कर्णालीका सबै नागरिकलाई खोप लगाउने सरकारको तयारी

सुर्खेत  । कोरोनाको त्रास फेरि सुरु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितहरु बढ्न थालेपछि नेपालमा पनि कोरोनाको त्रास सुरु भएको हो ।  संक्रमणका कारण भारतबाट नेपालीहरु गाउँ फर्कन थालेपछि कर्णाली प्रदेशमा पनि उच्च सतर्कता अपनाइने भएको छ ।

कोरोनाको त्रास बढेपछि कर्णाली प्रदेश सरकारले कर्णालीका सम्पूर्ण नागरिकलाई खोप लगाउने तयारी गरेको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्ष रहेको प्रदेश विपद् व्यवस्थापन केन्द्र कर्णाली प्रदेशको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेशले केन्द्र सरकारसँग कर्णालीका सबै नागरिकलाई पुग्नेगरी खोप माग गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयमार्फत कर्णालीका नागरिकलाई आवश्यक पर्ने खोप उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवत्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

यदि केन्द्र सरकारले सबै नागरिकलाई पुग्ने खोप उपलब्ध नगराएको खण्डमा भने प्रदेश सरकारले आफैले खरिद गरेर भए पनि सबै नागरिकलाई खोप लगाउने उनको भनाइ छ । यस्तै कोरोनाको त्रास बढेपछि भारतबाट फर्कने नागरिकलाई पनि उच्च निगरानीमा राखिएको छ । संक्रमण भित्रिन नदिन प्रदेश सरकारले अब भारतबाट गाउँ फर्कने हरेक नागरिकको विवरण राख्ने भएको हो । गाउँ फर्कने नागरिकको सम्पर्क नम्बरसहित विवरण राख्ने तयारी गरेको हो ।

त्यस्तै संक्रमण फैलिन नदिने उद्देश्यले प्रदेशका सीमा नाकामा हेल्थडेष्क समेत राखिने जनाएको छ । भोली (सोमबार)देखि सुर्खेतको बबई र कुइने नाकामा हेल्थडेस्क राख्ने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जनाए । हेल्थ डेष्कमा ज्वरो मापन लगायतका स्वास्थ्य परीक्षण र सचेतना दिइने छ ।

यसअघि रहेको कर्मचारीसहित संख्या थप गरेर सोमबारदेखि हेल्थडेस्क सञ्चालन गर्ने वाग्लेले जानकारी दिए । भारतबाट आएका नागरिकलाई सीमानामै स्वास्थ्य चेकजाँग गरिने छ । यदि स्वास्थ्य चेकजाँच गर्दा कोरोनाको लक्षण देखिएका नागरिकलहरुले अनिवार्य रुपमा होम आइसोलेसनमा बस्नुपर्ने छ ।

दैनिक कोरोना परीक्षण

कोरोनाको त्रास बढेपछि परीक्षणलाई निरन्तरता दिइएको छ । केही समय निकै न्यून परीक्षण हुने प्रदेशमा हाल दैनिक कोरोना परीक्षण सुरु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गएको बिहीबार पाँच जना, शुक्रबार १३ जना र शनिबार १२ जनाको कोरोना परीक्षण गरिएको छ ।

तीन दिनमा ३० जनाको परीक्षण गर्दा एकजना मात्रै संक्रमण पुष्टि भएको छ । संक्रमति सुर्खेतकै हुन् । उसो त सुर्खेत बाहेक कर्णालीका अन्य जिल्लामा संक्रमित छैनन् । झण्डै दुई महिनादेखि कर्णालीका नौ जिल्लामा संक्रमण शुन्य छ । सुर्खेतमा भने अहिले पनि ११ जना कोरोना संक्रमित छन् ।

हाल सुर्खेतमा मात्रै कोरोना परीक्षण गरिंदै आएको छ । संक्रमण शुन्य भएपछि जिल्ला अस्पताल दैलेख, कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्ला र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको कोरोना प्रयोगशाला बन्द छन् । कर्णाली प्रदेशमा हालसम्म ९८ हजार २३ जनाको कोरोना परीक्षण गरिएको छ ।

जिल्लामा कोरोना अस्पताल पालिकामा उपचार केन्द्र

कोरोनाको त्रास बढेसँगै फेरि कर्णाली प्रदेशका सबै जिल्लामा कोरोना अस्पताल सञ्चालन गरिने भएको छ । साविककै जिल्ला अस्पतालाई नै आइसीयू र भेन्टिलेटरसहितका कोरोना अस्पतालका रुपमा सञ्चालनमा गरिने छ ।

जिल्ला अस्पतालकै कुनै एउटा भवन वा नजिकको घर भाडामा लिएर कोरोना अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारले जनाएको छ । त्यस्तै ७९ वटै पालिकाका केन्द्रमा नगर तथा गाउँपालिकामा कोरोना उपचार केन्द्र राख्ने राखिने भएको छ । सामान्य कोरोना संक्रमितको उचार गर्ने उद्देश्यले सबै पालिकाहरुमा उपचार केन्द्र राखिने भएको छ ।

तर जटिल प्रकृतिका संक्रमितलाई भने जिल्लामा अस्पतालमै रिफर गरिने छ । अति जटिल र अन्य रोगले समेत ग्रसित संक्रमितहरुलाई भने कोरोना विशेष अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिममा उपचार गरिनेछ ।

कर्णालीका सबै नागरिकलाई खोप लगाउने सरकारको तयारी

यस्पालि पनि मुखाँ कडाईँ गर्नि त होलान्

Leave a comment

Your email address will not be published. Required fields are marked *