ग्राउण्ड रिपोर्ट : जाजरकोटमा एमाले एक्लै–सत्ता गठबन्धन तीन टुक्रा, जित्न नयाँ मतदाता र काँग्रेसकै भर

जाजरकोट, २६ बैशाख ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब थोरै दिन बाँकी छ । सात स्थानीय तह रहेको जाजरकोटको चुनावी मैदानमा तीन नगरपालिका र चार गाउँपालिकामा नेकपा एमाले एक्लै दुवै पदमा उम्मेदवारीसहित चुनावी मैदानमा होमिएको छ ।

पहिलो स्थानीय तह निर्वाचनमा भेरी नगरपालिका, छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाको प्रमुख, उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

माओवादी केन्द्रले नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाको प्रमुख, उपप्रमुखमा विजयी हाँसिल गरेको थियो भने नेपाली काँग्रेसले बारेकोट र कुशे गाउँपालिकाको नेतृत्व जित्न सफल भएको थियो ।

दोस्रो स्थानीय तहको निर्वाचन–२०७९ मा सत्ता गठबन्धनको केन्द्र र प्रदेशको निर्णय, निर्देशन अवज्ञा गर्दै पालिका अनुसार काँग्रेस–माओवादी केन्द्रले अनुकुलतामा स्थानीय गठबन्धन निर्माण गरेका छन् । काँग्रेस–माओवादी, माओवादी–समाजवादी र समाजवादी एक्लै चुनावी मैदानमा होमिँदा सत्ता गठबन्धन तीन टुक्रा भएको छ ।

स्थानीय गठबन्धनमा तीन वटा नगरपालिका मध्ये एउटाको प्रमुख पद काँग्रेसले लिएको छ भने दुई वटा नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रको उम्मेदवारीमा दुवैको सहकार्य रहेको छ ।

चार गाउँपालिका रहेको जाजरकोटमा नेपाली काँग्रेस–माओवादी केन्द्र सहकार्य भएका तीन वटा गाउँपालिका मध्ये दुई वटाको अध्यक्षमा नेपाली काँग्रेस र एक वटामा माओवादी केन्द्रबाट अध्यक्ष पदको उम्मेदवारीमा सहकार्य भएको छ ।

कुशे गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रको सहकार्य रहेको छ । उक्त पालिकामा समाजवादीले अध्यक्ष र माओवादीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएर सहकार्य गरेका छन् ।

सात पालिका मध्ये नेकपा एमालेका सात वटै पालिकामा प्रमुख पदमा आफ्ना उम्मेदवार छन् भने नेपाली काँग्रेसको छेडागाड, कुशे, शिवालय, बारेकोट चार वटाका प्रमुख पदमा उम्मेदवारी रहेको छ ।

नेकपा माओवादी केन्द्रको भेरी नगरपालिका, नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिका तीन वटा पालिकाको प्रमुख पदमा उम्मेदवारी रहेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले भेरी र कुशे गाउँपालिकामा प्रमुख नेतृत्वमा उम्मेदवारी दर्ता गरेको छ । सात वटै पालिकामा कसले चुनाव जित्ला, कस्ता उम्मेदवार छन् ।

कसको पल्ला भारी छ । को, को तालमेल भयो यी र यस्ता जिज्ञासाको उत्तर खोज्ने गरी सातै पालिकाको चुनावी अवस्थाको विश्लेषण गरिएको छ ।

भेरी नगरपालिका
भेरी नगरपालिकामा यस अघिको चुनावमा एमालेका चन्द्रप्रकाश घर्ती विजयी भएका थिए । काँग्रेसका सनत कुमार कार्कीलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

घर्तीले चार हजार दुई सय ९२ मत प्राप्त गरेर विजयी भएका थिए । निकटतम् प्रतिद्धन्दी काँग्रेसका कार्कीले तीन हजार सात सय ८७ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रका ढकविर रानाले तीन हजार चार सय ११ मत ल्याएका थिए । भेरीमा संगठनिक रुपमा त्रिपक्षिय प्रतिस्पर्धा छ । एमालले चन्द्रप्रकाश घर्तीलाई नै पुनः उम्मेदवार बनाएको छ भने उपप्रमुखमा सावित्री चन्दलाई अघि सारेको छ । यता काँग्रेस र माओवादीको तालमेल छ ।

नगर प्रमुखमा माओवादी केन्द्रका गगनबहादुर खड्का (जीवन) र उपप्रमुखमा काँग्रेसकी सीता जैसी मैदानमा उत्रिएका छन् । समाजवादी एक्लै चुनावी मैदानमा छन् ।

नेकपा एकीकृत समाजवादीले कमानबहादुर खड्कालाई अघि सारेको छ । यस अघि सत्ता गठबन्धनको प्रदेश स्तरीय संयन्त्रले समाजवादीलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख दिने सहमति गरेको थियो तर माओवादी र काँग्रेसमा असन्तुष्टि देखिएपछि समाजवादीलाई किकआउट गर्दै दुई दलिय गठबन्धन बनेको हो ।

मतभारको हिसावले काँग्रेस–माओवादी गठबन्धन बलियो जस्तो देखिएपनि एमाले र समाजवादीको चुनावी अभियान तिव्र गतिमा अघि बढिरहेको छ ।

धेरैले भेरीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरेका छन् । समाजवादीको संगठन खासै राम्रो नभएपनि उम्मेदवार खड्काको ब्यक्तिगत प्रभाव राम्रो रहेको छ ।

एमाले पनि सशक्त ढंगले अघि बढिरहेको छ । सत्तागठबन्धन भागबण्डामा रुमलिरहेका बेला एमालेले एक फन्को घरदैलो सकिसकेको थियो । समाजवादीले एमालेको संगठनमा खासै असर नगरेको सत्ता गठबन्धन तीन तिर फर्केका र पार्टी भित्रै चरम असन्तुष्टि भएका कारण एमालेलाई फाइदा हुने देखिन्छ ।

काँग्रेसको उम्मेदवार नभएका कारण काँग्रेसको मत चोर्न सकिने समाजवादी र एमालेको आँकलन छ । भेरीमा २२ हजार दुई सय ४९ मतदाता छन् । भेरीमा करीव ६ हजार नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाता र काँग्रेसका मतदातानै भेरीको निर्वाचनका निर्णायक शक्ति हुन् ।

नलगाड नगरपालिका
नलगाड नगरपालिकामा यस अघि माओवादी केन्द्रका टेकबहादुर रावलले काँग्रेसका छवि पन्तलाई करीब ५ सय मतको अन्तरमा पराजित गरेका थिए ।

माओवादी केन्द्रका रावलले तीन हजार चार सय १४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका पन्तले दुई हजार आठ सय ९८ मत प्राप्त गरेका थिए । एमालेका नबेन्द्र नेपालीले दुई हजार छ सय ७४ मत पाएका थिए ।

यतिवेला तेस्रो शक्ति एमाले एक्लै चुनावी मैदानमा छ । एमाले फुटको खासै असर यस पालिकामा छैन तथापी सत्ता गठबन्धनका काँग्रेस र माओवादी केन्द्रले केन्द्रिय निर्देशन अनुसार नै तालमेल गरेका छन् ।

माओवादी केन्द्रले प्रमुख र काँग्रेसले उपप्रमुख लिएर तालमेल गरेका छन् । माओवादी केन्द्रबाट डम्बर बहादुर रावत नगर प्रमुखको उम्मेदवार बनेका छन् भने काँग्रेसबाट सरिता सिंह उपप्रमुखको उम्मेदवार बनेकी छन् ।

एमालेका धर्मबहादुर शाही नगर प्रमुख र उपप्रमुखमा सुनिता बोहोरा चुनाबी मैदानमा छन् । नलगाडमा यस पटक १६ हजार पाँच सय चार मतदाता छन् । अघिल्लो निर्वाचन भन्दा करिव चार हजार नयाँ मतदाता थपिएका छन् । नलगाडमा काँग्रेसबाट नगर प्रमुख र उपप्रमुखमा बागी उम्मेदवार लडेका छन् ।

काँग्रेसका प्रदेश सदस्य वीनबहादुर सिंह नगर प्रमुख र काँग्रेसकै शुशिला शाही उपप्रमुखमा उम्मेदवारी दिएका छन् । उनीहरुले कति मत काट्छन भन्ने कुराले पनि नलगाडको चुनावी जोड घटाउन निर्धारण हुनेछ । खासमा पुराना त्यागी नेतामा पर्छन सिंह ।

तालमेल भएर काँग्रेसको भागमा परेको उपप्रमुख पाउने सिंहको आशा थियो तर नेताहरुको गुटबन्दीको शिकार बनेका सिंह अन्ततः बागी लडेरै छोडे । पार्टीले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि मानेनन् ।

माओवादी केन्द्रमा बाहिर सतहमा आउने गरी असन्तुष्टि देखिएनन् तर काँग्रेस भित्रको असन्तुष्टिले कति अर्थ राख्छ त्यहाँको चुनाव त्यसैमा निर्भर रहनेछ ।

छेडागाड नगरपालिका
छेडागाड नगरपालिकामा काँग्रेसका रत्नबहादुर खड्कालाई पराजित गर्दै नेकपा एमालेका लालबहादुर महतारा निर्वाचित भएका थिए । अहिले पनि दुवै जना आम्नेसाम्ने भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

काँग्रेसबाट खड्का छन् भने एमालेका एकल उम्मेदवार बनेका छन् महतारा । एमालेका महताराले पाँच हजार एक सय ३६ मत प्राप्त गरेका थिए भने काँग्रेसका रत्नबहादुर खड्काले चार हजार तीन सय ४७ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रका चन्द्रबहादुर थापाले दुई हजार छ सय ६८ मत प्राप्त गरेका थापा अहिले गठबन्धनबाट उपप्रमुख उम्मेदवार बनेका छन् । एमालले अन्जुकुमारी थापालाई उपप्रमुखमा अघि सारेको छ । काँग्रेस, एमाले र समाजवादीको मत जोड्दा गठबन्धन बलियो देखिन्छ ।

छेडागाडमा समाजवादीका केन्द्रिय सदस्य कृष्ण विसीको समेत प्रभाव रहेकोले गठबन्धनमा बेइमानी नभए पल्ला भारी देखिन्छ तर समाजवादीलाई समानजनक पद नदिएको काँग्रेसकै खडक विसी, रत्न अधिकारी लगायतका नेताहरु टिकट नपाउँदा असन्तुष्ट छन् ।

छेडागाडमा २० हजार चार सय ६१ मतदाता छन् । छेडागाडमा करिव चार हजार नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाता, माओवादी केन्द्र र समाजवादीको भूमिका, काँग्रेसकै असन्तुष्ट पक्षको भूमिका आदि कुराले चुनावी परिणाम प्रभावित हुन सक्ने आँकलन गरिएको छ ।

बारेकोट गाउँपालिका
बारेकोट गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा १९ मतको झिनो अन्तरमा नेपाली काँग्रेसका महेन्द्र बहादुर शाहले माओवादी केन्द्रका तिलक रावतलाई पराजित गरेका थिए ।

शाहले दुई हजार एक सय ४८ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्धन्दी रावतले दुई हजार एक सय २९ मत प्राप्त गरेका थिए । एमालेका मीमबहादुर सिंहले पनि कडा टक्कर दिएका थिए ।

उनले दुई हजार एक सय सात मत प्राप्त गरेका थिए । उक्त मत परिणाम हेर्दा बारेकोटमा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । तीनै जनाको मत अन्तर थोरै छ । तर यो चुनाबमा सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) सहित काँग्रेस र माओवादीको तालमेल भएको छ भने एमाले एक्लै मैदानमा छ ।

सत्ता गठबन्धनबाट काँग्रेसका महेन्द्रबहादुर शाह अध्यक्ष र माओवादी केन्द्रका नरबहादुर गिरी उपाध्यक्षमा चुनाव लडेका छन् । एमालेबाट अध्यक्षमा वीरबहादुर गिरी र उपाध्यक्षमा गिता सिंह उम्मेदवार बनेका छन् । बारेकोटमा अहिले ११ हजार एक सय ५० मतदाता छन् ।

गत स्थानीय तहको निर्वाचन भन्दा करीव दुई हजार पाँच सय नयाँ मतदाता थपिएका छन् । बारेकोटमा माओवादीका तिलक रावत लगायतको टिम असन्तुष्ट छ भने काँग्रेसमा प्रदेश सदस्य कमलदीप पुुनको टिम असन्तुष्ट छ ।

कुशे गाँउपालिका
कुशे गाँउपालिकामा २०७४ सालको निर्वाचनमा एमालेका तप्तबहादुर हमाललाई करिव पाँच सय मतको अन्तरले पराजित गदै काँग्रेसका हरिचन्द्र बस्नेत निर्वाचित भएका थिए । बस्नेतले दुई हजार पाँच सय आठ मत प्राप्त गरेका थिए भने हमालले दुई हजार ४४ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रका जनकराज गौतमले एक हजार आठ सय १५ मत प्राप्त गरेका थिए । यस पालिकामा काँग्रेस र एमाले एक्ला एक्लैै मैदानमा छन् भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले तालमेल गरेर मैदानमा उत्रिएका छन् ।

काँग्रेसका हरिचन्द्र बस्नेत अध्यक्षमा पुनः उम्मेदवार बनेका छन् भने उपाध्यक्षमा देविका सिंह मैदानमा उत्रिएकी छन् । एमालेबाट प्रेमप्रसाद घर्ती अध्यक्ष र उपाध्यक्षमा टीका वली मैदानमा छन् ।

समाजवादी र माओवादी गठबन्धनबाट अध्यक्षमा समाजबादीका तप्त हमाल र उपाध्यक्षमा विकास रोकाय मैदानमा उत्रिएका छन् । हमाल यस अघिको निर्वाचनमा एमालेबाट उम्मेदवार थिए र उनी पाँच सय मतको अन्तरले पराजित भएका थिए ।

कुशेमा समाजवादीको प्रभाव राम्रै भएकोले र माओवादीसँग तालमेल भएका कारण पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्रिपक्षीय प्रतिस्पर्धा रहेको कुशेमा भेगको हिसावले एमालेका घर्ती एउटा भेगको प्रतिनिधित्व गर्छन जहाँ भोट पनि धेरै छ । काँग्रेस र समाजवादीका उम्मेदवारको भेग क्षेत्र एउटै पर्छ ।

जसका कारण भेगिए भोट तान्न समस्या पर्ने देखिन्छ । टिकट वितरणमा काँग्रेसमा अलि धेरै असन्तुष्टि समेत देखिएको थियो । २०७४ सालमा निर्वाचित गाउँपालिका उपाध्यक्ष रामछाया शाही र पत्रकार भीमबहादुर सिंह अध्यक्षको टिकटको दौडमा थिए ।

शाही र सिंहले टिकट नपाउँदा उनीहरु रुष्ट छन् । शाही प्रचार प्रसारमै छन् तर सिंह निश्क्रिय देखिएका छन् । सामाजिक सञ्जालमा असन्तुष्टि प्रकट गरिरहेका छन् ।

जसको असर चुनावमा समेत देखिन सक्ने स्थानीयको भनाई छ । कुशेमा १२ हजार ४२ मतदाता छन् । करिव तीन हजार मतदाता थपिएका छन् । नयाँ मतदाता पनि कुशेमा निर्णायक हुन सक्छन् ।

जुनीचाँदे गाँउपालिका
जुनीचाँदे गाँउपालिका यस अघिको चुनावमा माओवादी केन्द्रले जितेको हो । माओवादी केन्द्रका कृष्णबहादुर केसीले दुई हजार सात सय ७० मत प्राप्त गरी विजयी भएका थिए । निकटतम प्रतिद्धन्दी एमालेका वेदबहादुर शाहीले दुई हजार दुई सय ७४ मत प्राप्त गरेका थिए ।

काँग्रेसका सर्पराज रावतले एक हजार नौ सय १८ मत पाएका थिए । अहिले माओवादी र काँग्रेसको गठबन्धन छ । माओवादीले निवर्तमान उपाध्यक्ष शिवा आचार्यलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा काँग्रेसका विरेन्द्र शाही उम्मेदवार भएका छन् ।

एमालेबाट वेदबहादुर शाही अध्यक्ष र अम्बाकुमारी शाह उम्मेदवार बनेका छन् । त्यस्तै माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दुर्गबहादुर शाही दामोदर अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनलाई यस अघिका अध्यक्ष कृष्णबहादुुर केसीको साथ छ ।

केसीलाई घुस लिँदा लिँदै अख्तियारले रंगे हात पक्राउ गरेपछि उनी दुई बर्ष अघि नै निलम्बनमा परेका थिए । एमालेले पुरानै उम्मेदवार दोहो¥याएको छ भने काँग्रेसको साथ लिएको माओवादी केन्द्र आफ्नै बागी उम्मेदवारको सामना गर्नुपर्ने चुनौति देखिएको छ ।

जुनीचाँदेमा अहिले १२ हजार एक सय ५१ मतदाता रहेका छन् । जुनीचाँदेमा करिव तीन हजार नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाता, निवर्तमान अध्यक्ष, बागी उम्मेदवार र काँग्रेसका मतदातानै जुनीचाँदेको निर्वाचनमा निर्णयक शक्ति हुन् ।

शिवालय गाँउपालिका
गत स्थानीय तहको निर्वाचनमा काँग्रेसका खडक बहादुर बुढालाई करिव दुई सय मतान्तरले पराजित गर्दै एमाले नरेन्द्र बहादुर शाही शिवालय गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

शाहीले दुई हजार ७३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्धन्दी काँग्रेसका बुढाले एक हजार आठ सय ३३ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका लालबहादुर थापाले एक हजार दुई सय ५० मत प्राप्त गरेका थिए ।

अहिले एमाले एक्लै मैदानमा छ भने काँग्रेस र माओवादीको तालमेल छ । काँग्रेसका शेरबहादुर शाही अध्यक्ष र माओवादी केन्द्रकी गिता शाही उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । शिवालयमा अहिले नौ हजार तीन सय १२ मतदाता छन् ।

शिवालयमा करिव दुई हजार नयाँ मतदाता थपिएका छन् । शुरुमा सत्ता गठबन्धनले शिवालय माओवादी केन्द्रको भागमा पारेको थियो । काँग्रेसले कमजोर संगठन भएको माओवादीलाई जिताउन नसकिने भन्दै एक्लै भएपनि चुनाव लड्ने निर्णय गरेपछि माओवादी उपाध्यक्ष लिएर भएपनि गठबन्धन गर्न राजी भएको हो ।

एमालेले अध्यक्षमा रंगनाथ योगी र उपाध्यक्षमा नैनसरा शाहीलाई अघि सारेको छ । यहाँ पनि समाजवादीको खासै प्रभाव छैन ।

एमालेमा टिकटका लागि वर्तमान अध्यक्ष नरेन्द्र शाही, उपाध्यक्ष कुमारी थापा, इन्द्रबहादुर थापा लगायतले लविङ गरेका थिए । नयाँ मतदाता, गठबन्धनको इमान्दारिता, एमालेका असन्तुष्ट पक्षको भूमिका आदिले शिवालयको मत परिणाम प्रभावित हुन सक्छ ।

ग्राउण्ड रिपोर्ट : जाजरकोटमा एमाले एक्लै–सत्ता गठबन्धन तीन टुक्रा, जित्न नयाँ मतदाता र काँग्रेसकै भर

निर्वाचन सुरक्षाका लागि मुगुमा एक हजार १६५

ग्राउण्ड रिपोर्ट : जाजरकोटमा एमाले एक्लै–सत्ता गठबन्धन तीन टुक्रा, जित्न नयाँ मतदाता र काँग्रेसकै भर

आफ्नो विचारलाई बुझ्ने बुद्धिजीवि नेपालमै नभएको ओलीको

Leave a comment

Your email address will not be published. Required fields are marked *