर नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको लागू गर्ने क्रममा स्वास्थ्य बीमा बोर्डको मापदण्ड पूरा गर्दै, नगर अस्पतालबाट सेवा सुरु गरेको जानकारी पनि दिइएको छ । बीमा सेवा सुरु भएको पहिलो दिन पाँच जनाले यसको प्रयोग गरेका छन् ।






