सुर्खेतमा म्याद नाघेका सामग्री नष्ट

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले म्याद नाघेका १५ हजारभन्दा बढी मूल्य बराबरका खाद्य सामग्री नष्ट गरेको छ । बजार अनुगमनको क्रममा सुर्खेतको बराहताल गाउँपालिका स्थित बड्डीचौर बजार क्षेत्रका पसलबाट सामग्री बरामद गरी नष्ट गरिएको हो ।
म्याद नाघेका खाने तेल, दालमोठ, चिउरा, इम्ली, भुजा, चाउचाउ, प्याकेटको माछाजस्ता वस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए ।
कोरोनाको दोस्रो लहर देखिएसँगै सुर्खेतमा वैशाख १४ गते रातिबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएसँगै निषेधाज्ञाको समयमा हुने अवैध कारोवार रोक्नका लागि प्रशासनले संयुक्त रूपमा बजार अनुगमन गरिरहेको छ ।
अनुगमनका क्रममा मूल्यमा एकरूपता ल्याउने, मूल्यसूची राख्ने, बिल लिने दिने व्यवस्था गर्ने, म्याद नाघेका सामग्री भएमा छुट्टै राखी नष्ट गर्ने, निजी स्वास्थ्य संस्थाले वर्तमान कोभिड-१९ को बढ्दो संक्रमणको अवस्थामा सर्वसाधारण नागरिकलाई दिने सेवा र मनोपरामर्शलाई अझ प्रभावकारी बनाउने जस्ता सुझाव दिने गरिएको छ । प्रशासनले यस अघि वीरेन्द्रनगर बजार क्षेत्र तथा जिल्लाका अन्य विभिन्न क्षेत्रमा समेत अनुगमन गरिसकेको छ ।






