जिल्लाहरुमा प्लान्ट जडान नहुँदा प्रदेश अस्पतालले पनि थेग्न सकेन

सुर्खेत  । मुगुमा अक्सिजन प्लान्टका लागि मेसिन पुगिको हप्तादिन भयो । तर जडान भएको छैन । प्लान्ट जडान तथा खरिदका लागि स्वास्थ्य सेवा कार्यालयले ३७ लाख ८० हजार बायो इन्जिनियर कम्पनीलाई भुक्तानी गरिसकेको छ । अघिल्लो बर्ष पुगेका आइैसीयू र भेन्टिलेटर पनि प्रयोगविहिन छन् ।

‘सक्रिय संक्रमित थपिदै गएका छन्’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका कोरोना फोकलपर्शन ज्ञानसिंह बुढाले भने, ‘तर अक्सिजन र जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन सकेका छैनौँ ।’ मुगुमा अक्सिजन प्लान्ट सञ्चालन तथा पाइपलाइन जडानको लागि केही दिनमै टेन्डर प्रक्रिया थाल्ने जनाइएको छ ।

डोल्पामा पनि अक्सिजन मेसिन पुगेको १५ दिन पुग्यो । त्यहाँ पनि मेसिन जडान नहुँदा अक्सिनज उत्पादन हुन सकेको छैन । ‘प्रदेश सरकारले प्राविधिक पठाउँछु भनेको हप्तादिन भयो, तर हालसम्म आएका छैनन्’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय डोल्पामा कोरोना फोकलपर्शन टेकबहादुर गुरुङले भने, ‘सरकारले जहिले प्राविधिक पठाउँछ, त्यहीले नै जडान होला ।’

यसपाली डोल्पामा पनि संक्रमण तीव्र गतिमा फैलिएको कारण छिटो अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन आवश्यक छ । ‘गतबर्ष अलिअलि मात्रै संक्रमण थियो, यो बर्ष त गाउँगाउँमै पुगिसक्यो’ उनले भने, ‘तत्काल अक्सिजन प्लान्ट सञ्चालनमा नआए जटिल विरामीलाई बाहिर रिफर गर्नुपर्छ ।’ त्यहाँ पनि अक्सिजन र जनशक्ति अभावका कारण भेन्टिलेटर र आईसीयू प्रयोगविहीन छन् ।

कालिकोटमा पनि अक्सिजन पर्याप्त छैन । प्लान्ट भए पनि सञ्चालनमा छैन । अस्पतालको भवन निर्माणाधिन अवस्थामा भएका कारण अस्पतालमा प्लान्ट जडान हुन सकेको छैन । केही दिनअघि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले रिफिलिङ सिस्टमा अक्सिजन प्लान्ट सञ्चालनका लागि बोलपत्र आह्वान गरेपनि सिलबन्दी परेन । ‘

सिलबन्दी नपरेपछि अब पाइपलाइनमै जडान गर्ने निर्णयमा पुगेका छौँ’ कालिकोटका कोरोना फोकलपर्शन कटकबहादुर बमले भने, ‘अब कोरोना विशेष अस्पतालमै मिनी प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।’ कालिकोटमा जिल्ला अस्पताल बाहेक कोरोना संक्रमितको उपचारका लागि छुट्टै ५५ बेडको कोरोना विशेष अस्पताल समेत छ । हाललाई त्यही अस्पतालमा प्लान्ट सञ्चालन गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ ।

हुम्लामा पनि समस्या छ । यसअघिको ६० यूनिटको अक्सिजना प्लान्ट बिग्रिएको छ । प्लान्ट विग्रीएपछि हाल ४० यूनिटको अर्काे प्लान्ट खरिद गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लामा प्रमुख प्रेमबहादुर सिंहले बताए । यद्यपी त्यहाँ तत्काल अक्सिजनको अभाव भने छैन । ‘प्लान्ट बिग्रिएपछि सिलिण्डरबाट काम चलाइरहेका छौँ’ उनले भने, ‘तत्काल अक्सिजन अभाव भएको छैन ।’

जिल्लामा जटिल प्रकृतिका संक्रमित नभएका अक्सिजनको समस्या नभएको उनको तर्क छ । मुग, डोल्पा, कालिकोट र हुम्ला मात्रै होइन, जुम्लाबाहेक कर्णालीका अन्य जिल्लामा अक्सिजन उत्पादन सुरु भएको छैन । कुनै जिल्लामा मेसिन नै पुगेका छैनन् भने कुनैमा मेसिन पुगेपछि जडान हुन सकेका छैनन् । प्लान्ट सञ्चालन नहुँदा कर्णालीका सबै जिल्लामा अक्सिनको हाहाकार हुन थालेको छ ।

अक्सिजन अभाव कारण जिल्ला अस्पतालले जटिल संक्रमितलाई सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गर्ने गरेका छन् । तर प्रदेश अस्पतालमा रहेको प्लान्टले पनि विरामीको चापलाई पुग्ने अक्सिनज उत्पादन गर्न सकेको छैन ।
हाल अस्पताललाई दैनिक तीनसय सिलिण्डर अक्सिन आवश्यक पर्छ । तर अस्पतालमा एकसय सिलिण्डर मात्र अक्सिजन उत्पादन हुन्छ । अक्सिजनको उत्पादन क्षमता कम हुनु र अधिकांशलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएपछि अस्पतालले थप संक्रमितलाई उपचार लिन नसक्ने अवस्थामा पुगेको हो ।

‘अस्पताल भर्ना भएका संक्रमितलाई अक्सिजन पु¥याउन गाह्रो भइसक्यो’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘अक्सिजन अभावकै कारण थप संक्रमितलाई भर्ना लिन नसक्ने अवस्था आएको छ ।’ जटिल प्रकृतिका कोरोना संक्रमितका लागि अक्सिजन अत्यावश्यक मानिन्छ । संक्रमित बढ्दै जाँदा कर्णालीमा अक्सिजनको हाहाकार हुन थालेको छ ।

दैलेख र जाजरकोटमा पुगेन मेसिन

अन्य जिल्लाका अक्सिजन जडानको प्रक्रिया सुरु भइरहँदा दैलेख र जाजरकोटमा भने अक्सिजन उत्पादन गर्ने मेसिनसमेत पुग्न सकेका छैनन् । जाजरकोटमा अक्सिजन उत्पादनका लागि टेन्डर भइसकेको छ ।

त्यहाँ नेपटेक मेडिकल सप्लायर्स काठमान्डौ–२ले कारण प्लान्ट जडानको ठेक्का लिएको छ । तर कम्पनीले कोरोना संक्रमण कारण प्लान्ट जडानमा ढिलाइ गरेको छ । जेठ १५ भित्र प्लान्ट जडान गर्न नसकिने ठेकेदार कम्पनीले कार्यालयलाई जानकारी दिएको कोरोना फोकलपर्शन कृष्ण खत्रीले जनाए । दैलेखमा भने प्लान्ट सञ्चालनका भर्खर बोलपत्र आह्वान गरिएको छ ।

त्यहाँ अन्तिम सम्झौतासमेत हुन सकेको छैन । ‘मेसिन खरिद तथा प्लान्ट जडानका लागि टेन्टर गरेको छौं, तर सम्झौता भएको छैन’ दैलेखका कोरोना फोकलपर्शन थिरप्रसाद रेग्मीले भने, ‘जेठभित्र प्लान्ट सञ्चालन हुनसक्छ ।’ ठेकेदार कम्पनीले अक्सिजन उत्पादन गर्ने मेसिन बजारमा अभाव भएका कारण प्लान्ट सञ्चालनमा आउन केही समय लाग्ने जनाएको छ ।

विद्युत नहुँदा प्लान्ट सञ्चालनमा समस्या

प्रदेशका अन्य जिल्लाहरुमा पनि अक्सिजन उत्पादन गर्ने तयारी छ । तर अक्सिजन प्लान्ट सञ्चालनका लागि आवश्यक पर्ने विद्युत छैन । ‘प्लान्ट जोडेर मात्रै के गर्नु ? सञ्चालन गर्नेका लागि विद्युत हुँदैन’ डोल्पाका कोरोना फोलकपर्शन टेकबहादुर गुरुङले भने, ‘अस्पतालमा २५ केभीएको जेनेरेटर नभएसम्म अक्सिजन उत्पादन गर्न सकिदैन ।’

सदरमुकाममा बारम्बार लोडसेडिङ भइरहन्छ । लो–भोल्टेजका कारण प्लान्ट सञ्चालनमा समस्या हुने जनस्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ । हुम्लामा पनि विद्युतको समस्या छ । विद्युत अभाव टार्न १२ केभीएको सोलार जडान गरिएको छ । तर बादल लागेको र पानी परेको समय सोलार चार्ज नहुँदा विद्युत आपूर्तिमा समस्या हुन्छ ।

डोल्पा र हुम्लामा मात्रै होइन, कर्णालीका सबै जिल्लामा प्लान्ट सञ्चालनका लागि विद्युतको अभाव छ । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुपश्चिममा राष्ट्रिय प्रशारण लाइन जोडिएको छ । तर हावाहुरी चल्दा ति जिल्लाको विद्युत सधै अवरुद्ध हुँदै आएको छ । यही कारण २४ घण्टा प्लान्ट सञ्चालन गर्नुपर्ने अवस्थामा विद्युत अभाव हुने सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुले जनाएका छन् ।

जिल्लाहरुमा प्लान्ट जडान नहुँदा  प्रदेश अस्पतालले पनि थेग्न सकेन

मोदी हेलचेक्र्याइँको मूल्य चुकाउँदै

जिल्लाहरुमा प्लान्ट जडान नहुँदा  प्रदेश अस्पतालले पनि थेग्न सकेन

समाजसेवी बस्नेत गरे १३ वटा सिलिन्डर सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *