सम्पादकीय : खेलकुदलाई प्राथमिकता

कर्णाली भौतिक पूर्वाधारमा कमजोर छ । सम्भावना धेरै भए पनि अवसर नपाउँदा कर्णाली कमजोर बन्यो । विकासका अवसरबाट बञ्चित गराइएको कर्णालीमा खेलुदका पूर्वाधार पनि पर्याप्त छैनन् । यहीकारण त कर्णालीले हालसम्म राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता संचालन गर्न सकेको छैन। गतिलो पूर्वाधार नभएकै कारण हालसम्म कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता नै आयोजना गर्न नसकेको हो । चाहना र इच्छाशक्ति भएर पनि कर्णालीले ठूला प्रतियोगिता संचालन गर्न सकेन । त्यतिमात्र होइन, यहाँका खेलाडीले पनि पूर्वाधार अभावमा धेरै समस्याहरु भोगिरहेका छन् । महिले पनि यहाँका खेलाडीहरु धुलोमै अभ्यास गर्न बाध्य छन् ।
निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगिताले खेलकुदको विकासमा केही टेवा पुगेको छ । तर पनि सरकारी तवरबाट कर्णालीमा खेलकुदका पूर्वाधार विकासमा खासै चासो दिएको देखिदैन । बरु खेलाडीले पूर्वाधारको अभावमै भए पनि अभ्यास गरेर राम्रो नतिजा दिइरहेका छन् । तर अब राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्ने कसरतमा कर्णाली जुटेको छ । यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकार जुटेको हो । कर्णालीले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने योजना बनाएको छ ।
यसैको तयारी स्वरुप प्रदेश सरकारले कर्णालीमा खेलकुदका भौतिक पूर्वाधारहरु निर्माण गर्न थालेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नकै लागि प्रदेश सरकारले खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो । यसअन्तर्गत दुई वटा ठूला खेलकुदका पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय रंगशाला र रुकुमपश्चिमको चौरजहारीमा क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढेको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै सञ्चालन गर्न मिल्नेगरी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको काम सुरु भएको छ । जुन सुखद् समाचार हो ।
वीरेन्द्रनगरमा बन्ने यो रंगशालामा १० हजार दर्शक अट्नेछन् । यही रंगशालामा अन्तर्राष्ट्रिय स्तरको भलिवल खेल मैदान, स्वीमिङ पुल, फुटवल, ह्याण्ड वल, बास्केट वल र एथ्लेटिक्स लगायतका प्रतियोगिता संचालन गर्न सकिनेछ । त्यस्तै रुकुमपश्चिमको चौरजहारीमा पनि क्रिकेट रंगशाला बन्ने भएको छ । क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले पाँच करोड रकम पठाइसकेको छ । चौरजहारीमा डीपीआर र जग्गा प्राप्ति लगायतका कामहरु अगाडि बढेका छन् । क्रिकेट रंगशाला निर्माणको काम पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु अगाडि नै सक्ने लक्ष्य छ । खेलकुदका पूर्वाधार निर्माण गर्न भन्दै प्रदेश सरकारले प्रदेशका हरेक जिल्लामा एक÷एक करोडका दरले बजेट पठाएको छ ।
उक्त बजेटबाट जिल्लामा नयाँ खेल मैदान निर्माण, खेल मैदानका लागि डीपीआर र अघिल्ला आर्थिक बर्षमा अधुरा रहेका आयोजना पुरा गर्ने कार्यमा खर्च गरिने छ । वास्तवमा पछिल्लो समय कर्णाली सरकारले यहाँको खेल पूर्वाधारमा गरेको लगानी र थालिएका योजनाहरुले प्रदेश सरकारले खेलकुदलाई पनि प्राथमिकता दिएको देखिन्छ । बरु अब प्रदेश सरकारले अगाडि सारिएका यी आयोजनाहरु समयमै निर्माण गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।
यो पनि पढ्नुहोस :-






