मोदी हेलचेक्र्याइँको मूल्य चुकाउँदै

दैनिक झण्डै चार लाख कोरोनाभाइरस (कोभिड-१९) का संक्रमित भेटिइरहेका र चार हजारभन्दा बढीले मृत्युवरण गरिरहेका बेला भारतको सार्वजनिक स्वास्थ्य प्रणाली र मोदी सरकारको भूमिका झल्काउने रचनात्मक आवरण बनाएको छ आउटलुक म्यागाजिनले ।
यो साप्ताहिक पत्रिकाले हालैको अंकमा ‘सरकार बेपत्ता’ शीर्षकको आवरण कथामा ‘सात वर्षको मोदी सरकार हराएको’ भनेर ‘भारतीय जनताका नाममा सार्वजनिक सूचना’ निकालेको छ ।
भारत अहिले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ । उसको सार्वजनिक स्वास्थ्य प्रणाली अस्तव्यस्त बनेको छ । अक्सिजन, बेड र आईसीयू बेडको अभाव हुनु भारतको लागि सामान्य समाचार भइसक्यो ।
यो संकट समाधानको लागि अमेरिका, बेलायत, क्यानडालगायत विश्वका धेरै मुलुकले भारतलाई स्वास्थ्य सामग्री पठाएका छन् । विश्वको सबैभन्दा ठूलो खोप उत्पादक मुलुकको रूपमा चिनिएको भारत अहिले रूसबाट कोरोना खोप ल्याउने प्रयत्नमा छ ।





