माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने भएपछि माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ ।
आज माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए । बैठक बानेश्वरको अर्याल होटलमा बस्ने भएपनि कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेकाे छैन् ।
एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटीको शनिबारको बैठकले गुटगत भेला गरेर पार्टी विरोधी गतिबिधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
स्पष्टीकरण मागिएको पत्र भने अहिलेसम्म पठाइएको छैन । यसबीचमा नेपाल पक्षले जनवर्गीय संगठनहरुका भेला बेलाई अलग नेतृत्व चयन प्रक्रिया जारी राखेको छ भने अब जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटीहरु बनाउने क्रम बढेको छ ।
नेपाल पक्षमा एमालेभित्रै बसेर संघर्ष गर्ने कि तल्ला तहसम्म कमिटीहरु पुनर्गठन गरेर माओवादीसँग पुनः एकतामा जाने भन्ने दुवै कोणबाट बहस चलेका छन् । तर नेताहरु केही समय एमालेमै समानान्तर कमिटीहरूको अभ्यास गरेर अन्तर संघर्षलाई उत्कर्षमा पुर्याउने पक्षमा देखिन्छन् । पार्टीलाई सर्वोच्च अदालतको फैसलाले २०७५ जेठ २ गतेको अवस्थामा फर्काइ दिएकाले सबै संरचनाहरु सोही ठाउँमा पुगेको तर्क नेपाल पक्षको छ ।






