रुकुम महिला हत्या प्रकरण : दुई नाबालक पक्राउ

रुकुम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका– ४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ ।
विहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर त्रिवेणी गाउँपालिका– ४ का १५ र ११ बर्षका दुईज नानाबालकलाई प्रहरीले सार्वजनिक गरेको हो । बुधबार ३ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले आज दुई जनालाई हत्यामा संलग्न भएको बताएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा प्रतिवादीद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी कर्तव्य ज्यान गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।
उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहना समेत लिएको डिएसपी श्रेष्ठले बताए । उनीहरुका साथै १५ बर्षिय प्रतिवादीको घरबाट सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको टुक्की फुलि १ थान र हसिँया खुर्पा १ थान बरामदगरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।
गएको सोमबार राती मनकलाको त्रिवेणी गाउँपालिका–३ मा मकैबारीमा शब भेटिएको थियो । उक्त हत्या भएको प्रहरीले पुष्टि गरिसकेको छ । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजी भयो । खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल शव भेटिएको थियो । पक्राउ परेकाहरु मृतकका भतिजा हुन । उनिहरु सहोदर दाजुभाइ हुन ।






