बर्खाको भेलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य


सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको झण्डै दुई दशक पुगेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला राजमार्गको लम्बाइ २३२ किलोमिटर रहेको छ । वि.सं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । साँघुरो बाटो र भिरालो जमिन भएका कारण यो मार्गमा यात्रुले सास्ती भोग्दै आइरहेका छन् । राजमार्ग जोडिएपछि कर्णालीका नागरिकको जीवनस्तरमा पनि परिवर्तन भएको छ ।
राजमार्गको यात्रा यति कष्टकर छ कि कर्णालीमा यात्रा गर्न यात्रुहरुले मृत्युको मार्गको रुपमा नामकरण गर्छन् । किनकी यो मार्गमा यात्रा गर्दा भगवान् पुकार्नुपर्छ । कर्णालीको राजमार्गको अवस्था झन दयनीय छ । हिउँदको समयमा सडक डिभिजनले हरेक वर्ष बिग्रेको ठाउँमा राजमार्गका खाल्डाखुली टालटुल गर्छ । यस्तै, बर्खामा पहिरोले सडक अवरुद्ध भइरहन्छ । यस राजर्मागमा कतिपय स्थानहरूमा एक गाडीले अर्को गाडीलाई साइड दिने ठाउँ नपुग्दा घण्टौं जाम हुनेगर्छ ।
कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा सधैं उही समस्या भोग्नुपर्छ । यति मात्रै नभएर राजर्मागमा बन्दै गरेका पुल पनि बर्षाैदेखि अलपत्र छन् । जसमा आर्थिक बर्ष २०६८/०६९ देखि निर्माण कार्य सुरु भएको दैलेख आठबीस नगरपालिकाको ज्याक्सी खोलामाथीको पुल भने ११ वर्षसम्म पनि बन्न सकेको छैन ।
२ करोडमा निर्माण सुरु गरिएको सुर्खेतदेखि ११३ किलोमिटर चेनिजमा पर्ने उक्त पुल निर्माण कम्पनीको लापरवाहीका कारण ढिला भएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इञ्जिनियर टोप नारायण पौडेलले जानकारी दिए ।
पविर–सुनकोशी–सिरुवा जेभीले निर्माणकार्यको जिम्मा लिएको बताउँदै उनले कार्यालयलाई जानकारी नगराएर पुल ढलान गरि यतिकै छोडेको बताए । कन्ट्रयाक्टरले अन्य काम केही नगर्दा सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का तोडेको सूचना अधिकारी इन्जिनियर पौडेलले भने, ‘पछि कन्ट्रयाक्टरले मुद्दा लाग्यो । त्यसले गर्दा पनि काममा बाधा भयो । अहिले मुद्दाको टुङ्गो लागि सकेको छ । तर, पनि त्यसबाट गाडी सञ्चालन ग¥यो भने दुर्घटना भयो भने समस्या हुन्छ । त्यति मात्रै नभएर काम ठिक छ या छैन चेक गर्नका लागि समस्या भएको छ । चेक गर्ने प्रयास पनि गरेको हो । उसले मुद्दा हाल्यो । अहिले कुनै कन्ट्रयाक्टरले हात हाल्न खोज्दैनन् ।’ उक्त पुलको अध्ययन गरेर ठिक छ छैन भनेर मात्रै गाडी सञ्चालन गर्ने उनले बताए ।
पहिलो ठेक्का अनुसार गरेको पुलमा गरिएको सेटिङ्ग केही समयभित्र भत्किएको स्थानीय नरु जोशीले बताए । दोस्रो पटकको ठेकेदारले पनि पुल ढलान गरेर अलपत्र छोडेको उनको भनाई छ । ‘हामीले सुने अनुसार दोस्रो पटकको ठेकेदारको फर्म नै कालोसूचीमा राखेको सुनेको हो’ उनले भने,’ त्यो ठेकेदार पनि कहाँ छ कहाँ छ । पुलमा काम गरेका कामदारले अहिलेसम्म ज्याला पाएका छैनन् । यसमा कसैको पनि ध्यान गएको छैन ।’
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नरेन्द्र भट्टराई कालिकोट जाँदै गर्दा ज्याक्सी खोलामा आएको भेलका कारण घण्टौ रोकिएका थिए । खोला माथी बनेको पुल सञ्चालनमा नआउदा बर्खाको भेलमा जोखिमपूर्ण यात्रा गर्नु पर्दा समस्या भोग्नु परेको बताए । उनले भने, ‘खोला घट्ला र हामी पारी तरौला भनेको दुई घण्टा बितिसक्यो अझै घटेको छैन् । स्थानीय सरकारले यात्रुले भोक्नु परेको समस्या समाधान गर्न आग्रह गर्छु ।’
त्यस्तै, नेपाल सरकार ग्रामीण क्षेत्र विकास कार्यक्रमअन्तर्गत जुम्ला र कालीकोटको सिमानामा वि.सं. २०७४ देखि निर्माणाधीन अवस्थामा रहेको नाग्म पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इञ्जिनियर टोप नारायण पौडेलले नेपाल बताए ।
उनका अनुसार पुलको सबै निर्माण कार्य सम्पन्न भएको तर पुल वारिपारी सडक र फिनिसिङ्गको काम मात्रै बाँकी रहेको जानकारी दिए । पुल निर्माणको काम २०७८ मा सम्पन्न भएको थियो उनले भने, ‘पुलको ढलान सकेपछि स्टेचिङ्ग गर्नुपर्छ । टेन्डनहरु तनाउनु पर्ने हुन्छ । लोड दिएर तन्काएपछि पुल पड्किएको थियो । त्यसपछि पुल भत्काउन लगायौ । फेरि बनाएर ढलानको काम सम्पन्न भएको छ । यसको समाप्त म्याद २०८१ चैत ३० गते सम्मको लागि हो । त्यसलगत्तै सञ्चालनमा आउँछ ।’ नाग्म पुल र त्यससँगै तिलागुफा नगरपालिकाको छिडाना पुल गरेर ११ करोडमा सम्झौता भएको उनले बताए । हालसम्म यी दुई पुलमा ९ करोड लगानीमा निर्माण भइरहेको जानकारी दिए ।






