विमानस्थल विस्तारसँगै हवाई इन्धन डिपो बन्ने


जुम्ला विमानस्थल विस्तारसँगै हवाई इन्धन डिपो स्थापनाको प्रक्रिया अघि बढेको छ । आयल निगम र नागरिक उड्डयन प्राधिकरणले चासो राखेसँगै कर्णालीकै सबैभन्दा व्यस्त र यात्रुको बढी चाप हुने जुम्ला विमानस्थलको विस्तार र डिपो स्थापनाको प्रक्रिया अघि बढेको हो ।
विमानस्थल विस्तार गर्ने भनिए पनि जग्गा अधिग्रहणमा बजेट अभाव भएपछि काम अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्षमा विमानस्थल विस्तारका लागि चार करोड ४२ लाख बजेट विनियोजन भएको छ । जग्गा अधिग्रहण नगरी विमानस्थल विस्तार सम्भव छैन ।
जग्गा अधिग्रहण र मुआब्जा व्यवस्था तथा हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाकी सांसद कान्तिका सेजुवालले निरन्तर पहल गरिरहेकी छन् ।
सोहीअनुसार सोमवार सांसद सेजुवालसहित प्राधिकरण र आयल निगमको टिम अनुगमनका लागि जुम्ला आएको थियो । निगमले गत असोज २२ गते नै जुम्ला विमानस्थलमा इन्धन डिपो स्थापना गर्न सिफारिस गरेको थियो । सोहीअनुसार अनुमगन गर्न टोली जुम्ला आएको हो ।
‘जुम्ला विमानस्थल जुनसुकै हालतमा विस्तार हुन्छ । डिपो पनि स्थापना हुन्छ । विमानस्थल विस्तारका लागि २०७६ सालमा बनेको डीपीआर अनुसार ठाउँ अवलोकनका लागि निगम र प्राधिकरणको टोली आएको हो ।
डिपोका लागि प्राधिकरणले निगमलाई जग्गा उपलब्ध गराउनुपर्ने भएकोले विमानस्थल आसपासमै जग्गा हुनुपर्ने निगमको माग छ,’ सांसद सेजुवालले भनिन्, ‘जुम्ला विमानस्थल विस्तारका लागि करिब एक सय ८३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ ।
त्यसको मुआब्जाका लागि ४८ करोड आवश्यक पर्ने अनुमान छ । तर, सरकारले ५० लाखमात्रै विनियोजन गरेको छ । कार्यविधि अनुसार एक चरणमा दुई करोड बढी छुटाउन नमिल्ने प्रक्रिया रहेछ । विमानस्थल विस्तार र डिपो स्थापना गर्न जग्गा अधिग्रहण र बजेट व्यवस्थापन नै पहिलो प्राथमिकता हो ।’
विमानस्थल अनुगमनपछि बसेको सर्वपक्षीय बैठकले २०७६ मा बनेको प्रस्तावित डीपीआर बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया यथाशिघ्र थालनी गर्ने र हवाई इन्धन डिपो स्थापना गर्न आवश्यक पर्ने जग्गा आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
जुम्लामा हवाई इन्धनको डिपो स्थापना भएपछि जुम्लाबाटै कर्णालीका अन्य जिल्लामा नियमित उडान हुनेछन् । अहिले अन्त डिपो नहुँदा जहाजलाई अनिवार्य नेपालगन्ज जानुपर्ने बाध्यता छ ।
डिपो स्थापना भए यात्रुले सहज र छिटो सेवा पाउने, जहाजको समय बचत हुने र व्ययभार न्यून हुने आशा छ । ‘जुम्ला घुमेर सिधै हुम्ला, डोल्पा वा मुगु जान चाहने पर्यटकलाई समेत राहत हुनेछ ।
अहिले जुम्ला आएका पर्यटक हुम्ला जान चाहेमा नेपालगन्ज झरेर जानुपर्ने स्थिति छ । त्यसको एकमात्र कारण जुम्लामा हवाई इन्धन डिपो नहुनु हो । त्यसैले पनि डिपो स्थापनाका लागि लागिपरेको छु,’ सांसद सेजुवालले भनिन् ।
आयल निगम र प्राधिकरणको टोली डिपो स्थापनाका लागि आवश्यक जग्गा र नियमित ढुवानी गर्न बाटोको अवस्थासमेत अवलोकन गरेर फर्किएको छ । प्राधिकरणले जतिसक्दो चाँडो जग्गा उपलब्ध गराएको खण्डमा डिपो स्थापनाको प्रक्रिया थाल्ने निगमका निर्देशक रुपक बरालले बताए ।
जुम्ला विमानस्थल विस्तारको बहस ६-७ वर्ष पहिलेदेखि चले पनि सम्बन्धित निकायको चासो भने भर्खर बढ्न थालेको छ । सांसद सेजुवाललगायत जुम्लाका अन्य सांसदको पहलमा यो कामले मूर्त रुप पाउने आशा पनि जागेको छ ।
जग्गा अधिग्रहणका लागि बजेट व्यवस्थापन गर्नु फलामको चिउरा चपाउनु जत्तिकै भएकोले सबैको पहलको आवश्यकता देखिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य बताउँछन् । उनी भन्छन्, ‘एयरपोर्ट विस्तार हुनु, डिपो स्थापना हुनु समग्र कर्णालीका लागि सुखद् कुरा हो । यो कुरा वर्षौंदेखि चले पनि कार्यान्वयन हुन सकेको छैन । वर्षेनि बजेट आउने तर फिर्ता हुने गरेको छ । त्यसैले साझा पहलबाट एयरपोर्ट विस्तारलाई गति दिनुपर्छ ।’
कर्णालीका सबै जिल्लामा उडान गर्न सहज र सुरक्षित विमानस्थल जुम्ला हो । तर, नियमित उडान नहुँदा समस्या भएको छ । हवाई इन्धन डिपो जुम्लामै भएको खण्डमा जुम्ला हुँदै हुम्ला, डोल्पा, मुगु जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि हुने आशा पर्यटन व्यवसायीको छ ।
हाल विनियोजित चार करोड ४२ लाख बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (एप्रोन) निर्माण र एप्रोनदेखि जहाजसम्म जाने बाटो (ट्याक्सी वे) लगायत संरचना निर्माण हुने जुम्ला विमानस्थलका सहायक प्रमुख सन्तोष अधिकारीले बताए । उनले भने, ‘यो बजेट जग्गा अधिग्रहणका लागि छुट्याइएको होइन । जग्गा अधिग्रहण नभए यो बजेट कार्यान्वयन हुने अवस्था छैन ।’(कारोबार)






