शिरमाथि झुण्डिएको तरबारजस्तै गणतन्त्र

संकेत कोइराला । गौतम बुद्ध कतै गइरहेका बेला एउटा मानिसले सोध्यो, ‘ईश्वर छ ?’ बुद्धले उत्तर दिए, ‘छैन ।’ दिउँसो अर्को मानिसले सोध्यो, ‘जहाँसम्म मलाइ लाग्छ ईश्वर छैन । यसमा तपाईंको के विचार छ ?’ बुद्धको उत्तर थियो, ‘छ’ त्यही साँझ अर्को मानिसको जिज्ञासा राख्योे, ‘ईश्वर छन् या छैनन, म त अलमलमा छु ।
तपाईंले भनिदिप¥या े।’ उसंग तथागतले भने, ‘चुप रह्यौ भने असल हुनेछ, न छ, न छैन ।’ बुद्धका तीनथरी भनाइ सुनेपछि सँगसँगै हिँडेका भिक्षु आनन्द अघोर आश्चर्यमा परे । रात्रिकालीन सत्संगमा उनले भने, ‘म त पागल भइसकें प्रभु । ईश्वरको सम्बन्धमा बिहान तपाईंले भन्नुभयो, छैन । दिउँसो भन्नु भो छ., फेरि साँझ भनिदिनु भो, न छ न छैन । म के सम्झूँ प्रभु ?’
सुमधुर वाणीमा बुद्धले जवाफ दिए, ‘बिहान मलाई प्रश्न सोध्ने मानिस आस्तिक थियो । ऊ चाहन्थ्यो म उसको हो मा हो मिलाइदिन्छु । ऊ फगतः आफ्नो सूक्ष्म अहंकारलाई तृप्त गर्न आएको थियो कि बुद्ध पनि त्यही मान्दछन् जुन म मान्दछु । त्यसैले मैले उसलाई भनिदिएँ, छैन । जसलाई सत्य थाहा छ, उसले अरुको स्वीकृति खोज्दैन । दिउँसो जो मानिस आएको थियो, त्यो नास्तिक थियो । ईश्वर छैन भन्ने उसको ठम्याइ थियो । उसलाई मैले भन्नुप¥यो, छ ।
उसको पनि खोज रोकिएको थियो । ऊ पनि मबाट नास्तिकताको स्वीकृति लिन आएको थियो । साँझ आएको मानिस न आस्तिक थियो, न नास्तिक नै । उसलाई यी दुवैको बन्धनमा बाँध्नु उचित थिएन । न छ बाधक, न छैन बाधक। त्यसैले मैले भनें, चुप रहू न छ न छैन ।’ बुद्धको भनाइ सुनेर आनन्द चुप भए । अहिले भगवान् बुद्ध प्रकट भएर व्याख्या गरिदिने भए सम्भवतः हाम्रो संघीयताको परिभाषा पनि यस्तै मौसमी हुन्थ्यो होला ।
शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल र पुष्पकमल दाहालले यस्तै बेतुकको प्रश्न तेस्र्याउँथे होलान् । सडकले ललकारेर ल्याएको लोकतन्त्र सडकमै द्रौपदीको चीरहरण भएजस्तै विसर्जन हुने अवस्था आउनु भनेको यस्तै स्वीकृति खोज्न शक्तिकेन्द्र धाउनुको परिणति हो । अब आधा दशक पनि पर्खिनु पर्दैन संघीयताका मुखिया स्वयं यसको पदवी र बर्दी फुकालेर आत्मसमर्पण गर्नेछन् । संघीयता यस्तो काउसो साबित हुनेछ कि यसले मानिसको नैसर्गिक अधिकार छिन्नेछ । सामाजिक अनुशासन र मर्यादा रसातल पु¥याउने छ ।
दुई हप्ताअघिसम्म केपी ओलीका लागि अहिलेको लोकतन्त्र जताततै तोरी फुलेजस्तै फुलेको थियो । संसारको कुनै शक्तिले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गर्न सक्छ भन्ने दम्भ थियो । त्यतिमात्र हैन, आफूले बोलेका वाक्य ब्रह्मवाक्य हो भन्ने भ्रान्तिले विवेकको भाँडोमा बिर्को लगाइदिएको थियो । यो दोष ओलीको हैन सत्ता र शक्तिको हो । ओलीले देखेको सत्ता र शक्तिको रौस अहिले शेरबहादुर देउवामा चढेको छ ।
शेरबहादुरले देख्न थालेको सत्ता र शक्तिको सुन्दर बगैंचामा ओली जताततै सिउँडी देख्न थालेका छन् । आफू सत्तामा हुँदा देखेको समतल बाटो अहिले पावरदार चस्माबाट हेर्दा पनि तारेभीर देखिन्छ । कांग्रेसजनभित्रको सायद यही मनोदशा बुझेर बीपी कोइरालाले उतिबेलै ‘दोषी चस्मा’ कृति लेखेका रहेछन् । प्रचण्डका लागि मौजुदा गणतन्त्र जग्गा दलालले लिने फाइदाजस्तै भएको छ । दलालले किन्ने र बेच्ने दुवैबाट भ्याएजस्तै राजनीतिक चित र पोट दुवैमा दाउ लाउन माओवादी सफल छ । गणतन्त्र नामको डबलीमा उसले हिङदेखि हर्दीसम्मको व्यापार भ्याएको छ ।
सपनामा नचिताएको प्राप्तिले दुईचार जनाको तिर्खा मेटिए पनि आमजनताका लागि गणतन्त्र शिरमाथि झुण्डिएको तरबारजस्तै भएको छ । लोकतन्त्रलाई २–४ जनाको बग्गी बनाइँदा त्यो देउवा, ओली, नेपाल र दाहाल टावरमा सीमित भयो । बरु निरंकुश भनिएका शासकहरुले कमसेकम उनीहरुको प्यारीको नाममै किन नहोस् पुतलीसडक बनाए । काकाकुल काठमाडौंभित्र रानीपोखरी खनिदिए । देशको प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय उनीहरुकै नाममा बन्यो । संसारलाई जोड्ने विमानस्थलदेखि गरिबका सन्तानले कम्तीमा खुट्टा राख्न हिम्मत गर्ने वीर अस्पताल तिनैले बनाए ।
भनेको पैसा पाए छत पनि बेच्न पाए हुन्थ्यो भन्ने हुटहुटी बढ्न लागेको काठमाडांैको मनोविज्ञानभित्र सरापेरै भए पनि रत्नपार्क नै सुस्ताउने अखडा बनिरहेको छ । गणतन्त्रको पीडाले डामिएका जनतामा अब राणा, राजा र पञ्चेलाई सराप्ने सामथ्र्य थोरै पनि बाँकी छैन । धरहराभन्दा अग्लो स्मारक नबनेपछि ढलेकै भए पनि त्यसकै स्मरणमा रमाउनु दैनिकी बनेको छ । जुन प्रवृत्तिविरुद्ध आन्दोलन गरिन्छ, आन्दोलन सफल भएको भोलिपल्ट उसैसँग सहभोज सुरु हुन्छ । हो, बेथितिको बिउ यहींबाट रोपिन्छ ।
संसारका कुनै पनि सफल क्रान्तिपछि क्रान्ति विरोधीलाई चुलोचौकामा बसालिन्न । बरु तिनीहरुलाई सजाय दिइन्छ । समयले उनीहरुको मनमस्तिष्क धोएपछि परिवर्तित राजनीतिको भावधारामा बग्ने अवसर पाउनु अलग विषय हो । लोकतन्त्र समर्थक भनेकाहरुले जिन्दगीभर सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापाहरुलाई शत्रु देखे । यिनीहरुको पतन भएका दिन आफ्नो उत्थान हुने सपना पाले । आखिर परिवर्तन पनि भयो ।
तर दुर्भाग्य परिवर्तनको आधा दशक नबित्दै तिनै व्यक्तिहरु देशको कार्यकारी हुन पुगे । लोकतन्त्र सत्ता र लाहुरेको भर्ती होइन भन्ने आत्मज्ञान कहिल्यै प्रवाहित भएन । प्रचण्ड र कमल थापाको चुलौचोको एउटै हुनु रहेछ भने क्रान्तिको जामा लगाएर त्यत्रा मानिसमाथि तरबार किन चलाउनुपथ्र्यो ? सम्भवतः यो प्रश्नको उत्तर स्यालको सिङ पाउनुभन्दा कठिन छ । बिरालो जुन रङको भए पनि उसको सामथ्र्य मुसा मार्नुमा भएजस्तै जुनसुकै दलका नेता भए पनि राजनीतिक धन्दा फस्टाएको आधारमा उनीहरुको वजन निर्धारण हुने गर्छ ।
एकथरीले खाएको देखेर अर्को थरीलाई भाउन्न भएर सडकमा निस्किएर उपद्रो मच्चाउने अनि त्यसलाई शान्त पार्न भएको सम्झौतालाई क्रान्ति भनिँदा त्यो क्रान्तिले कसैलाई धोका दिनबाट बाँकी राखेन । मुलुकका हरेक क्रान्ति पाँच सय परिवारभन्दा माथिकाले उपयोग गर्न पाएनन् । लोकतन्त्रमा तिनै टाठाबाठा रमाए । कुखुराको भाले जसरी गरिबका छोरा लडाएर, भिडाएर तमासा हेर्ने काममा तिनीहरु नै अगाडि देखिए ।
लोकतन्त्रको पहिलो सर्त भनेको समभाव हो । पोसाक एउटै लाएर समानता आउँदैन । यसो हुँदो हो त फौजीमा जुनियर डग र सिनियर गडको मान्यता स्थापित हुने थिएन । सिंहदरबारमा सरकारी कर्मचारीले पनि समान पोसाक त लाएका छन् । तर हेराइ झन्झन् भिरालो पर्दै गएको छ । दृश्यमा कर्मचारी देखिए पनि तिनीहरुमा दलीय प्रतिनिधिको राग बढी छ । हामीले खोजेको परिवर्तन भनेको ठूला गाडीहरु सिंहदरबारभित्र पसून् ।
त्यो गाडीको अघिल्लो सिटमा सचिव, दोस्रोमा सहसचिव, तेस्रोमा उपसचिव हुँदै अन्त्यमा कार्यालय सहायक बसून् । कार्यालयमा आज सम्पादन हुने कामको बैठक त्यहीं सकियोस् । एकले अर्कालाई हाकिम हैन, साथी हो भन्ने हार्दिक भावना विकास होस् । तर त्यतातिर जाने त परै जाओस् सोच्नु पनि अपराधजस्तो ठानियो। यस्तो विचार राख्नेहरु आफ्नै समूहमा अपमानित भए ।
सिंहदरबारमा परेको असिनापानीले जनताको बाली नास गर्ने नै भयो । फलस्वरुप ५० डिग्री तापक्रममा ऊँटको लिदी सोरेर पठाएको पैसा पनि आइफोन, टीभी, भिडियो जस्ता सामान किन्नमै सकिने गरेको छ । सिंहदरबारको यही बेथितिले हिउँ जस्तो कलकल पानी बग्ने ठाउँका नेपाली पनि मिनरल वाटर, कोकाकोला र इनर्जी ड्रिंकका भोगी भएका छन् ।
कोकका बोतलका सबै पैसा विदेशीका हुन् भन्ने हेक्का राज्यले दिन उचित ठानेन । किनकि हाम्रो राजनीतिले आफ्नो यात्रा तिनीहरुलाई रोक्ने हैन, बोक्नेतर्फ तय ग¥यो । गाडीमा राष्ट्रिय झण्डा हल्लाए पनि एउटा अमुक व्यक्ति या शक्तिले कोरिदिएको रोडम्याप बोकेर मन्त्री बन्नेक्रम सुरु भयो । त्यसपछि त के थियो र ? एउटा मन्त्री र खेतालाको अन्तर खुटिन छोड्यो । (नेपाल सयमबाट)






