युभेन्ट्स छाड्ने चर्चा चलिरहेको बेला रोनाल्डोले भने– मैले लक्ष्य प्राप्त गरें

काठमाडौं । युभेन्ट्स छाड्ने चर्चा चलिरहेका बेला क्रिस्टियानो रोनाल्डोले युभेन्टस् आउँदा आफूले टार्गेट गरेको लक्ष्य हासिल गरेको बताएका छन् । रोनाल्डोले इटालियन सिरी ए को सिजन सकिएपछि मंगलबार सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो योजना अनुसार युभेन्ट्समा सफलता प्राप्त गरेको दाबी गरेका छन् ।
यस सिजन युभेन्ट्सले उपाधि रक्षा गर्न नसके पनि रोनाल्डोले सर्वाधिक गोल गर्दै व्यक्तिगत उपलब्धि हात पारे । यस्तै युभेन्ट्स अर्को सिजन च्याम्पियन्स लिगमा छनोट भने भएको छ ।
युभेन्ट्ससँग रोनाल्डोको सम्झौता सन् २०२२ सम्म छ । तर उनी युभेन्ट्स छाडेर पूर्व क्लब रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेष्टर युनाइटेडमध्ये एकमा जाने चर्चा सुरु भएको छ । रोनाल्डोले स्ट्याटसले पनि यो संकेतलाई थप बल पुगेको कतिपयको विश्लेषण छ ।
रोनाल्डोले २०१८ मा रियलबाट युभेन्ट्स आएपछि २ सिरी ए, कोपा इटालिया र २ इटालियन सुपर कप उपाधि जितेका छन् । ‘शीर्ष खेलाडीको जीवन र खेल जीवनमा उतरचढाव हुन्छ,’ रोनाल्डोले लेखेका छन्, ‘वर्षौंदेखि हामीले उत्कृष्ट टोलीको सामना गरेका छौं, असाधारण खेलाडीसँग खेलेका छौं र महत्वकांक्षी गोल गरेका छौं । त्यसैले हामीले जहिले पनि माथिल्लो स्तरमा रहन उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।’
रोनाल्डोले यो वर्ष सिरी ए जित्न नसके पनि इटालियन सुपर कप, इटालियन कप र सिरी ए सर्वाधिक गोलकर्ताको अवार्ड जितेमा खुशी व्यक्त गरे ।






