कर्णाली र भेरी करिडोरबारे सम्झौता हुने आसमा कर्णालीवासी

सुर्खेत ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) मित्रराष्ट्र चीन भ्रमणमा जादै छन् ।

४ भदौ २०८० मा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्थापना दिवश समारोहमा बोल्दै प्रचण्डले आफ्नो मित्रराष्ट्र चीन भ्रमणमा उत्तर–दक्षिण चीन र भारत जोड्ने रणनीतिक महत्वको कर्णाली र भेरी करिडोर निर्माणका लागि महत्वपूर्ण सम्झौता हुने खुलासा गरेका थिए ।

प्रचण्डले कर्णालीलाई धोका दिन्छन् या आफ्नो भ्रमणलाई सफल बनाउन मित्रराष्ट्र चीनलाई उक्त करिडोर बनाउन सहमत गराउँछन् भन्ने विषय प्रचण्ड मित्रराष्ट्र चीन भ्रमणमा जान थालेपछि अहिले कर्णालीमा चर्चा भइरहेको छ ।
तेस्रोपटक हुन लागेको प्रचण्डको चीन भ्रमणलाई कर्णालीले विशेष महत्वका साथ हेरेको छ । कर्णालीवासी कर्णाली र भेरी करिडोरबारे सम्झौता हुने आसमा समेत रहेका छन् ।

प्रचण्डले कर्णालीलाई ‘जनयुद्धको आधार इलाका’ रहेकाले कर्णाली आफ्नो प्राथमिकतामा परेको भाषण दिन थालेको भने दसक भइसक्यो । तर, प्रचण्डले कर्णालीलाई समृद्धिको बाटोमा लैजाने खालको कुनै पनि योजना अगाडि सार्न सकेका छैनन् ।

गत चार मंसिर २०७९ मा सम्पन्न संघ र प्रदेश निर्वाचनको प्रचार प्रसारका क्रममा २२ कार्तिक २०७९ मा सत्ता गठबन्धनले कालीकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले आफ्नो पार्टीका महेन्द्रबहादुर शाहीलाई जिताए मन्त्री बनाएर पठाउने आश्वासन दिएका थिए । प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राख्ने पनि आश्वासन दिएका थिए । उनले कर्णाली करिडोरलगायतका सडक सञ्जालको स्तरोन्नत्ति गर्ने पनि बताएका थिए ।

सोही दिन जुम्ला पुगेका प्रचण्डले तत्कालीन पाँचदलीय गठवन्धनबाट उम्मेदवार बनेकी माओवादीकी गोमा कुँवरलाई जिताएर पठाए उनलाई पनि मन्त्री बनाउने बाचा गरेका थिए । प्रचण्डले भनेअनुसार नै कालीकोटका महेन्द्रबहादुर शाही संघ र हुम्लाका जीवनबहादुर शाही प्रदेशमा विजयी भएर आएका थिए । तर, यी दुईलाई प्रचण्डले मन्त्री बनाए न त मुख्यमन्त्री नै । प्रचण्डले भने झै निर्वाचनपछि बनेको सरकारको वजेटले पनि कर्णालीलाई प्राथमिकता पारेन ।

‘प्रदेशको मेरूदण्डका रूपमा रहेका टेरिटोरियल तथा कोरिडोर विकास अवधारणा, कर्णाली करिडोर, कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी जुम्ला शहीद कामी बुढा मार्ग, कैलाश मानसरोबर दर्शन क्षेत्रहुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्वका योजना पूरा गर्न संघीय सरकारको तर्फबाट पूर्ण रूपमा पहल हुने यहाँहरू माझ प्रतिवद्धता जनाउन चाहन्छु ।’
प्रचण्डले भनेका थिए, ‘र अर्को आज म तपाईंहरू माझ अर्को महत्वपूर्ण कुरा के भन्न चाहन्छु भने लगत्तै हुन लागेको मित्रराष्ट्र चीन भ्रमणका क्रममा कर्णाली र भेरी करिडोर निर्माणमा महत्वपूर्ण सम्झौता गर्ने तयारीमा रहेको कुरा खुलासा गर्न चाहन्छु ।’

मानव विकास सूचाङ्कको पुछारमा रहेको कर्णालीलाई समृद्धिको बाटोमा लैजानका लागि यी दुई महत्वपूर्ण सडक पूर्वाधारहरूको आवश्यकता छ । कर्णालीलाई हेर्ने काठमाडौं आँखा र कर्णालीको राजनीतिक चेतमा घाम लाग्न नसक्दा कर्णालीले समृद्धिको लय अझैसम्म पनि समाउन सकेको अवस्था छैन ।

प्रधानमन्त्री प्रचण्डको यसपालीको औपचारिक चीन भ्रमण विगतभन्दा फरक हुन सके मात्र उनको कार्यकालको सफलताको मापन गर्न सकिने राजनीतिक विश्लेषक पीताम्बर ढकाल बताउँछन् ।

कर्णाली र भेरी करिडोरबारे सम्झौता हुने आसमा कर्णालीवासी

भरुवा बन्दुकसहित एक जना पक्राउ

कर्णाली र भेरी करिडोरबारे सम्झौता हुने आसमा कर्णालीवासी

जनअपेक्षा अनुसार देश बनाउन माओवादी रुपान्तरण अभियान