एन्फा कार्यकारी समितिको आकस्मिक बैठक आज

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ। साफ च्यान्पियनसिप र राष्ट्रिय टोलीका प्रशिक्षकले घोषणा गरेको राजीनामाको विषयमा छलफल गर्न कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।
आज अपरान्ह ४ बजे बस्ने बैठकमा साफ च्यान्पियनसिपका साथै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाह अलमुताइरीले सम्झौता अवधि बाँकी रहँदै सामाजिक सञ्जाल मार्फत् घोषणा गरेको राजीनामाको विषयमा छलफल हुने एन्फाले जनाएको छ।
प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण आफूले राजीनामा गर्नु परेको उल्लेख गरेका थिए।
्
उपाध्यक्ष नेम्वाङले प्रशिक्षक अलमुताइरीले आफ्नो चरित्र हत्याको प्रयास गरेको भन्दै छानबिन गर्न माग गरेका छन्। यस्तै बैठकमा नेपालमा १३ औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो।
प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड(१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो।






