सुर्खेत विमानस्थल विस्तारको बिकल्प खाेज्न वीरेन्द्रनगरकाे आग्रह

सुर्खेत, १२ माघ ।
वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तारको प्रक्रिया अहिले विवादमा छ । प्रभावित क्षेत्रका बासिन्दाले आफूहरुको पुनस्र्थापनाको उचित विकल्प नभएसम्म विस्तार गर्न नदिने अडान लिएका छन् । यही कारण सरकारले विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

यहीक्रममा वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थल विस्तार गर्नेभन्दा नयाँ विमानस्थलको विकल्प खोज्नुपर्ने निर्णय गरेको छ । यही माघ २ र ३ गते बसेको कार्यापालिकाको बैठकले विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने निर्णय गरेको हो । बैठकले कर्णाली प्रदेश सरकारलाई विमानस्थल विस्तार गर्नेभन्दा पनि नयाँ विमानस्थलको विकल्प खोज्न सिफारिस गर्ने निर्णय गरेको मेयर देवकुमार सुवेदीले जानकारी दिए ।

नगरपालिकाको यो निर्णयसँग कर्णाली प्रदेश सरकारलाई सुर्खेत विमानस्थल विस्तारमा चुनौति थपिएको छ । विमानस्थल विस्तारको विकल्प खोज्न नगरपालिकाले पत्राचार गरिसकेको छ । नगरपालिकाले विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने कार्यपालिकाको निर्णयसहित कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नागरिक उडड्यन कार्यालय काठमाडौँलाई पत्राचार गरिसकेको छ ।

यसअघि वीरेन्द्रनगर नगरपालिका विमानस्थल विस्तार गर्दा प्रदेश सरकारले बेहोर्ने खर्चमध्ये पाँचप्रतिशत खर्च बेहोर्ने सहमत भएको थियो । तर नगरपालिकाले नै विमानस्थल विस्तारको विपक्षमा उभिएको हो । यसअघिको सहमतिअनुसार विमानस्थल विस्तार गर्दा लाग्ने खर्चको ५० प्रतिशत मध्ये वीरेन्द्रनगरले पाँच प्रतिशत खर्च बेहोर्न सहमति गरेको थियो । नगरपालिकाको बैठकले विमानस्थल विस्तारको विकल्प खोज्ने निर्णय गरेपछि खर्च बेहोर्ने जिम्मेवारीबाट पन्छिने सम्भावना बढेको छ ।

तर नगरपालिकाले भने प्रभावित क्षेत्रका नागरिकको दवावपछि नगरपालिका विमानस्थल विस्तार गर्ने सहमतिबाट पछि हटेको जनाएको छ । प्रभावित क्षेत्रका स्थानीयले भने सुरुवात देखि नै सुर्खेत विमानस्थ विस्तार हुन नदिने चेतावनी दिँदै आएका छन् । सरकारले आवश्यकता बिनै विमानस्थल विस्तार गरेर आफूहरुलाई सुकुम्वासी बनाउन खोजेको भन्दै स्थानीय यो विमानस्थल विस्तार हुन नदिने पक्षमा छन् । विमानस्थल विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ का झण्डै एकहजार घरधुरी प्रभावित हुने अनुमान गरिएको छ । तर जग्गा अधिग्रहणका लागि संघीय सरकारले अनुमति दिइसकेको छ ।

विमानस्थल विस्तार गर्दा उत्तरतर्फ ६ सय मिटर, दक्षिणतर्फ चार सय मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ दुई सय मिटर क्षेत्रफल गरेर कुल ३० विघाह क्षेत्रफल अधिग्रहण गर्नुपर्ने छ । हाल एक हजार दुई ५५ मिटर धावनमार्ग भएको विमानस्थल विस्तार गरेर धावनमार्ग एकहजार पाँचसय ५५ मिटर बनाउन लागिएको हो । धानवनमार्ग विस्तार भएपछि साना तथा ठूला जहाज पनि उडान तथा अवतरण गर्न सकिने छ ।

धावन मार्ग सानो हुँदा ७२ सिटे जहाज आउन नसकेको र निजी क्षेत्रको एउटा ४२ सिटे जहाजले महँगो भाडा लिने गरेको छ । २०२३ सालमा स्थापना भएको सुर्खेत विमानस्थलको लम्बाई एकहजार मिटर रहेको थियो । विमानस्थल विस्तार भएको ६ वर्ष अघि दुईसय ५० मिटर विस्तार गरी एक हजार दुईसय ५५ मिटर पु¥याइएको छ । धावनमार्ग विस्तार भएपछि मध्यम जहाजहरु आउने र भाडा पनि सस्तो हुने अपेक्षा छ । धावनमार्ग विस्तारका लागि गत असोजमा संघीय सरकार र कर्णाली प्रदेश सरकारवीच गत असोज १५ गते सम्झौता भएको थियो ।

‘जनताको माग सम्वोधन गरेका हौं’
वीरेन्द्रनगर नगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयको मागअनुसार नै सुर्खेत विमानस्थल विस्तार गर्नुको साटो नयाँ विमानस्थलको विकल्प खोज्नुपर्ने निर्णय गरिएको जनाएको छ । ‘सुर्खेत विमानस्थल विस्तारको विकल्प खोज्नुपर्छ भन्ने स्थानीयको माग छ, नगरपालिकाले त्यही मागलाई सम्बोधन गरेको हो’ मेयर देवकुमार सुवेदी भन्छन्, ‘तर प्रदेश सरकारको योजनालाई असहयोग गरेका होइनौं ।’

वडावासीले विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने माग राखेपछि नगरले त्यही मागअनुसार प्रदेश सरकारलाई विमानस्थल विस्तारको विकल्प खोज्न आग्रह गर्ने निर्णय गरेको उनको तर्क छ । ‘विकासका हरेक सवालमा जनता नै सर्वाेपरी हुन’ सुवेदी भन्छन्, ‘ नगरपालिकाले पनि जनताकै मागअनुसार विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने गरेको हो ।’

मुख्यमन्त्रीको निर्णय कुर्दै प्राधिकरण
सुर्खेत नागरिक उड्डयन कार्यालय भने विमानस्थल विस्तारको विषयमा पर्ख र हेरको अवस्थामा छ । ‘सुरुमै स्थानीयले अवरोध गरेपछि विमाजस्थल विस्तारको सबै काम रोकिएको छ’ नागरिक उड्यन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले भने, ‘अवरोध हटाउन मुख्यमन्त्रीज्यूले समन्वय गर्छु भन्नु भएको छ, हामी उहाँकै निर्णय पर्खेर बसेका छौं ।’

तर मुख्यमन्त्रीले समन्वय गर्न सकेका छैनन् । उसो त कर्णाली प्रदेश सरकारले विमानस्थल विस्तार गर्दा आउन सक्ने अवरोध हटाउन मुख्यमन्त्रीको अध्यक्षतामा सर्वदलिय र सर्वपक्षीय समिति गठन गरेको छ । समितिमा सुर्खेतका सम्पूर्ण राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र सरोकारवाला सबैलाई समेट्ने प्रयास गरिएको छ । लगत्त संकलनका लागि फिल्डमा खटिएको टोलीलाई स्थानीयले अवरोध गरेपछि लगत्त संकलनसमेत हुन सकेको छैन ।

त्यस्तै नगरपालिकाले विमानस्थल विस्तारको विकल्प खोज्न गरेको निर्णयका विषयमा भने प्राधिकरण जानकार छैन । ‘ नगरपालिकाले विमानस्थल विस्तारको विकल्प खोज्न गरेको निर्णयका विषयमा प्राधिकरणलाई जानकारी छैन’ पन्थीले भने, ‘हामी त सरकारले जे भन्छ, त्यही गर्ने हो ।’

विकल्पबारे प्रदेश सरकारले छलफल गर्ने
वीरेन्द्रनगर नगरपालिकाले विमानस्थल विस्तारको विकल्प खोज्ने निर्णय गरेपछि कर्णाली प्रदेश सरकारले सरोकारवाला निकायसँग छलफल चलाउने भएको छ । ‘सुर्खेतमा सुविधासम्पन्न विमानस्थल आवश्यक छ, त्यही आवश्यकता पुरा गर्न सुर्खेत विमानस्थल विस्तारको योजना आएको हो’ प्रदेश सरकारका प्रवत्तासमेत रहेकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘विमानस्थलका बारेमा सरोकारवाला पक्षसँग छलफल चलाउँछौं ।’

हालको विमानस्थल विस्तार गर्ने वा नयाँ विकल्प खोज्ने भन्ने विषयमा वृहत छलफल चलाउने प्रदेश सरकारको भनाइ छ । ‘पहिलो चरणमा नगरपालिकासँग छलफल हुन्छ, विकल्प खोज्नुपर्ने भएमा वृहत छलफल गर्छाैँ ।’ हालको विमानस्थल विस्तार गर्न उपयुक्त नभएको खण्डमा भने विकल्पको खोजी गर्ने प्रदेश सरकारको तयारी छ ।

सुर्खेत विमानस्थल विस्तारको बिकल्प खाेज्न वीरेन्द्रनगरकाे आग्रह

मालपोतले पायो भवन, छिट्टै सेवा विस्तार गर्ने

सुर्खेत विमानस्थल विस्तारको बिकल्प खाेज्न वीरेन्द्रनगरकाे आग्रह

बनगाडमा केपि ओली गुट कमिटी विस्तारमा जुट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *