सामाजिक अगुवाइ गर्न कार्यकर्तालाइ नेकपा एकीकृत समाजवादीकाे निर्देशन

दैलेख, २ असाेज ।
नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्य टेकबहादुर खाँणले समाजमा उपेक्षित तथा उत्पीडितहरुको न्यायको निम्ति अगुवाई गर्न कार्यकर्ताहरुलाई निर्देशन गर्नुभएको छ । पार्टीले औपचारिकता पाएपछि शनिबार दैलेख सदरमुकाममा जिल्ला कमिटीको प्रथम बैठकलाई सम्वोधन गर्दै महिलालाई परेका मर्का विषयमा महिलाले, दलितहरु माथि भएका थिचोमिचो बिरुद्ध उत्पीडित समुदायका अगुवाहरुले बोल्न सके शोषण दमन छिट्टै न्यूनीकरण हुने उहाँले बताउनुभयो ।

त्यसबखत नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य एवं कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले नेपालको कम्यूनिष्ट मूलप्रवाह बनिसकेको नेकपाको एकता तोड्ने र एमालेको संगठनलाई तहसनहस गर्ने काम एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो ‘न नेकपाको शक्ति थाम्न सक्नुभयो न त एमालेलाई एकढिक्का राख्नु सक्नुभयो, व्यक्ति पूजा गर्ने सँस्कार बसालेका एमाले अध्यक्ष ओलीको साथ छोड्दै बेस हुने भएकोले नयाँ पार्टी दर्ता भयो ।’

नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष बरुनाथ योगीको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश कमिटीका सदस्यहरु मायाराम अधिकरी, सावित्री मल्ल, पार्टीका जिल्ला उपाध्यक्ष जंगबहादुर शाहीले पार्टीको भावी रणनीति र संगठन प्रणालीको विषयमा सहजीकरण गर्नुभएको थियो । जिल्ला कमिटी बैठकले अन्तरपार्टी निर्देशनको पूर्ण पालन गर्ने, संगठनिक विकासका लागि अभियान सञ्चालन गर्ने, पालिकाका संगठन पद्धतिलाई व्यवस्थित गर्न सांगठनिक जिम्मेवारी बाँडफाँड गर्ने, पार्टी सदस्य वितरण तथा नबीकरण सवालमा निर्णय गरेको पार्टीका जिल्ला सचिव मानबहादुर खड्काले जानकारी दिनुभयो ।






