‘माया गरौँला’देखि ‘फोटो फिरिममा’सम्म: गीतमा पनि सिरिजको लहर

नेपाली चलचित्रमा सिरिजको लहर धेरै वर्ष पहिलेदेखि सुरु भएको हो । अहिले पनि चलचित्रमा सिरिज निर्माणको क्रम जारी छ । पछिल्लो समय गीतमा पनि चलचित्रकै शैलीमा सिरिजको लहर चलिरहेको छ ।

केही वर्ष पहिलेसम्म चलेको एल्बमको नाममा २–३ थपेर अर्को एल्बम ल्याइन्थ्यो । राजेशपायल राईले ‘दर्शन नमस्ते’ एल्बममा समावेश गीत चलेपछि ‘दर्शन नमस्ते’लाई ब्राण्ड बनाएर ‘दर्शन नमस्ते ४’सम्म ल्याए। अन्य थुप्रै गायक गायिकाले चलेको एल्बमलाई निरन्तरता दिए ।

अहिले भने कुनै एक गीत चल्यो भने त्यही नाममा अर्को गीत बनाउन गायक–गायिका तथा लगानीकर्ताहरूलालायित देखिएका छन् । यसको पछिल्लो उदाहरण हो, ‘माया गरौँला २–ब्रेकअप गरौँला’ । ६ महिना अगाडि सार्वजनिक भएको ‘माया गरौँला’बोलको गीतलाई स्रोता–दर्शकले रुचाएका थिए । सोही गीतको नामलाई ब्राण्ड बनाएर केही दिन अगाडि ‘माया गरौँला २ – ब्रेकअप गरौँला’ सार्वजनिक भयो ।

एक साता अघिमात्रै ‘कमल फूल हिलैमा २’शीर्षकमा गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।एक वर्षअघि ‘कमल फूल हिलैमा’ शीर्षकमा गीत सार्वजनिक भएको थियो । जुन गीतले सांगीतिक बजारमा चर्चा पाएपछि सोही नाममा ‘कमल फूल हिलैमा २’सार्वजनिक गरिएको हो ।

त्यसअघि ‘पानी पधेँरो २– कुरै बुझ्दैन’ शीर्षकमा गीत सार्वजनिक भएको थियो । सात महिनाअघि ‘पानी पधेँरो’ गीत सार्वजनिक गरिएको थियो । जसलाई स्रोता–दर्शकले रुचाएपछि एक महिना अघिमात्रै त्यही नाममा ‘पानी पधेँरो २– कुरै बुझ्दैन’ गीत सार्वजनिक गरिएको हो ।

कलाकार शिशिर भण्डारी ‘फोटो फिरिममा २’शीर्षकमा नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छन् । यसअघि ‘फोटो फिरिममा’ गीतको मेल र फिमेल दुवै फर्सनलाई स्रोता–दर्शकले निकै रुचाएका थिए । दुई भर्सनलाई स्रोता दर्शकले रुचाएपछि उनी ‘फोटो फिरिममा २’ सार्वजनिक गर्ने तयारीमा पुगे ।

गीतको सिरिज ल्याउनमा गायक टंक बुढाथोकी अगाडि मानिन्छन् । उनले थुप्रै गीतको सिरिज बनाएका छन् । हाल उनी ‘तोरी तेल लाएर कपाल कालो भो–३’ ल्याउने तयारी गरेका छन् । उनले यसअघि ‘तोरी तेल लाएर कपाल कालो भो’ र ‘तोरी तेल लाएर कपाल कालो भो–२’ ल्याइसकेका थिए ।

त्यस्तै उनले ‘कसरी कसरी’, ‘धन बिनाको मन ठूलो की’ बोलको गीत चलेपछि यसको सिरिज ल्याएका थिए । गायिका सुनिता दुलाल ‘बाँसको कप्टेरो–२’गीतको तयारीमा छिन् । डेढ महिना अगाडि सुनिताले ‘बाँसको कप्टेरो’ सार्वजनिक गरेकी थिइन् । गीत औसत चलेको थियो ।

यी पछिल्ला केही उदाहरण भए । त्यसअघि पनि अघिल्लो गीतको नामको पछाडि २–३ थपेर थुप्रै गीतसार्वजनिक भएका छन् । गायक पशुपति शर्माको गीत ‘लुटन सके लुट’ चर्चासँगै विवादमा तानियो । उनले गीत ‘प्राइभेट’ गराए । उनले यसपछि सोही गीतको नाम जोडेर ‘लुटन सके लुट–२ – जता नी चोर’ र ‘लुटन सके लुट ३ – कठै मेरो देश’ सार्वजनिक गरे ।

गायक रमेशराज भट्टराईले ‘बहुला’ शीर्षकमा धेरै सिरिज ल्याइसकेका छन् । प्रकाश सपूतले ‘दोहोरी ब्याटल’को चर्चापछि ‘दोहोरी ब्याटल–२’ ल्याए । त्यस्तै ‘बोल माया’को चर्चापछि त्यसको प्रिक्वेल बनाए, ‘गलबन्दी’ ।

‘माछिले खाने खोलीको लेउ’, ‘को होला त्यो’ ‘कहिले भेट्ने खै’, ‘बीच्च बीच्चमा’ लगायतका गीतको सिरिज बनेका छन् । ‘फुलबुट्टे सारी’ गीतको चर्चापछि यसका अनेक भर्सन निस्किए ।

अनलाइनखबर

‘माया गरौँला’देखि ‘फोटो फिरिममा’सम्म: गीतमा पनि सिरिजको लहर

कर्णालीका एघार स्थानमा सुपथ मूल्य पसल खोल्ने

‘माया गरौँला’देखि ‘फोटो फिरिममा’सम्म: गीतमा पनि सिरिजको लहर

अर्काको घरभित्र मध्यरात पसेको चोर बिहानसम्म पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *