चैत तेस्रो सातादेखि ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा ललितपुर मेयर महिला क्रिकेट प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म हुनेछ ।
प्रतियोगिताका लागि क्यान र ललितपुर महानगरपालिकाबीच यसअघि सम्झौता भइसकेको छ । सम्झौताअनुसार ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको महिला क्रिकेटलाई अगाडि बढाउने उद्देश्यका साथ क्यानलाई सहयोग गरेको बताए ।

क्रिकेट प्रतियोगिता सञ्चालन गर्न आगामी दिनमा पनि क्यानलाई सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले महिला क्रिकेट प्रतियोगिताका लागि ललितपुर महानगरपालिकासँग गरिएको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताए । टी–२० महिला क्रिकेट प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
गत पुसमा सम्पन्न प्रधानमन्त्री कप महिला प्रतियोगिताको सेमिफाइनल खेलेका प्रदेश १, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको टोली तथा ललितपुर महानगरपालिकाको टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार, उत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याट्सवुमन र उत्कृष्ट बलरले जनही १५ हजार तथा ‘प्लेयर अफ दि म्याच’ले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसअघि गत महिना काठमाडौं मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता भएको थियो । सो प्रतियोगिताको उपाधि पुलिस क्लबले एपिएफ क्लबलाई हराउँदै उपाधि चुमेको थियो ।






