कर्णालीका एघार स्थानमा सुपथ मूल्य पसल खोल्ने तयारी

सुर्खेत । कर्णाली प्रदेशलाई वार्षिक तीन लाख ५२ हजार एक मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । तर, प्रदेशमा एक वर्षमा तीन लाख २६ हजार पाँच सय ७३ मेट्रिकटन मात्र उत्पादन हुन्छ । जसकाकारण कर्णालीलाई हरेक बर्ष २५ हजार चारसय २८ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ ।

प्रदेशका दश जिल्ला मध्ये सुर्खेत, रुकुमपश्चिम र सल्यान जिल्लामा मात्र स्थानीय उत्पादनले धान्छ । बाँकी जिल्लामा हरेक वर्ष खाद्यान्न अभाव हुन्छ । यहीकारण सरकारले खाद्य संस्थाबाट (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) ले खाद्यान्न आपूर्ति गर्छ ।

कम्पनीले खाद्यान्न आपूर्ति गरे पनि प्रदेशमा वार्षिक कार्यतालिका जस्तैगरी असार, साउन, भदौ र असोज महिनामा कर्णालीका कुनै न कुनै ठाउँमा खाद्यान्न अभाव हुन्छ । किनकी खाद्यान्न संकट हुने क्षेत्रमै कम्पनीका डिपोहरु छैनन् । डिपोहरु नभएकै कारण गाउँमा बाह्र महिना खाद्यान्न आपूर्ति हुँदैन ।

ढुवानी गर्ने कम्पनीले ति क्षेत्रमा बर्षमा तीन÷चार पटक खाद्यान्न आपूर्ति गर्छन् । र तत्काल बिक्री हुन्छ । तर बर्षभरी पुग्ने चामल स्थानीयले एकै पटक किन्न सक्दैनन् । बर्षभर पुग्ने चामल किन्नलाई न स्थानीयसँग रकम नै हुन्छ । अर्काेतर्फ आर्थिक वर्ष भर्खर सकिन्छ । आर्थिक बर्ष सकिएका कारण असारदेखि मंसिरसम्म खाद्यान्न ढुवानी हुँदैन । नीति तथा कार्यक्रम बनाउन, चामल खरिद गर्न र रकम निकासा हुँदासम्म मंसिर महिना कट्छ ।

टेन्डर गरेर ढुवानी गर्दासम्म पुस महिना कट्छ । यही कारण हरेक बर्ष असार, साउन, भदौ र असोज महिनामा खाद्यान्न अभाव देखिन्छ । बर्षायाममा सदरमुकाममा रहेका शाखामा चामल भए पनि ढुवानी गर्न सकिदैन । परिणामतःकर्णालीका दुर्गम क्षेत्रका नागरिकले खाद्यान्न अभाव झेल्नुपर्छ । यही समस्या समाधानका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दीर्घकालीन उपायको खोजी गरेको छ ।

कम्पनी र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सक्रियतामा खाद्यान्न संकटग्रस्त क्षेत्रमा सुपथ मूल्य पसल राखिने तयारी गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतको सिफारिसमा डब्लुएफपीले कर्णाली प्रदेशका ११ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । डब्लुएफपी र कम्पनीसँग सुपथ मूल्य पसल सञ्चालनका सहमति भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए ।

हाल डब्लुएफपीले सुपथ मूल्य पसल सञ्चालनका लागि लगानी जुटाउने र पसल रहने स्थानको विस्तृत अध्ययन थालेको छ । सुपथ मूल्य पसलमा दाल, चामल, नुन, तेल लगायत खाद्यान्न उपलब्ध गराइने छ । पसल सञ्चालनमा आएपछि ठेकेदारले ढुवानी गरेको समयमा चामल किन्न नसक्ने स्थानीयलाई ठूलो राहत मिल्नेछ ।

सुपथ मूल्य पसलले स्थानीय उत्पादन समेत पसलले खरिद गर्नेछ । उत्पादन भएको समय खरिद गर्ने र अभाव भएको समयमा त्यहीका स्थानीयलाई बिक्री गरिनेछ । तर सोही ठाउँमा बिक्री नहुने स्थानीय उत्पादन सुपथ मूल्य पसलले कर्णाली बाहिर लिएर बिक्री गर्नेछ । सुपथ मूल्य पसल सञ्चालन गरेको खण्डमा दीर्घकालीन रुपमै खाद्यान्न अभाव टर्ने र स्थानीय उत्पादनले समेत बजार पाउने अपेक्षा गरिएको छ । डब्लुएफपीले लगानी चुटाउन वित्तिकै सुपथ मूल्य पसल सञ्चालनमा आउँछन् ।

कहाँ खुल्दैछन् सुपथ मूल्य पसल ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशका ११ स्थान, सुदुरपश्चिमका दुई र बागमति प्रदेशको एक स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ । कार्यालयका अनुसार कर्णाली प्रदेशका दैलेख, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, मुगु र डोल्पाका विभिन्न ११ स्थानमा सुपथ मूल्य पसल राखिने छ ।

यो वर्ष रुकुमपश्चिमको स्याँलाखाडीमा ४४ मेट्रिकटन, जाजरकोटमा जुनीचाँदेको ताँगाचौरमा एकसय ५० मेट्रिकटन र नगलाडमा ८८ मेट्रिकटन खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको छ । त्यस्तै हुम्लाको छप्रेलामा ८८ मेट्रिकटन, देउलीमा ८८ मेट्रिकटन, एलबाङ्मा दुइसय ४८ मेट्रिकटन, खार्पुनाथमा एकसय मेट्रिकटन खाद्यान्न बिक्री गरिनेछ ।

त्यस्तै मुगुको कालैमा एकसय ७७ मेट्रिकटन, रातापानीमा एकसय १५ मेट्रिकटन, डोल्पाको सहत्तरामा एकसय ७७ मेट्रिकटन र दैलेखको ठाँटीकाँधमा ५० मेट्रिकटन टन खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको छ । त्यसैगरी रुकुमपूर्वको तक्सेरामा ४४ मेट्रिकटन र सुदुरपश्चिम प्रदेशमा बझाङ जिल्लाको शैपाल गाउँपालिकाको वडा नं. ३ कान्डामा एकसय ६ मेट्रिकटन र बाजुराको कबडीमा तीनसय ५४ मेट्रिकटन खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको कार्यालय प्रमुख मिश्रले जनाए ।

खाद्यान्न ढुवानी गर्न ताकेता

यता खाद्यान्न संकट पर्नसक्ने स्थानमा तत्काल चामल ढुवानी गर्न कम्पनीले ताकेता बढाएको छ । चालु आर्थिक बर्षमा सुर्खेतबाट चामल ढुवानीको जिम्मा पाएका ढुवानी कम्पनीलाई छिटोभन्दा छिटो तोकिएको स्थानमा चामल पु¥याउन ताकेता गरेको छ ।

चालु आर्थिक वर्ष सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट र दैलेखका २८ वटा स्थानमा चामल ढुवानी गर्नुपर्ने छ । जसमध्ये सुर्खेतको शर्मा ढुवानी सेवाले मुगुको सोरुकोट, पुलु, कालै, कालिकोटको थिप्रु, दैलेखको ठाँटीकाँध र बेस्तडा गरी ६ स्थानमा चामल ढुवानीको ठेक्का लिएको छ ।

सुर्खेतकै सिद्धार्थ ढुवानी सेवाले मुगुको श्रीकोट, दैलेखको बेस्तडा र नौमुलेमा चामल ढुवानीको जिम्मा पाएको छ । बराल ढुवानी सेवाले मुगुको रातापानी, जुम्ला शाखा र डोल्पाको काइगाउमा, सुनदेवी अर्डर एण्ड सप्लार्यसले हुम्ला शाखामा, ऊँ जयदुर्गा जनरल अर्डर एण्ड सप्लार्यसले हुम्लाको सर्केगाड र खार्पुनाथमा, सुनदेवी अडर्स एण्ड सप्लार्यसले हुम्लाको श्रीनगर, याङ्चुमा, ऋणमोक्ष वर्क सप्लायर्स एण्ड कन्स्ट्रक्सनल छाँयानाथ राराले हुम्लाको देउली, हिमाल निर्माण सेवा श्रीकोटले हुम्लाको तुम्च वालुकुना, केदारनाथ ढुवानी सेवाले हुम्लाको छप्रेलामा खड्का निर्माण सेवाले मुगुशाखा, नमूना ढुवानी सेवाले डोल्पा शाखा र जुफालमा, सन्जिवनी निर्माण सेवाले डोल्पाको सहत्तरामा, सूर्य निर्माण सेवाले कालिकोट शाखामा र एलिजा स्टोर एण्ड अडर्स सप्लायर्सले दैलेख शाखामा चावल ढुवानी गर्ने जिम्मा पाएका छन् ।

कर्णालीका एघार स्थानमा सुपथ मूल्य पसल खोल्ने तयारी

सीडिओ साहेव सुर्खेत भाइरल डाँडाँ टिकटक बनाउनेको

कर्णालीका एघार स्थानमा सुपथ मूल्य पसल खोल्ने तयारी

‘माया गरौँला’देखि ‘फोटो फिरिममा’सम्म: गीतमा पनि सिरिजको

Leave a comment

Your email address will not be published. Required fields are marked *