हुलाक सेवामा बढ्न थाले सेवाग्राही

डाँक व्यवस्थापन कार्यालयमा आईपुगेका चिठ्ठी पत्रको विवरण संकलन गर्दै कर्मचारी । (तस्विरः पुनम वि.सी./युगआह्वान)

सुर्खेतमा अहिले चिठ्ठी पत्र पठाउनेहरुको संख्या बढ्न थालेको छ । सरकारी कार्यालय, विभिन्न संघसंस्था तथा सर्वसाधारण नागरिकले समेत सरकारको डाँक सेवा (हुलाक)लाई प्रयोग गर्न थालेका हुन् ।

प्रविधि र यसको प्रयोगकर्ताहरुको संख्या बढेपनि चिठ्ठी पत्रको आधिकारिक तथ्यांकका लागि हुलाक सेवा प्रयोग गर्ने संख्याहरु बढेको देखिन्छ ।
हुलाक निर्देशनालय, सुर्खेतको वीरेन्द्रनगर स्थित डाँक व्यवस्थापन तथा बचत बैंक शाखामा अहिले हुलाक सेवाका लागि पुग्ने सेवाग्राहीको संख्या बढेको छ । विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्दा डाँक व्यवस्थापन कार्यालयबाट ३६ हजार ६ सय ७७ वटा चिठ्ठी पत्र पठाइएको छ । यो तथ्यांक २०७७/०७८ देखि २०७९/०८० सम्मको हो । त्यसैगरी ‘बुक पोष्ट’ सेवा तर्फ पाँच सय ३६ र इएमएस सेवा तर्फ ५७ जनाले डाँक सेवा लिएको कार्यालयका खरिदार दिव्यराज खड्काले जानकारी दिए ।

खासगरी चिठ्ठी पत्र सेवा तर्फ सेवाग्राहीको संख्या अत्यधिक बढेको छ । २०७७/०७८ मा वीरेन्द्रनगरको डाँक व्यवस्थापन कार्यालय मार्फत १० हजार चार सय ४४ वटा चिठ्ठी पत्र पठाइएको थियो । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा १४ हजार चार सय ८३ वटा पुगेको छ । २०७८/०७९ मा भने ११ हजार सात सय ५० वटा चिठ्ठी पत्र पठाइएका थिए । त्यसैगरी काठमाडौंका लागि हुलाकले शुरु गरेको द्रुत सेवा अन्र्तगत इएमएस सेवा लिनेहरुको संख्या समेत बढेको छ । आर्थिक वर्ष २०७९/०८० मा ५५ जनाले यो सेवा लिएका छन् ।

किताव पठाउनेको संख्या बढ्दै

हुलाक मार्फत चिठ्ठी पत्र पठाउँदा तौलको आधारमा शुल्क लाग्छ । चिठ्ठीका लागि पहिलो २० ग्रामसम्म आठ रुपैयाँ शुल्क लाग्छ, त्यसपछि भने प्रत्येक २० ग्रामको पाँच रुपैयाँ तिर्नुपर्छ । तर किताव नै पठाउनेहरुका लागि भने हुलाकले डाँकसेवा शुल्कमा थप सुविधा दिएको छ ।

‘बुक पोष्ट’ तर्फको यो सेवामा पहिलो २० ग्रामको दुई रुपैयाँ मात्र शुल्क तिर्नुपर्छ । हुलाकले बुक पोष्ट सुविधामा न्युनतम शुल्क निर्धारण गरेपनि अहिले यो सेवा लिनेहरुको संख्या समेत बढेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा एक सय ५७ जनाले बुक पोष्टको सुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्षमा भने तीन सय ३१ जनाले यो सुविधा लिएका छन् । खासगरी उपन्यास तथा पुस्तकहरु अध्ययन गर्ने समुहले यो सुविधाबाट लाभ लिईरहेको देखिन्छ ।

तीन महिनामै चार हजार बढी चिठ्ठी पत्र पठाइयो

चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा चार हजार बढी चिठ्ठी पत्र पठाइएको छ । वीरेन्द्रनगर स्थित हुलाकको डाँक व्यवस्थापन कार्यालय मार्फत सेवाग्राहीहरुले चार हजार दुई सय १८ वटा चिठ्ठी पत्र पठाएका हुन् ।

२०८० साउन यता डाँक व्यवस्थापन कार्यालयद्वारा प्रवाह चिठ्ठी पत्र सेवा विवरण ।

साउन २ गतेदेखि असोज २२ गते सम्ममा सेवाग्राहीहरुले एक सय २८ वटा इएमएस सेवा र २२ वटा बुक पोष्ट सेवा मार्फत कागजपत्र पठाएका छन् । हुलाक निर्देशनालय मुख्य तथा सार्वजनिक, निजि तथा व्यक्तिगत हुलाक वस्तुहरु छिटोछरितो ओसारपसार गर्ने उद्देश्यले स्थापना भएको कार्यालय हो । यसलाई वि.सं. २०१८ सालमा नेपाललाई भौगोलिक विभाजन गर्ने क्रममा ७५ जिल्लागत रुपमा विभाजन गरिएको थियो । यस अघि छोटी हुलाकलाई जिल्ला हुलाकमा रुपान्तरण गरियो । यसै गरी वि.सं. २०१९ सालमा देशलाई चार विकास क्षेत्रमा विभाजन भए पश्चात हुलाक सेवाको संगठन संरचनालाई पनि त्यसै अनुरुप चार वटा क्षेत्रीय हुलाक निर्देशनालय स्थापना गर्ने कार्य भयो ।

वि.सं. २०३७ सालमा सुदुरपश्चिम हुलाक कार्यालयलाई मध्य र सूदुर दुई भागमा विभाजन गरी मध्यपश्चिमाञ्चल हुलाक निर्देशनालय, सुर्खेत र सूदुरपश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय, दिपायल स्थापना गर्ने काम भयो । हाल संघीय संरचना अनुसार हुलाक निर्देशनालयमा रुपान्तरण भइ कामकाज गर्दै आइरहेको छ ।

२३ जना हल्कारा र २२ जना हुलाकी

हाल वीरेन्द्रनगर स्थित हुलाक निर्देशनालयमा २३ जना हल्कारा र २२ जना हुलाकीको दरवन्दी छ । यसमध्ये ३६ जना हल्कारा र हुलाकी पदमा समान पदपूर्ति भएको छ । जसमध्ये हल्कारा पदमा १६ जना र हुलाकी पदमा नौं जना कर्मचारीहरु करारमा कार्यरत रहेको हुलाक निर्देशनालय, सुर्खेतका सूचना अधिकारी शोभा अधिकारीले जानकारी दिइन् ।

निर्देशनालयमा अझै हल्कारा तर्फ पाँच र हुलाकी तर्फ चार जनाको दरवन्दी खाली रहेको अधिकारीले जानकारी दिइन् ।

नेपालमै हुलाक टिकट छाप्ने तयारी

हुलाक टिकटको प्रचलन थाल्दा नेपालमै टिकट छापिने गरेको विभागका पदाधिकारीहरू बताउँछन् । प्रविधि परिवर्तन हुँदै गएपछि छपाइका लागि विदेश पठाउन थालियो ।

अब भने हुलाक टिकटहरु नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ । विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको जानकारी दिए ।

विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपैयाँ खर्च हुन्थ्यो । जनक शिक्षाले प्रति टिकट ९५ पैसामा छपाइ गरिदिने प्रस्ताव दिएको छ । विभागसँग स्टक सकिने अवस्थामा रहेको १० रुपैयाँ दरको हुलाक टिकट पहिले छपाइ गरिने छ ।

हुलाक निर्देशनालय मातहत रहेको वीरेन्द्रनगर स्थित डाँक व्यवस्थापन तथा बचत बैंकको कार्यालय । (तस्विरः पुनम वि.सी./युगआह्वान)
तपाईको प्रतिक्रिया