भूकम्पले जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति

भूकम्पले कर्णाली प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति पुगेको छ । गत कात्तिक १७ गतेको भूकम्पले छात्रावास (२) भवन चर्किएको छ ।
कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाका अनुसार भूकम्पले चार कोठे छात्रावास भवन भत्काएको हो । सो भवनमा १६ जना विद्यार्थी बसिरहेका बस्थे । अहिले दसैंतिहार विदामा विद्यार्थीहरु घर गएकोले मानवीय क्षति भएको छैन ।
तर विदा मनाएर फर्किसकेका विद्यार्थीहरु राख्न निकै कठिन भइरहेको प्रमुख थापाको भनाई छ । उक्त भवनमा जिल्ला बाहिरका विद्यार्थीहरु बसिरहेका थिए । २०३८ सालमा बनेको छात्राबास भवन जेनतेन चलिरहेको थियो ।
प्रमुख थापाले तत्काल भवन मर्मतको काम अघि बढाउन आर्थिक अभाव भएकोले समस्या भइरहेको बताए । उनले भने, ‘भवन भत्किसक्यो । विद्यार्थीहरु आउने बेला भइसक्यो । आएका विद्यार्थी कसरी राख्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।’
कर्णाली प्राविधिक शिक्षालयका अधिकांस भवनहरु जीर्ण नै छन् ।
कात्तिक १७ को भूकम्पले थर्किएका भवनहरु पनि सामान्य कम्पन आउने बित्तिकै ढल्न सक्ने देखिएको शिक्षालयले जनाएको छ ।
भवन मर्मत गर्न पहल भइरहेको प्रमुख थापाले बताए । कसैबाट सहयोग हुने अवस्था नरहेको खण्डमा पनि ऋण निकालेर भवन बनाउनुपर्ने अवस्था आउने आएको उनले बताए ।
प्रमुख थापाले भूकम्पले भत्किएको भवन निर्माणको लागि सरकारी निकायाहरु, गैरसरकारी संस्थाहरु सबैले साथ दिनुपर्नेमा जोड दिए ।





