सिमकोटमा एक सय ८४ वटा भौतिक पूर्वाधार निर्माण

गाउँपालिकाले गरेका गतिविधिको पारदर्शीताका लागि सिमकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले सार्वजनिक सुनुवाइ गरी गत आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा पालिकाले सञ्चालन गरेका पाँच विषयगत समितिअन्तर्गतका सबै गतिविधि सार्वजनिक गरिएको योजना शाखाका अधिकृत उजिर रोकायाले बताए ।
उनका अनुसार एक सय ८४ भौतिक पूर्वाधारका योजना सम्पन्न भएका थिए भने पाँच वटै समितिअन्तर्गत पाँच सयभन्दा बढी कार्यक्रम सञ्चालन गरिएको थियो । गत आर्थिक वर्षमा ६९ करोड ३४ लाख ५४ हजार सात सय ३२ आम्दानी भएकामा ६१ करोड २४ लाख ८७ हजार ५१ खर्च भएको आयव्ययसमेत प्रस्तुत गरिएको रोकायाले जानकारी दिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वास्तविक सेवाग्राहीको उपस्थिति न्यून भएको सिमकोट गाउँपालिका–५ का स्थानीय तीर्थराज रोकायाले गुनासो गरे ।
‘जसका लागि कार्यक्रम आयोजना गरिएको हो उनीहरू नै उपस्थित नहुनु गाउँपालिकाले जानकारी गराउन कन्जुस्याइ गरेको हुनसक्छ’, उनले भने । पालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ हुम्लाले सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको थियो ।
गत आवमा पालिकाले सञ्चालन गरेका पाँच विषयगत समितिअन्तर्गतका सबै गतिविधि सार्वजनिक गरिएको योजना शाखाका अधिकृत उजिर रोकायाले बताए ।
गाउँपालिकाको काम गराई प्रति जनता सन्तुष्ट नभएको सार्वजनिक कार्यक्रमको उपस्थितिले जनाएको राप्रपाका जिल्ला अध्यक्ष विकास महतको आरोप थियो ।
यस्ता कार्यक्रम सञ्चालन गर्दा एक हप्ता अगाडि गाउँका टोलटोलमा सूचना दिनुपर्ने प्रावधान भए पनि गाउँपालिकाले त्यसप्रति चासो दिन नसकेको उनले बताए । राजनीति पूर्वाग्रह राखेर विकास नगर्न र कर्मचारी विभेद नगर्न एमाले हुम्लाका कावा अध्यक्ष डबल रावतले सुझाव दिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही कम उपस्थिति भएको विषयमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले स्थानीय रेडियोमा सूचना, वडालाई पत्राचार गर्नुका साथै र सामाजिक सञ्जालमा जानकारी दिँदा पनि सेवाग्राही नआउन दुःखद पक्ष भएको बताए ।
गाउँपालिको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाइ गरिएको उनको भनाइ थियो ।
गाउँपालिकाको उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुनसक्ने भन्दै अध्यक्ष भण्डारीले त्यसको समाधानका लागि प्राप्त सुझावलाई आगामी दिनमा लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले कार्यक्रममा उपस्थित भई सुझाव तथा सल्लाह दिने सबैलाई धन्यवाद दिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, गाउँपालिका उपाध्यक्ष सुशीला बाम (रोकाया), प्रमुख प्रशासकीय अधिकृत सुवास आले, कांग्रेस उपसभापति वसन्त रोकाया, माओवोदी केन्द्रका सचिव धर्मराज बोहरा, आठ वटै वडाका अध्यक्षलगायत विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।






