राष्ट्रघातीहरुका विरुद्ध फेरि एकपटक आन्दोलन गर्नुपर्ने यादवको भनाई


नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिका प्रसाद यादवले राष्ट्रघातीहरुका विरुद्ध फेरि एकपटक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
माओवादीले सञ्चालन गरेको तीन महिने विशेष अभियानले राष्ट्रघातीहरुका विरुद्ध आन्दोलन गर्न वातावरण निर्माण गरी रहेको बताए ।
सल्यानको बागचौरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा संकल्प सभालाई सम्बोधन गर्दै नेता यादवले काठमाडौंको सिहंदरवार गाउँ गाउँ ल्याउँदा विकृति र विसंगति पनि सँगसँगै आउदा गाउँका सिहंदरवारमा पनि समस्या देखा परेको बताए । उनले भने, ‘जनतालाई आफ्नै गाउँघरमा सिहंदरवारको अधिकार त दिलाउन सफल भयौं तर त्यस सँगसँगै केही विकृति पनि साथमा आउँदा जटिलता देखिएको छ ।’
त्यस खालका विकृतिलाई रोक्न माओवादीले सबै तहमा सजगता अपनाउदै खबरदारी गर्नुपर्ने उनको जोड छ ।
माओवादी विगतमा भन्दा अहिले बिग्रिएको स्वीकार गर्दै उनले शान्ति प्रक्रियापछि काँग्रेस र एमालेको संगतका कारण आफूहरु बिग्रिएको बताए ।
यस्तै कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले व्यवस्था परिवर्तनसँगै जनताको आथिक व्यवस्था फेर्न नसक्दा केही प्रतिगामी तत्वहरु त्यसलाई टेकेर टाउको उठाउने प्रयत्न गरी रहेको बताए ।
जनताको तीव्रतर विकासको आकाक्षांलाइ आत्मसाथ गर्न नसक्नुमा राजनीतिक अस्थिरता प्रमुख कारण रहेको बताउँदै माओवादी पार्टीलाई स्पष्ट बहुमतको आवश्यकता रहेको औँल्याए ।
जनताको अलग्एिर पार्टी बन्न नसक्ने बताउँदै नेता शाहीले माओवादीका कार्यशैली, जीवनशैली बदल्न सके पहिलेको जस्तै माओवादीलाई जनताले साथ सहयोग गर्ने दाबी गरे ।
यस्तै सल्यान जिल्ला इन्जार्च नरेश भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरु मसानघाटमा पुगेर राजतन्त्र पुनस्थापर्नाको अलाप गरी रहेको बताए । मसानघाटको मसानले गणतन्त्रलाई तर्साउन नसक्ने उनको भनाइ छ ।





