जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१ को तयारी


कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन–२०८१ को तयारी थालेको छ । आगामी वैशाख १ गते आयोजना हुन लागेको म्याराथनको तिब्र तयारी भइरहेको हो ।
जुम्ला सदरमुकाम खलंगादेखि मुगुको राराताल सम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए।सोमबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलनमार्फत जुम्ला रारा अल्ट्रा म्याराथनको तयारी थालेको बताइएको हो ।
जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको हो।क्लबका अध्यक्ष शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको बताए ।
यो पटक गरेर पाँचौ पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुँदैछ । गत २०७५ सालमा पहिलो म्याराथन आयोजना गरिएको थियो । २०७६ सालमा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो। कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन।एक बर्षको फरकमा जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको विश्व किर्तिमानी धावक हरीबहादुर रोकाया बताउँछन्।
समुन्द्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार ३ सय मिटरको उचाइमा रहेको डाँफे लेक, ४ हजार १ सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगेर सकिनेछ ।
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्छन् । धावक रोकायाले भने,‘यो म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई कर्णाली भुमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान भइरहेको छ । यो कर्णाली चिनाउने एक राम्रो माध्यम भएको छ।’गतबर्षहरुको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३ सय ५० सम्म सहभागिता जनाउदै आएका थिए। यो पटक पनि खेलाडी १ हजार पु¥याउने लक्ष्य छ।यो पटक धावक ताथ उत्कृष्ट ४४ खेलाडीलाई पुरस्कृत गरिनेछ ।
जुम्ला रारा अल्ट्रा म्याराथनमा ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ्।यस वर्षको संस्करणका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र कर्णाली खेलकुद विकास परिषदले सहयोग गर्ने छ्।म्याराथनमा सहभागि हुने धावकको हकमा जीवन वीमा गरिएको छ ।
यस पटकको अल्ट्रा म्याराथनमा भाग लिनको लागि हालसम्म भारतका २ र बेलायतका २ जना धावकले नाम दर्ता गरेका छन् । विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएको यस्ता अघिल्ला चारवटा म्याराथनमा करिब १८ सयको हाराहारीमा विभिन्न देश मुगु र जुम्ला सहित बेलायत, नेरदल्याण्ड, भारत, इटाली र अमेरिकाबाट धावक तथा स्थानीयको सहभागिता रहेको थियोे ।
धावकले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोडबाटै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको क्लबका सचिव मधुराज न्यौपानेले बताए । म्याराथनमा सार्क राष्ट्रका धावकका लागि १४ हजार ५ सय, अन्य देशका धावकका लागि १६ हजार रुपैयाँ शुल्क लाग्ने छ ।
यस्तै नेपाली धावकको हकमा ७ हजार, स्थानीय धावकको हकमा ५ हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ। ५ किलोमिटर खुलातर्फ ५ सय, ५ किलोमिटर कर्मचारी तर्फ ५ सय र ५ किलोमिटर उद्योगि व्यवसायी तर्फ ५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने उनको भनाइ छ ।यस्तै ५ किलोमिटर १६ वर्ष मुनिका विद्यार्थी, १० वर्ष मुुनिका १ किलोमिटर बालबालिका र १ किलोमिटर ज्येष्ठ नागरिक तर्फ दर्ता निःशुल्क छ ।
४९ किलोमिटर तर्फ प्रथम हुनेले १ लाख नगद, स्वर्ण पदक र प्रमाण पत्र पाउने छन् । यस्तै द्धितिय स्थान हासिल गर्नेले ७५ हजार नगद स्वर्ण पदक र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष शाहीले बताए । तेस्रो स्थान हासिल गर्ने धावकले नगद ५० हजार, स्वर्ण पदक र प्रमाण पत्र पाउने छन् । चौथो र पाँचौ हुने धावकले २०÷२० हजार नगद र मेडल तथा प्रमाण पत्र पाउनेछ।५ किलोमिटर तर्फको प्रथम पुरस्कार ५ हजार, द्धितिय ३ हजार र तृतिय २० हजार, १ किलोमिटर बालबालिका तर्फ प्रथम पुरस्कार ३ हजार, द्धितिय २ हजार र तृतिय १ हजार, ५ किलोमिटर विद्यालय स्तरीय तर्फ प्रथम पुरस्कार ५ हजार, द्धितिय ३ हजार र तृतिय २ हजार, यस्तै १ किलोमिटर ज्येष्ठ नागरिक तर्फ प्रथम पुरस्कार ३ हजार, द्धितिय २ हजार र तृतिय १ हजार, ५ किलोमिटर कर्मचारी तर्फ प्रथम पुरस्कार ५ हजार, द्धितिय ३ हजार र तृतिय २ हजार तथा उद्योगिक व्यवसायी तर्फ ५ किलोमिटर तर्फ प्रथम पुरस्कार ५ हजार, द्धितिय ३ हजार र तृतिय पुरस्कार २ हजार प्रदान गरिने छ ।
जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले खेल क्षेत्रको विकासमा सरकार तथा विभिन्न संस्थाहरुको सहयोगको खाँचो रहेको औँल्याए । सडक मार्गका कारण पदमार्ग जोखिममा परेको भन्दै उनले पदमार्ग पनि समृद्धिको आधार हुन सक्नेमा जोड दिए । अहिले यहाँ उत्पादित खेलाडीले विभिन्न पुरस्कार जितिरहेका छन् ।
कर्णालीलाई खेलकुद संभावनाको आधार बनाउनको लागि एक महत्वपुर्ण कोसेढुंगा यो म्याराथन हुने अपेक्षा गरिएको छ ।






