दशैं खर्च जुटाउन शहर धाउदै राउटे


राउटे समुदाय खस आर्य समुदायको पिछडिएको नेपालको लोपोन्मुख समुदायभित्र पर्दछ । एकै ठाउँमा स्थायी रुपमा नबस्ने यो समुदाय विशेषगरी कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा घुमन्ते रुपमा बसोबास गर्ने गर्दछन् । यो समुदायका व्यक्तीहरु प्राय जसो बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर जीवन निर्वाह गर्दै आएको भएपनि पछिल्लो समय भने राउटे समुदायको जीवन शैलि, उनिहरुले मनाउने चाडपर्व अनि परम्पराहरु परिवर्तन हुन थालेका छन् । विशेष गरेर राउटे समुदायले लठ्ठी–लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा बजाउने गर्छन् । उनिहरुले विशेष चाडपर्व र आफ्नो कुल पुजाको बेलामा आफ्नै संस्कृतीमा नाचगान पनि गर्ने गर्दछन् । विशेष रुपमा कुल पुजालाई यो समुदायले धुमधामसँग मनाउने गर्दछ भने दशैं, तिहारलाई समेत धुमधामसँग मनाउने गर्दछन् ।
आधुनिकताको दाबाबमा राउटेको संस्कृती
राउटे समुदायका व्यक्तीहरु जंगलमा पुगी काठका काषी, मदुस बनाएर गाँउमा गएर अन्न पातसँग साटेर जिविका चलाउने गर्थे । दिनभर काठका सामग्री निर्माण गर्ने कलात्मक सिप भएका राउटे समुदायका व्यक्तीले आफुले निर्माण गरेका काठका भाडा दिएर अन्नपात ल्याउने चलन रहेको भएपनि पछिल्लो समय यो हराउन थालेको राउटे समुदायका महामुखिया मैन बहादुर शाही बताउछन् । ‘हामी आफै मेहेनत कोषी, मदुस लगायतका काठका भाडा बनाउने अनि त्यही भाडा दिएर धान, गहुँ, मकै ल्याएर खान्थ्यौँ’, उनले भने, ‘अहिले सबैले त्यसो गर्न छोडिसके, सरकारले भत्ता दिन्छ, त्यही भत्ताबाट चामल किनेर खाने गर्छौ ।’ अहिले बाँदरको शिकार गर्ने काम मात्रै नभएर विभिन्न हस्तकला मार्फत बनाइने काठका भाँडाहरु समेत बनाउन छोडेको महामुखिया शाही बताउछन् ।
अर्काको घरमा बसेर नखाने, मदिरा सेवन नगर्ने यो समुदायका व्यक्तीहरु अहिले मदिराको लतमा फसिरहेका छन् । आधुनिकताको दबाबले उनिहरु परिवर्तन हुँदै त गएका छन् तर उनिहरुको संस्कृती भने हराउँदै गएको जानकारवालाहरु बताउछन् । २०६२-०६३ पछि नेपालको लोपउन्मुख रहेको यो समुदायलाई सरकारले भत्ता दिन थाल्यो । सरकारले भत्ता दिन थालेपछि राउटे समुदायका व्यक्तीहरु अल्छी मात्रै भएनन्, आफ्नो संस्कार अनुसारको काम गर्न समेत छोड्न थालिसकेको बताउनुहुन्छ नागरिक समाजका अगुवा पिताम्बर ढकाल । ‘राउटेहरु स्वावलम्वी थिए, आफ्नै सिप बेचेर अन्नपात ल्याउथे’, उनले भने, ‘अहिले त्यो अवस्था रहेन, उनीहरुलाई जब सरकारले भत्ता दिन थाल्यो, अनि एनजियो, आइएनजिओहरुले पनि सहयोग गर्न थाले, त्यसले गर्दा उनिहरु काम गर्न छोडे । काम गर्न त छोडे नै, उनिहरुले आफ्नो संस्कार संस्कृती पनि बिर्सदै गए । मलाई लाग्छ यही अवस्था रह्यो भने राउटे भन्ने अस्तित्व नै संकटमा पर्छ ।’
शैलि फेरियो:
केही वर्ष अगाडीसम्म राउटे समुदायका व्यक्तीहरुले पैसा छुदा पाप हुन्छ, भन्दै पैसा नै छुन्थेनन् । उनिहरुले बरु धान, मकै, गहुँ लगायतका वस्तु लिन्थे, त्यो पनि आफुले निर्माण गरेका काठका भाँडा दिएर । तर अहिले भने राउटे समुदायमा पैसा नै सबै थोक हो भन्ने परेको देखिन्छ । यो समुदायका प्रत्येक व्यक्तीलाई सरकारले मासिक प्रतिव्यक्ती चार हजार रकम दिन्छ । विभिन्न गैर सरकारी संस्थाले पनि त्यसैगरी विभिन्न सहयोग गरिरहेका छन् । यो समुदायको अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरुले पनि पैसा नै सहयोग गर्ने गर्दछन् ।
यसले गर्दा पैसा छुँदा पाप हुन्छ भन्ने संस्कार पालेर बसेका राउटे समुदाय अहिले पैसा नै सबै थोक हो भन्न थालेका छन् । यसले गर्दा नै कुनैबेला आत्मनिर्भर राउटे अहिले परनिर्भर बन्न थालेका छन् ।
राउटे समुदायको दशैं मान्ने शैलि पनि परिवर्तन भएको छ । कसैसँग केही नमागेर बिना पैसा आफ्नै संस्कृतीमा दशैं मनाउने यो समुदाय अहिले भने दशैं मनाउन उनिहरुलाई दिइने भत्ताले मात्रै पुग्दैन् । उनिहरुलाई दशैं खर्च छुट्टै चाहिन्छ । यो समुदायलाई अहिले दशैं खर्च जुटाउन चटारो छ । केही दिन अगाडी राउटेका मुखियाको लाइनमा रहेका दिपक शाहीसहितको तिनजनाको टोली दशैं खर्चको लागि लुम्बिनी प्रदेश पुगे । उनिहरुले केही रकम जुटाएर आए ।
दिपक भन्छन्, ‘मुखियालाई गाडीमा उल्टी हुन्छ भनेर मुखियाले हामीलाई पठाएको हो । हामी लुम्बिनी प्रदेश गएर आयौं केही खर्च दिउँला भनेर त्यहाँका पालिका अध्यक्षले भन्नुभएको छ, तर हामीलाई त्यती पैसाले पुग्दैन । प्रत्येक घरमा बोका काट्नुपर्छ, पैसा त चाहियो नी हैन र ।’ राउटे मुखिया सुर्य नारायण शाहीसहित राउटे अगुवाहरु अहिले कर्णालीका विभिन्न पालिकाहरु सहित कर्णाली प्रदेश सरकारसँग दशैं खर्च जुटाउन दौडधुव गरिरहेका छन् । ‘हामीलाई यो वर्ष दशैं मान्ने खर्च कम भएको छ’ राउटे मुखिया सुर्यनारायणले भने, ‘सरकारले दिन्छ कि भनेर आएका हौं ।’ ‘सरकारले हामीलाई खसी देला कि भन्ने आशमा छौं’, उनले भने, ‘दशैं मान्नका लागि खर्च जुटाउन हामी सबै ठाउँ भनिरहेका छौँ ।’ पैसालाई महत्व नदिने राउटे हिजो दशैंै मात्र होइन, हरेक कुरामा पैसालाई महत्व दिन थालेका छन् ।
दशैंमा रकम अभाव हुन दिन्नौँः गुराँस गाउँपालिका
राउटेलाई आफ्ना नागरिक मान्दै आएको दैलेख गुराँस गाउँपालिकाले डुप्लीकेशन नहुनेगरी संघसंस्थाहरुले राउटेलाई दशैं खर्च उपलब्ध गराइएको बताएको छ । गाउँपालिकाले राउटेले पाउने भत्ता समेत उपलब्ध गराइसकेको बताउँदै उनीहरुलाई दशैं मनाउन कुनै समस्या नहुने बताएको छ ।
गाउँपालिका अध्यक्ष टोप बहादुर विसीले भने, ‘हामीले दशैंलाई लक्षित गरेर राउटेले पाउने भत्ता उपलब्ध गराइसकेका छौँ । केही संघसंस्थाले पनि दशैं खर्च दिइरहनुभएको छ, दशैं मनाउन राउटे समुदायलाई कुनै समस्या छैन ।’
गुराँस गाउँपालिकाले राउटेलाई अस्थायी परिचयपत्र उपलब्ध गराएको छ । यो समुदायको संख्या भने घट्दो क्रममा छ । अहिले राउटेहरुको जम्मा संख्या एक सय ४१ जना मात्रै छ ।
(नेपाल प्रेस युनियन सुर्खेतद्वारा प्रकाशित दशै विशेषाङ्क ‘प्रेरणा’मा टेकराज केसीद्वारा लेखिएको लेख)






