सुदूरपश्चिम लोकसेवा आयोगमा कर्मचारी अभाव

धनगढी । सुदूरपश्चिम लोकसेवा आयोग कार्यालयमा कर्मचारी अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले करिब २० महिनाअघि प्रदेश लोक सेवासम्बन्धी ऐन निर्माण गरेको थियो । सोही ऐनअनुसार गत चैत ९ मा प्रदेश लोक सेवा आयोग गठन गरेको थियो ।
आयोगका पदाधिकारीले चैत १८ मा पदभार ग्रहण गरेका थिए । आयोग गठन भएको एक महिना बित्दा पनि कार्यालय स्थापनाबाहेक अन्य काम भएको छैन । आयोगमा नौजना कर्मचारी रहेको आयोगका सचिव दुर्गा विष्टले बताए । आयोगका लागि ४५ जना कर्मचारी आवश्यक हुने उनले बताए ।

‘कार्यालय नौजनाले धानिरहेको छ‚’ उनले भने, ‘अन्य थप कर्मचारीका लागि मुख्यमन्त्री कार्यालयमा माग गरेका छौं ।’ आयोगले आउँदो आर्थिक वर्षसँगै प्रदेशमा कर्मचारी भर्नाका लागि सूचना सार्वजनिक गर्ने सचिव विष्टले बताए । तर‚ आयोग कार्यालयमै कर्मचारी अभाव रहेका बेला आयोगले तत्काल कर्मचारी भर्ना गर्नेमा भने अन्योल छ ।
आयोगका अध्यक्ष यज्ञराज बोहराले भन्छन्, ‘हामी अध्ययनमा छौं। नयाँ आर्थिक वर्षबाट कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशन गरिने छ ।’ सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू, मातहतका कार्यालय, स्थानीय तह तथा संस्थानहरूमा करिब ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त छ ।






